काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालयको खचाखच हल । बस्ने ठाउँ र कुर्सीको अभाव । आधाभन्दा धेरै उभिएकै छन् । ‘हेर्न पाइएन, देख्न पाइएन’ अगाडिका मानिस र मिडिया हटिदिनुपर्यो भन्ने आवाज चलिरह्यो ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो बीपी साहित्य महोत्सव समापनका अन्तिम दुई सत्र बाँकी थिए । 'बीपीको विचार, आजको संविधान' र 'अबको बाटो' सेसन सकिएपछि सुरु भयो– 'परिवारले बुझेका बीपी' । वक्ता थिए, कांग्रेसका तीन कोइराला अर्थात् शेखर, सुजाता र शशांक ।
कार्यक्रम सञ्चालिकाले बोलाएपछि मञ्चमा उनीहरू चढे । सहजकर्ता पत्रकार जगत नेपालले लामो भूमिका बाँध्दै कार्यक्रमको सुरुवात गरे, बीपीले भाइ केशवप्रसाद कोइरालालाई लेखेको चिठीको प्रसंगबाट । नेपालले सोधे– ‘कोइरालाहरूको स्थिति कहाँ छ, तपाईंहरू कहाँ हुनुहुन्छ ?’
फ्लोरबाट गडगडाहट ताली आयो, हुटिङ भयो ।
शेखरले ठट्टा गर्दै भने– ‘हैन हामी कहाँ छौँ ? हामी यहीँ छौँ । बीपीले टाटा मेमोरियल हस्पिटलबाट लेख्नुभएको हो । मेरो बुबा केशवप्रसाद पनि क्यान्सरबाटै सिकिस्त हुनुहुन्थ्यो । उहाँलाई पनि क्यान्सर थियो र उहाँहरू दुवै जनाको देहान्त तीन महिनाको फरकमा भयो ।
केही भावुक बनेका शेखर रोकिएनन् । उनले त्यो चिठी बीपी, केशवप्रसाद, गिरिजाप्रसादका सन्तानलगायतका लागि लेखेको स्मरण गरे ।
“त्यो चिठी वास्तवमा हाम्रा लागि लेखिएको थियो । बीपी, केशप्रसाद, गिरिजाप्रसाद र तारिणीका हामी सन्तानहरूका लागि त्यो चिठी लेखिएको थियो,” शेखरले भाइ शशांक र बहिनी सुजातासहितलाई एकमुष्ट भने, “त्यो चिठी मार्मिक छ । तपाईंहरू सबैले पढ्नुभएको छ भन्ने मलाई लाग्छ ।”
त्यसपछि नेपालले प्रश्न सुजातातर्फ तेर्साए । दुई दाजुका बीचमा बसेकी सुजातालाई सहजकर्ता नेपालले प्रश्न गरे– ‘कोइराला परिवारको बिहान ४ बजे उठेर चिया खाने, संसारका खबरमा मन्थन गर्ने र दिनभर कार्यान्वयन गर्ने संस्कार थियो । अहिले कस्तो छ ?’
फेरि प्रश्नमै दशर्कको ताली बज्यो ।
सुजाताले चिया परम्परामा समयअनुसार परिवर्तन भएको भन्दै मूल कुरामा परिवर्तन नआएको बताइन् । तर, राजनीतिक सिद्धान्तमा कुनै फरक नभएको र पार्टी बचाउन, प्रजातन्त्र बचाउनुपर्ने अवस्था रहेको भन्दै उनले यसैका लागि बीपी, गिरिजा, केशवप्रसाद, ताराणीलगायत परिवारका सदस्य जेल गएको स्मरण गरिन् ।
कोइराला परिवारबीचमा एकदम एकता भएको र बाहिर नमिलेको भन्ने हल्ला भए पनि आफूहरू तीनैजनाले कोइराला परिवारको संघर्ष र दुःख बुझेको बताइन् ।
“आ–आफ्नो परिवार छ, घर छ । तर, हामीमाझ कुनै विवाद छैन,” सुजाताले भनिन्, “शेखर दा’सँग कुनै विवाद छैन मेरो, शशांकसँग पनि विवाद छैन । उहाँहरूको पनि मसँग विवाद छ जस्तो मलाई लाग्दैन ।”
उनले सबै कुरामा विचार नमिले पनि ठूला र जटिल विषयमा एकता भएको धारणा राखिन् ।
“बिहान चारै बजे उठेर चिया त खादैनौँ । तर, सबैभन्दा ठूलो कुरा यो पार्टीलाई बचाउनुपर्ने आवश्यकता म देख्छु,” उनले भनिन्, “पार्टी बचाउन आवश्यक छ । बीपीले चाहेजस्तो प्रजातन्त्र छैन, जनतामा प्रजातन्त्र राम्रो छैन भन्ने परेको छ । पार्टीमा सिद्धान्तको विचलन छ ।”
सहजकर्ताको प्रश्न बीपी पुत्र शशांकतर्फ मोडियो । उनको प्रश्न थियो– ‘बीपी, गिरिजाले परिवारको सहयोगमा सफलता पाएको भनेर उल्लेख गरेको प्रसंग पाइन्छ । तपाईंहरूमा त्यो परम्परा कहाँ छ ?
जवाफमा कांग्रेसको लामो र कष्टपूर्ण इतिहासको व्याख्या गर्दै शशांकले भने, “भर्खरै सुजाताजीले भन्नुभयो कि हामी एक छौँ । हुन त हामी एकै छौँ ।”
पुनः फ्लोरबाट हुटिङसहित ताली आयो शशांक एकैछिन रोकिए र फेरि अघि बढे– “एक छौँ हैन, एक हुनुपर्छ । मैले आफ्ना लागि भनेको हैन । कांग्रेसका लागि भनेको ।”
उनले एकजुट भए बलियो हुने भन्दै आफूहरू एक जुट हुन प्रयास रहने जानकारी गराए । कार्यकर्ता थप उत्साहित देखिए ।
“मैले शेखर दा’लाई कतिपटक भने उहाँ त सभापतिका लागि लड्नु पनि भयो...,” कुरा नसकिँदै फ्लोरबाट हाँसो छुट्यो, तर शशांक रोकिएनन् । उनले थपे, “जबकि १४औँ महाधिवेशनमा मलाई लाग्थ्यो सभापतिमा म नै उपयुक्त हुँ ।”
उनले त्यस्तो आफूलाई लागे पनि पार्टीका अन्य साथीहरूका धारणा बुझेर मात्र अघि बढ्नुपर्ने भएकाले आफू अघि नबढेको बताए । उनले आउँदा दिनहरूमा आफूहरू एक ठाउँमा उभिने प्रतिबद्धता जारी गरेपछि हलले उनको बोलीको स्वागत गर्यो ।
०००
लामो समयसम्म एक भएर अघि बढेको कोइराला परिवारका तीन उत्तराधिकारी १४औँ महाधिवेशनपछि एक ठाउँमा थिएनन् । १४औँ महाधिवेशनमा शेखर सभापति लडे भने सुजाता र शशांकले उनलाई साथ दिएनन् । भोलिपल्ट पत्रकार सम्मेलन गर्ने भनी समझदारी बनेकामा शशांक आफैँ त्यो सहमतिबाट पछि हट्दै शेरबहादुर देउवा क्याम्पमा लागे ।
यता, सुजाता भने प्रकाशमान सिंहको प्यानलबाट उपसभापति लडिन् । त्यसपछि कोइराला तीन सदस्य एक ठाउँमा उभिएका थिएनन् । बीपी साहित्य महोत्सवले उनीहरूलाई एक ठाउँमा ल्याइदिएको हो ।
करिब डेढ घण्टा चलेको सेसनमा हाँसो मजाकसहित ‘सिरियस’ सवालजवाफ भए ।
बीपीले आफ्नो पुस्तकमा पिताजीबाट प्रभावित भएको उल्लेख गरेका छन् । गिरिजा, बीपीको आज्ञाकारी र सुशील कोइराला पनि बीपीबाट प्रभावित भएको प्रसंग झिक्दै पत्रकार नेपालले सोधे– ‘तपाईंहरू तीनजना कोबाट प्रभावित हुनुहुन्छ ?’
‘हामीहरूको कुरा गरेको हो ?’ भन्दै शेखरले लामो व्याख्यामा उत्रिए, ‘‘राजनीतिक हिसाबले हामीहरू बीपी र गिरिजाप्रसादबाट प्रभावित छौँ । राजनीतिक रूपमा बीपी र गिरिजाको पथमा हिँड्ने र हिँडाउने हो ।"
उनले साहित्यमा बीपीको धेरै चर्चा भएको तर तारिणीको पनि साहित्यमा योगदान भएको बताए । तर, त्यो योगदानको चर्चा उपयुक्त ढंगले हुन नसकेको भनाइ शेखरको थियो ।
सुजाताको भागमा प्रश्न पुग्यो– ‘भारतको राजनीतिक विरासत बोकेको गान्धी परिवार तेस्रो पुस्तामा गएर प्रभावहीन बन्यो । कोइराला परिवार पनि तेस्रो पुस्तामा त्यस्तै हुन पुगेको हो ?’
जवाफमा सुजाताले गान्धी परिवारको संघर्षको कुरा गर्दै केही समय मान्छे विलीन भएको वा सिद्धिएजस्तो व्याख्या गरे पनि त्यस्तो कुरा नभएको बताइन् ।
“इतिहासमा गरेको योगदान मेटिँदैन । त्योसँग जोडिएको लिगेसी हुन्छ, संघर्षको इतिहास मेटिँदैन,” सुजाताले भनिन्, “नेपालमा पनि कोइराला परिवारको संघर्षको इतिहास सबैलाई थाहा छ । हामी विभाजित हुँदा कांग्रेसको अवस्था र देशको अवस्थाको अनुभव हामीले गरेका छौँ ।”
त्यसपछि जवाफ दिने पालो आयो शशांकको । 'नेपाली कांग्रेसबाट ६ जना प्रधानमन्त्री बनिसके । तर, छोटो समय प्रधानमन्त्री बनेका बीपीको मात्र चर्चा किन हुन्छ ? जबकि कोइराला परिवारबाटै चारजना प्रधानमन्त्री बनिसके ।'
शशांकले सम्झिए– “बीपी कोइराला भन्नुहुन्थ्यो प्रधानमन्त्रीको पद फाटेको जुत्ता जस्तै हो । कहिले एउटाले लगाउँछ कहिले अर्कोले । त्यसको महत्त्व हुँदैन । प्रधानमन्त्री बनेर के–के काम गर्नुभयो त्यो महत्त्वपूर्ण हुन्छ । जनताको सेवा गर्नुभयो कि भएन, जबसम्म जनताको सेवा गर्दैनौँ प्रधानमन्त्री भएर के हुन्छ र ?”
शशांकले बीपीपछिको सफल प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसादलाई उभ्याए । “गिरिजाप्रसादका पहिलो तीन वर्ष हेर्नुस् त । लोकतन्त्रको भविष्य त आर्थिक विकास र नागरिकको उन्नतिमा हुन्छ !,” शशांकले भने, “सातहजार कालोपत्रे बाटो कति बन्यो उहाँको कालमा, वित्तीय क्षेत्र कसरी विस्तारित भयो, शिक्षण संस्थाहरूको विकास कसरी भयो, यी सबै इन्टिकेटरले गिरिजाप्रसाद सफल प्रधानमन्त्रीका रूपमा स्थापित हुनुभयो ।”
उनले गिरिजाप्रसादको तीन वर्षेकाल 'स्वर्णिम काल' भए पनि त्यसपछिको मध्यावधिले अस्थिरता र बेथिति सबै भित्रिएको बताए ।
सेसनको बीचमा सुजाताले आफ्नो परिवार कति समावेशी थियो भन्ने पनि स्मरण सनुाइन् । बीपीले महामन्त्री दलित समुदायबाट बनाएको र महिलालाई टिकट सांसद हुँदै मन्त्री बनाएको प्रसंगमा उनले आफूलाई विदेशबाट फर्किएर आउँदा कसैले सोधेको प्रश्नको स्मरण गरिन् । उनले आफूले त राजनीतिमा लागेपछि मात्र समाजभित्र रहेको जातीय, लैङ्गिक विभेदबारे थाहा पाएको स्मरण गरिन् ।
सुजाताले बीपीले पढ्न, लेख्न नसक्ने सुशिला बिहे गरेपछि बीपी आफैँले अंग्रेजी भाषा सिकाएको र पछि आफूहरूलाई अंग्रेजीमा चिठी लेखेको स्मरण गरिन् ।
“हाम्रो परिवारमा अधिकार समानता थियो । मैले त समाज यस्तो छ भनेर राजनीतिमा आएपछि थाहा पाएँ,” उनले भनिन्, “हाम्रो परिवारमा त बुहारीलाई पनि छोरी जस्तै गरिन्थ्यो । बीपी बाबाले सुशीला आमालाई पढाउनुभएको हो । पहिले उहाँ अनपढ हुनुहुन्थ्यो । पछि उहाँले शशांकलाई र मलाई पनि अंग्रेजीमा चिठी लेख्नुहुन्थ्यो । त्यसबेला बुहारीहरूलाई पौडी खेल्न सिकाइन्थ्यो । घोडा चढ्न सिकाउनुहुन्थ्यो । महिलाको सम्मान थियो ।”
त्यस्तो बीपीले बनाएको पार्टीमा विभेद र हिंसा रहेको कुरा आफूले राजनीतिमा आएपछि थाहा पाएको बाइन् । दलित, जनजाति, महिलालाई अधिकार नदिने हो भने साहित्य सम्मेलन गरेर बीपी सम्झिँदैमा कांग्रेस रूपान्तरण नहुने उनको धारणा थियो ।
लामो प्रश्नोत्तरपछि ‘फ्लोर ओपन’ गरियो । उपस्थितहरूमध्येका केहीले सोधे, ‘‘१४औँ महाधिवेशनमा एक हुनुभएन अबको १५औँ महाधिवेशनमा कसरी एक हुनुहुन्छ ?’’
सुरुमा जवाफ शशांकले दिए । उनले मार्मिक प्रश्न उठेको बताए । “मैले हामी एक ठाउँमा छौँ भनेँ । तर, मैले मात्र भनेर हुँदैन । सुजाता र शेखर दा’ले पनि भन्नुपर्यो नि,” उनले भने, “तर मलाई लाग्छ, उहाँहरू पनि यही प्रयासमा हुनुहुन्छ कि हामी तीनैजना एकै ठाउँमा बस्ने । एउटा परिवारका सदस्य मिलाउन सक्दैनौँ भने पार्टी कसरी मिलाउन सक्छौँ ?”
उनले आफ्नो प्रयास रहने भन्दै दुईजनालाई सोध्नु भनेपछि फ्लोरमा हाँसो छुटेको थियो ।
त्यही प्रश्नमा सुजाताले पनि तीनैजना एक ठाउँमा रहन आफ्नो अधिकतम प्रयास रहने बताइन् । “धेरै कुरा सुनिसक्यौँ, धेरै साथीहरूले देशभरबाट फोन गरेर मिल्नुपर्छ भन्नुहुन्छ । तपाईंहरू मिल्नुपर्छ भन्नुहुन्छ,” उनले भनिन्, “एकपटक कोइराला परिवारलाई सभापति बनाएर ‘चान्स’ दिऊँ, म सहयोग गर्छु ।”
शेखरले भने प्रश्न जटिल भएको बताए । जति भन्न र सोच्न सहज छ त्यति सहज मिलेर अघि बढ्ने माहोल र वातावरण नभएको अनुभव उनले सुनाए ।
“उहाँहरूले भन्नुभयो हामी एक हुने प्रयास गर्दै छौँ । १४औँ महाधिवेशनमा त प्रयास गर्नुभएन,” फ्लोरको हाँसो र तालीबीच शेखरले थपे, “कसैले कसलाई, कसैले कसलाई सर्पोट गर्नुभयो । मलाई त गर्नुभएन । त्यसकारण उहाँहरूले भनेकै कुरा गर्नुहुन्न रहेछ भन्ने बुझ्नु पर्यो तपाईंहरूले पनि ।”
उनले साँच्चै सुजाता र शशांक मिल्न चाहेको भए १५औँ महाधिवेशनमा एक ठाउँमा उभिन सुझाव दिए । “१५औँ महाधिवेशनमा एक ठाउँमा उभिऔँ । मैले त कहिल्यै नाइँ भनेको छैन,” उनले भने, “म सधैँ एकताको पक्षमा छु । उहाँहरूले हो, कुरा बिगार्ने ।”
त्यसपछि कुरा उठ्यो लोकतन्त्र र कोइराला परिवारको । महिला सशक्तीकरणकै विषयमा जोडेर आएको थियो सुशीला कोइरालाको प्रसंग । 'बीपी प्रधानमन्त्री बनेपछि सुशीलाको इच्छा थियो, नाट्य विद्यालय खोल्ने । त्यो इच्छा कोइराला परिवारबाटै पटक–पटक प्रधानमन्त्री हुँदा किन पूरा हुन सकेन ?'
त्यो प्रश्नमा शेखरले कहाँ के–के भएको विषय आफूलाई थाहा नभएको बताए । तर, विराटनगरमा नाट्य शिक्षाका लागि प्रयास भएको विषय मात्र आफूलाई जानकारी भएको बताए । कार्यान्वयन नभएको किन भन्ने प्रश्नको उत्तर तीनैजना कोइरालासँग थिएन । तर, सुजाताले त्यसको थप कुरा बताइन् ।
“सुशीला आमाले विराटनगरमा कोइराला निवासभित्रैको जग्गामा झोसको छाप्रोमा सिकाउन थाल्नुभएको थियो । त्यसको पहिलो विद्यार्थी दमननाथ ढुंगानाकी श्रीमती (भुवन दी) नै हुनुहुन्थ्यो,” उनले सम्झिँदै भनिन्, “तर, त्यो पञ्चेहरूले आगो लगाएपछि बन्द भयो । धेरैलाई पञ्चायतको तानाशाहीबारे थाहा छैन । थाहा भएकाहरूको पनि स्मरणशक्ति छोटो छ,” उनले अत्याचारलाई छिटो बिर्सने र प्रजातन्त्र केही होइन भन्ने प्रवृत्तिले युवाहरूमा भ्रम सिर्जना गरेको भन्दै युवाहरूलाई पठाउन युवा महामन्त्रीहरूलाई सुझाव दिइन् ।
तीन कोइरालालाई एक नभएको विषयमा धेरै प्रश्न ओइरिएपछि शेखरले प्रश्नकर्ताहरूलाई नै आफ्नो भूमिका तय गर्न जवाफ फर्काए ।
“मैले त सभापतिमा चुनाव नजिते पनि एउटा स्टाटस र सम्मान पाइसकेको छु, यो तपाईंहरूले नै दिलाएको हो,” शेखरले कूटनीतिक भाषामा भने, “मैले चुनाव हार्दाको परिणम तपाईंहरूले भोग्नुपरेको छ । भोलिको दिन कस्तो बनाउने भनेर तपाईंहरूले पनि निर्णय गर्नुस् । हामीबाट जवाफ खोज्ने भन्दा तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ ।”
शेखरले कूटनीतिक भाषामा कार्यकर्तालाई सबै कोइराला उचाल्ने र कोइराला मिल्न सकेनौँ भन्ने प्रवृत्तिलाई एकमुष्ठ जवाफ दिएका थिए ।