site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानसेनापति शर्मा ‘इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स’मा सहभागी हुने

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा आउँदो साता हुने ‘इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स’मा सहभागी हुने भएका छन् । 

इन्डो–प्यासेफिक क्षेत्रका ३० देशका सेना प्रमुख सहभागी हुने उक्त सम्मेलनमा प्रधानसेनापति शर्मा सहभागी हुने नेपाली सेनाले जनाएको हो । 

“सम्मेलनमा सहभागी हुन प्रधानसेनापतिज्यू असोज ७ गते नयाँ दिल्ली जाँदै हुनुहुन्छ,” नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बाह्रखरीसँग भने । 

सम्मेलन सेप्टेम्बर २६ र २७ (असोज ९ र १० गते) हुँदै छ । यो इन्डो–प्यासेफिक आर्मी चिफ्स कन्फ्रेन्सको १३औँ बैठक हो । सम्मेलनको आयोजक भारतीय र अमेरिकी सेना रहेका छन् । 

सम्मेलन नयाँ दिल्लीको मानेकशा सेन्टरमा आयोजना हुनेछ । दुई दिने सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा सहयोग र सामूहिक रणनीतिका बारेमा छलफल हुने जनाइएको छ । 

सम्मेलनमा क्षेत्रीय आपसी हितका विषयमा र यस क्षेत्रको संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिकाबारे पनि छलफल हुनेछ । 

बुधबार भारतीय सेनाले नयाँ दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स सी म्याकनभिलले भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेसँग सह–आयोजनामा सम्मेलन आयोजना हुने जानकारी दिइएको थियो । 

पत्रकार सम्मेलनलाई सम्बोधन गदै भारतीय सेनाका उपप्रमुख एम.भी. सुचन्द्र कुमारले भने, “स्वतन्त्रतापछि भारतीय सेनाले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गरेको छ ।”

उनले सम्मेलनमा इन्डो–प्यासिफिक सेनाका प्रमुखहरूले संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका, सहयोग तथा अभिवृद्धि र आधुनिक सेनाको आत्मनिर्भरताको आवश्यकताका विषयमा सम्बोधन गर्ने बताए । 

विश्वका ६४ प्रतिशत बासिन्दा इन्डो–प्यासिफिक क्षेत्रमा बस्ने जनाउँदै उनले विश्व व्यापारको ४६ प्रतिशतसहित कुल गार्हस्थ उत्पादनमा ६३ प्रतिशत योगदान यो क्षेत्रको रहेको बताए । 

उनले विश्व अर्थतन्त्रमा इन्डो–प्यासिफिकको निर्णायक भूमिका निर्विवाद रूपमा रहेको जनाए ।

सम्मेलनमा तीन वटा कार्यक्रम रहने जनाइएको छ । इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स, इन्डो–प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनार र सिनियर इनलिस्टेड लिडरसीप फोरममा सैनिक प्रमुखहरू सहभागी हुनेछन् ।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया, जापान, बंगलादेश, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्यूजिल्याण्ड लगायतका देशका सेना प्रमुख सहभागी हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro