site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
संविधानलाई  घर न घाटको किन बनाइयो ?

मुलुकभर तीन दिनसम्म आठौं संविधान दिवस मनाइरहिएको छ । संविधान देशको मूल कानुन हो । यसले जनता र देशको सुन्दर, उज्वल र उन्नत भविष्यको मार्ग निर्देश गर्छ । साथै नागरिकका व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार, सम्पत्तिलगायतका अधिकारका विषयमा आफुखुसी प्रयोग र राजनीतिक वा सार्वजनिक पदमा समान हैसियतले सहभागी हुने तथा कानुनको दृष्टिमा सबै समान हुने व्यवस्था गर्छ ।

संयुक्त राज्य अमेरिकामा अशान्ति थियो । अराजकता थियो । संविधान कसरी र कस्तो बनाउने अन्योल थियो । सन् १७८७ मा संविधान सभाका प्रतिनिधिहरुले मस्यौदा गरेका थिए । देश र जनताका भावना र  चाहनाअनुरुप संविधान बनाउन गाह्रै हुन्छ । त्यसमाथि लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी तथा संघीय शासन प्रणालीसम्बन्धी संविधानमा सबैको भावना र विचारलाई समेटी बनाउन गाह्रो हुने नै भयो । अमेरिकामा पनि त्यतिबेला संविधान बनाउँदा यस्तै समस्या परेको थियो ।

अमेरिकी संविधान लेखनमा धेरैको सहयोग र सद्भाव रहेको देखिन्छ । त्यसमा पनि जेम्स म्याडिसन, जर्ज वासिङगटन, जोहन एडम्स, अलेक्जेन्डर ह्यामिल्टन, जर्ज म्यासन, बेन्जामिन फ्रयाङ्कलिन, गभर्नर मोरिस, जोहन जेलाई अमेरिकी संविधानका लेखक मानिन्छ ।

तिनमा पनि जेम्स म्याडिसन, अलेक्जेन्डर ह्यामिल्टन, जोहन एडम्स, गर्भनर मोरिस विशेष लेखक मानिन्छन् । जोहन एडम्सलाई त अमेरिकी संविधानका पिता भनिन्छ । फिलाडेल्फियामा हस्ताक्षरित अमेरिकी संविधानको घोषणा पेन्सल्भेनियाको स्टेट हलमा (जसलाई स्वतन्त्रताको हल पनि भनिन्छ) १७८९ मा घोषणा भएको थियो । यसका साथै अमेरिकी संविधानलाई पूर्णता दिन जेम्स म्यााडिसनले ‘बिल आफ राइट्स’ लेखोट पेस गरेका थिए । गभर्नर मोरिसले अमेरिकी संविधानको प्रस्तावना लेखेका थिए ।

सन् १७८९ मा निर्मित अमेरिकी संविधान कार्यान्वयन भएको आज दुई सय चौंतीस वर्ष पुगेको छ । यसमा धेरै संशोधन पनि भएका छन् । उक्त संविधानको सबैभन्दा उत्तम व्यवस्था जनताका हक अधिकार र सम्पत्तिमा सरकारले पनि बन्देज लगाउन नपाउनु हो । यस्तै, अर्को महत्त्वपूर्ण व्यवस्था संघीयताको सफल कार्यान्वयनसम्बन्धी छ । 

संघीय सरकार र संंघीय संंसद्, राज्य सरकार र राज्य संसद् तथा स्थानीय सरकार निर्बाधरूपले चलिरहेका छन् । नेपालमा जस्तो प्रदेश र स्थानीय सरकारले केन्द्रले संविधानअनुसारको अधिकार पनि दिएन भन्ने प्रश्न त्यहाँ उठ्दैन । पूर्ण किसिमको अधिकारको विकेन्द्रीकरण वा निक्षेपण अमेरिकामा छ भन्दा अत्युक्ति नहोला । अर्को अमेरिकालाई दुई सय चौंतीस वर्षसम्म जोगाइराख्ने मूल कडी नै अमेरिकी संविधान हो भन्ने गरिन्छ ।

भारत स्वतन्त्र भएपछि पहिलोपटक सन् १९४८ मा संविधान सभाबाटै संविधान बनेको हो । संविधान सभाका अध्यक्षमा डा. बीआर अम्वेड्कर थिए ।  उनकै अध्यक्षतामा स्वतन्त्र भारतको संविधान लेखिएको थियो । उनलाई भारतीय संविधानका पिता पनि भनिन्छ ।

 भारत जस्तो बहुभाषा, संस्कृति, धर्म, विचार, दृष्टिकोण भएको देशमा संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक र समावेशी संविधान लेख्नु पक्कै सजिलो काम थिएन । संविधान सभाबाट निर्मित भारतको आधुनिक संविधान २६ नोभेम्बर सन् १९४९ मा घोषणा गरिएको थियो । संघीय शासन प्रणाली अमेरिकी संविधानमा भन्दा फरक भए पनि अझैसम्म उक्त संविधान कार्यान्वयन भइरहेको छ ।

अमेरिका र भारतको भन्दा नेपालको संविधान निर्माणको इतिहास धेरै फरक छ । हुनत, नेपालको संविधान पनि संविधान सभाबाटै बनेको हो तर संविधान निर्माणका क्रममा संविधान सभा र यसको नेतृत्व दूरदर्शी नहुँदा प्रभावशाली नभएको टिप्पणी पनि गर्ने गरिएको पाइन्छ ।

दुई वर्षमा बनाउने प्रतिबद्धताकासाथ २०६५ सालमा निर्वाचित संविधान सभाले तोकिएको पहिलो कार्यकालमा संविधान बनाउन सकेन र अर्को दुई वर्ष थप गरियो । यस अवधिमा पनि संविधान बन्न सकेन । संविधान सभा नै भंग गरियो । । विसं २०७० मा संविधान सभाको दोस्रो निर्वाचन भयो र दुई वर्षपछि अर्थात् २०७२ सालमा संविधान बनाई २०७२ असोज ३ गते घोषण गरियो । 

आठ वर्ष लगाएर र अर्बौैं खर्च गरी निर्मित संविधान दलीय र व्यक्तिगत स्वार्थका कारण इमानदारीपूर्वक कार्यान्वयन हुनसकेको छैन । संविधान कार्यान्वयन नहुनुमा प्रमुख राजनीतिक दलका शीर्ष नेता नै मुख्यरूपमा जिम्मेवार देखिन्छन् । अर्को यो संविधान निर्माणकर्ताहरूले संविधान हेर्दा पनि नहेरी दस्तखत गर्न बाध्य भए भन्ने चर्चामा आएको थियो । 

दक्षिण अफ्रिकामा पनि संविधान सभाले संविधान निर्माण गरेको हो । स्वतन्त्र दक्षिण अफ्रिकाका प्रथम जननिर्वाचित राष्ट्रपति नेन्सन मन्डेलाले तत्कालीन क्रूर शासक डे क्लार्कलाई संविधान निर्माण र शान्ति प्रक्रियामा सहभागी गराउँदा नेपालमा राजापक्षलाई किन सहभागी गराइएन भन्ने तर्क राजावादीको छ । 

नेपालको संविधान, २०७२ मा नभएको प्रावधान केही छैन । प्रस्तावनामा लेखिएको छ - ‘संघीय, लोकतान्त्रिक, गणतान्त्रिक, समावेशी र समाजादउन्मुख संविधान ।’ तर, आठ वर्षसम्म संविधानको मर्म र भावनाबमोजिम इमानदारीपूर्वक कार्यान्वयन गर्न राजनीतिक दलका नेता तयार नहुँदा संविधान घर न घाटको हुन गएको हो । 

संविधान निर्माण भएपछि बनाउन बाँकी रहेका कानुन बनाई लागु गर्न कुनै दलको सरकारले पनि ध्यान दिएको देखिएन । संघीय संसद्ले आफैँ पनि यस्ता अत्यावश्यक कानुन निमार्ण गर्न नसक्ने होइन । संघीय  संसद् सदस्य र संघीय संसद्का पदाधिकारीको पनि त्यसमा ध्यान गएन । 

नेपालका सानाठूला सबै जसो दल नेतामा लोकतान्त्रिक, गणतान्त्रिक, संघीय र समावेशी कुरा गर्छन् । तर, सबैजसोमा जंगबहादुर वा महेन्द्रजस्तो निरंकुश शासक बन्ने प्रबल इच्छा रहेको उनीहरू सत्तामा हुँदा स्पष्ट भएकै हो ।

सर्वसाधारण जनताबाहेक अरू कसैले संविधानको कदर र पालना गरेको देखिँदैन । संविधानको भावना र व्यवस्थाविपरीत पाँच महिनामा दुदुई पटक प्रतिनिधि सभा विघटन गर्ने शासक पनि लोकतान्त्रिक नै बनेका छन् । संसद्को अधिवेशन चलेको बेला पनि हठात् सदनको कामकारबाही स्थगित गरी अध्यादेशबाट शासन गर्नेलाई पनि महान् लोकतान्त्रिक र गणतान्त्रिक बनाइएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा ठूलाबडाले संविधान मान्न नपर्ने स्थिति पनि देखिएकै हो । संविधानमाथि चारैतिरबाट आक्रमण भइरहेको छ त। यसको  जिम्मेवारी कोही लिन तयार देखिँदैन ।

संघीय सरकार जति अराजक बन्दै गएको छ । प्रदेश सरकार र स्थानीय तह पनि त्यत्तिकै अराजक र अनुशासनहीन ढंगले चलिरहेका छन् । कसैले कसैलाई नियन्त्रण गर्न सक्ने अवस्था छैन । आम्दानीको स्रोत घट्दो छ । देशमा मन्दी छ । उद्योग धन्दा, स्कुल, कलेज, विश्वविद्यालय बन्दजस्तै छन । सबै सरकारमा अनियमितता र भ्रष्टाचार अनियन्त्रितरुपमा रूपमा बढ्दै गएको छ ।

राजनीतिक दलका नेता सिद्धान्तवादी, निष्ठा र इमानदार तथा जनता र राष्ट्रको भलो गर्छु भन्ने नभए पछि संविधान राम्रो लेखेरमात्रै केही हुँदो रहेनछ कि भन्ने भान परेको छ । 

अर्को दुःखलाग्दो कुरो के छ भने नेपालमा संघीय संसद्, सर्वोच्च अदालतलगायत सबै संवैधानिक निकायलाई  राजनीतिक नेतृत्वले अनेक दबाब र प्रभाव पारेर निस्तेज र निस्क्रिय बनाइसकेको छ । यो अवस्था आउनु सबैका लागि गम्भीर चिन्ताको विषय हो र यसको संकेत राम्रो देखिँदैन । यसतर्फ हामी सबैको र खासगरी राजनीतिक दलका नेता कार्यकर्ताको ध्यान जाओस् । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro