site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस बैठकमा गण्डकी सभापति शुक्रराज शर्मा आक्रोशित हुनुका दुई कारण
Sarbottam CementSarbottam Cement

पोखरा । दुई वर्षअघि मंसिर १९ गते बिहान अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भए । त्यतिबेला गण्डकीमा कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री थिए ।

भर्खरै सभापति बनेको र मन्त्रिपरिषद्ले पनि पूर्णता पाइसकेको अवस्थामा शर्मासहितको कांग्रेस गण्डकी टिम अन्य काममा नै व्यस्त बन्यो । तर, अर्को वर्ष संसदीय चुनाव भयो । शर्मा आफैँ पनि मुख्यमन्त्री बन्ने इच्छाका साथ प्रदेश समानुपातिकको खस/आर्य क्लस्टरको पहिलो नम्बरमा नै थिए । समानुपातिकतर्फको अन्तिम मत परिणाम आउँदा कांग्रेसले गण्डकीमा ९ सिट पायो ।

तर, दुर्भाग्य प्रत्यक्षमा एकजना महिला पनि उमेदवार नबनाउँदा समानुपातिक क्लस्टरमा कांग्रेसले सबै महिला सदस्य ल्याउनुपर्ने भयो । मुख्यमन्त्री बन्ने उनको अभिलाषा तुषारापात भयो । पार्टीले महिलालाई उमेदवार नबनाएका कारण आफू सांसद बन्नबाट वञ्चित बनेको उनले टिप्पणी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी प्रदेश सांसद हुन नपाए पनि गण्डकीमा कांग्रेस २७ सिटसहित पहिलो दल बन्यो । विभिन्न राजनीतिक उपक्रमपछि माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदसहित गण्डकीमा कांग्रेसकै गठबन्धन सरकार बन्ने भयो ।

शुक्रराजको आशा थियो, ‘अघिल्लोपटक जे भए पनि यसपटक प्रदेश सरकार बनाउँदा चाहिँ प्रदेश समितिले निर्णय गर्न पाउने छ ।’

Global Ime bank

तर, सबै निर्णय केन्द्रबाटै भयो । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बने । उसो त संसदीय दलको निर्वाचन हुँदा नै गण्डकीमा देउवा समूह र इतर समूहबीच चुनाव भएको थियो । प्रदेश सभापति शर्मा इतर समूहका उमेदवार बनेका भोजराज अर्यालको पक्षमा थिए ।

संसदीय दलका नेता बनेर मुख्यमन्त्री बनिसकेपछि कांग्रेसबाट सरकारमा कोको मन्त्री पठाउने भन्ने विषयमा आफूसँग सल्लाह हुने आशा उनको थियो । एक अर्थमा उनले केन्द्रमा झैँ प्रदेश समितिले नै मन्त्री टुंग्याउनुपर्ने पक्षमा थिए ।

तर, उनको केही जोर चलेन । कांग्रेसबाट मन्त्री बन्नेको नाम शपथको केहीबेर अघिसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै खल्तीमा थियो । प्रदेश प्रमुखकोमा शपथको समय मिलाउने पत्र पठाउँदा कोको मन्त्री बन्छन् भन्ने विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खुलाएको थिएन ।

एकाध सांसदबाहेक मन्त्री कोको बन्दै छन् भन्ने भेउ प्रदेशका पदाधिकारीले पाउनै सकेनन् । शुक्रराज शर्मा यही कारण असन्तुष्ट थिए ।

हुन त कांग्रेसको विधानले प्रदेश सरकारको बारेमा प्रदेश समितिलाई केही जिम्मेवारी तोकेको छैन । स्वयं प्रदेश सभापति नै आमन्त्रित केन्द्रीय सदस्य बनेर कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी भइरहेका छन् ।

प्रदेश सभापति हुनासाथ शुक्रराज शर्माले आफूहरूलाई केन्द्रीय समितिमा पदेन सदस्यको हैसियत दिनुपर्ने, प्रदेश सांसदहरूको लेबी आफूहरूले नै राख्न पाउनुपर्नेलगायतका मागको बारेमा नबोलेका पनि होइनन् ।

आफूहरूको भूमिका नदेखिएको विषयमा कांग्रेस गण्डकीले गत भदौ १५–१६ गते सातै प्रदेशका पदाधिकारीहरूको सम्मेलन आयोजना गरेको थियो । कांग्रेसको विधानमा उल्लेख नभए पनि शुक्रराज शर्माले सातै प्रदेशका पदाधिकारीहरूमार्फत देउवालाई दबाब दिन चाहन्थे । तर, अन्तिम समयमा देउवा नआउने भएपछि सम्मेलन नै रोकियो ।

त्यो बैठकमार्फत आफूहरूको अधिकारका लागि विधान नै संशोधन गर्न दबाब दिने रणनीति शर्माको थियो । सम्मेलनका लागि गण्डकी कांग्रेसले चारवटा एजेन्डा तय गरेको थियो; विधानअनुसार पार्टी सञ्चालन संस्थागत हुनुपर्ने, त्यसमा केन्द्रीय समितिलाई रायसुझाव पेस गर्ने । जनप्रतिनिधिलाई सुशासन र विकास निर्माणबारे मार्गदर्शन दिने बारेमा केन्द्रीय कार्यसमितिलाई राय सुझाव पेस गर्ने । प्रदेश कार्यसमितिको भूमिका र कांग्रेसको विरासत ।

यीमध्ये प्रदेश कार्यसमितिको एजेन्डालाई विशेष चासोमा राखिएको थियो ।

कांग्रेस गण्डकीका एक पदाधिकारीले भने, “केन्द्रीय कार्यालयलाई पत्राचार गर्दा सिधै जिल्ला र केन्द्रबीच हुने गरेको छ । जिल्लाले केन्द्रमा पत्राचार गर्दा प्रदेशमार्फत जानुपर्छ भन्ने हाम्रो माग हो ।”

जिल्लाका कार्यक्रममा जाँदा जिल्ला कार्यसमितिहरूले प्रदेशका कार्यसमिति सदस्य तथा पदाधिकारीहरूलाई माइन्युट नै नगराउने, बेवास्ता गर्ने गरेको आरोप प्रदेश समितिको छ । त्यसकारण जिल्लाले केन्द्रसँग समन्वय गर्दा आफूहरूमार्फत जानुपर्ने माग प्रदेश समितिको छ ।

त्यही कुरा उनीहरूले सम्मेलनमार्फत देउवालाई सुनाउन चाहन्थे ।

हाल कांग्रेसले प्रदेश तथा प्रतिनिधिसभाका उमेदवार केन्द्रबाटै टुंगो लगाउँछ । तर, प्रदेश सभाका उमेदवारको टिकट वितरण आफूहरूले पाउनुपर्ने माग गण्डकीको छ ।

“केन्द्रीय कार्यसमितिले जसरी निर्णय गर्छ, सोहीअनुसारको अधिकार हामीलाई दिइनुपर्छ । प्रदेश सभाका उमेदवारलाई टिकट वितरणको अधिकार पनि पाउनुपर्छ,” ती पदाधिकारीले भने ।

स्वयं गण्डकी सभापति शर्माले प्रदेशभित्रका हरेक गतिविधि र निर्णयको अधिकार दिइनुपर्ने बताउँदै आएका छन् । तर, आफ्नै प्रदेशभित्र मन्त्री छान्दा पनि बेवास्ता गरिएपछि उनी असन्तुष्ट छन् ।

शुक्रराज शर्माले बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा असन्तुष्टि जनाउनुको अर्को कारण हो, अर्जुनप्रसाद जोशी । 

जोशीलाई कांग्रेसले बिहीबार मात्रै केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । उनै मनोनीत सदस्य बनेका जोशीलाई शर्माले प्रदेश सभापतिमा हराएका थिए । आफूहरू आमन्त्रित सदस्य बनेर केन्द्रीय सदस्यमा भाग लिइरहँदा आफूसँगै पराजित बनेका जोशीलाई केन्द्रीय सदस्य मनोनीत गरेकोमा शर्माले असन्तुष्टि पोखेका हुन् ।

“कुन मापदण्ड र प्रक्रियाले केन्द्रीय सदस्य बनाउनुभएको मलाई थाहा भएन । जे पनि गर्दा पार्टीलाई राम्रो हुँदैन । हामीसँग चुनाव लडेका मान्छेलाई सभापतिले फटाफाट ल्यादिनुभयो,” बिहीबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शर्माले भने ।

उनले प्रदेश चाहिने हो वा होइन निर्क्योल गर्न सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् । प्रदेश सभापतिलाई केन्द्रीय समितिमा आमन्त्रित बनाइएकामा उनी असन्तुष्ट छन् । उनले प्रदेश नचाहिने भए खारेज गर्न सभापति देउवालाई आग्रह गरे ।

“प्रदेश नचाहिने हो भने खारेज गरियोस्,” शर्माले भने, “होइन भने प्रदेश सभापतिलाई केन्द्रीय समिति बैठकमा वैधानिक हैसियतसहित आमन्त्रित गरियोस् ।”

उनले प्रदेश कार्यसमितिलाई निर्णयको अधिकार हस्तान्तरण गर्न माग गरे । “भोलि प्रदेशले परिपक्व निर्णय गर्न सकेन भने, गल्ती ग‍र्‍यो भने कारबाही गर्ने अधिकार तपाईंहरूलाई नै छ,” शर्माले भने, “तर, प्रदेशअन्तगर्तका निकायका विषयमा निर्णय गर्ने अधिकार केन्द्रमा राख्नुभएन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय