काठमाडौं । सरकारी सुविधाभोगी वर्ग र तिनका परिवारका सदस्य भ्रष्टाचारमा संलग्न हुन्थे, कमिशन खान्थे । शक्तिकै आडमा व्यापार–व्यवसायमा साझेदार वा मालिक हुन्थे । शक्तिको चरम दुरुपयोग गर्थे । अकुत सम्पत्ति आर्जन गर्थे । तर तस्करीमै मुछिएका घटना चाहिँ कमै थिए ।
पछिल्लो समय आफैँ सुन तस्करीदेखि मानव तस्कर हुँदै कमिशन एजेन्ट बन्नेसम्मका श्रृङ्खलाबद्ध दृश्य मञ्चन हुँदैछन् । ‘नेता–बाबु’कै प्रभाव प्रयोग गर्दै ठूला परियोजना र ठेक्कापट्टामा कमिसन एजेन्ट नै बन्ने प्रचलन भित्रिएको छ । जसरी पञ्चायतकालमा राजपरिवारका सदस्य र नाता–गोता कमिसन एजेन्ट बन्थे ।
कम्युनिष्ट नेता र तिनका छोरा–छोरीहरु पनि पञ्चायतकालीन दरबारिया सिको गर्न माहिर हुँदै गएको पछिल्ला घटनाक्रमले देखाउँछ । तिनको कमिशन होडका कारण विकासे परियोजनाहरु राजनीतिक झगडा परिबन्दमा पर्दैछन् । अब कुनै कम्युनिष्ट नेताले ठूला परियोजना विरोध उत्रियो भने बुझ्नुपर्छ, ‘कुनै न कुनै रुपमा तिनका छोरा–छोरी र नातेदारहरुको संलग्नता छ ।’
सँगै सँधैभरि सत्ता आफ्नै पार्टी वा परिवारभित्र रहेपछि छानबिन बाहिर पर्ने नै भयो । अझ छानबिन गर्ने निकायमै ‘आफ्नै मान्छे’ पुर्याएपछि कसले छानबिन गर्ने ? त्यसपछि अनुचित धन पुख्यौलीकरण भए र हुँदैछन् ।
शासकीय वृृत्तहरुका तस्करलाई संरक्षण गर्थे, स्वयं तस्करीमा संलग्नताका घटना बिरलै आउँथे । पछिल्लो दुई वटा ‘भेप’ र ‘ब्रेक सु’ सुनकाण्डसँगै नेता र नेतापुत्रहरु संलग्नता तस्करीमै भेटिँदैछ ।
चिनियाँ नागरिकमार्फत भएका पछिल्ला दुई सुनकाण्ड विद्युतीय चुरोट ‘भेप’ मार्फत ल्याएको ९ किलो र नक्कली ‘ब्रेक–सु’ बनाएर आयात गरिएको झण्डै ६१ किलो सुन काण्डमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएको छ ।
सुन काण्डमा नाम जोडिएर पनि अनुसन्धानमा भने तानिएका छैनन् । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको भेप सुन काण्डमा चिनियाँ तस्कर दाओजिन वाङलसँग पटक–पटक सम्पर्क नै देखिए पनि उनी पक्राउ परेनन् ।
प्रहरीले बुधबारमात्रै प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
नेतापुत्र अवैध धन्दामा
नेताहरुसँगै तिनका पुत्रहरु पनि अवैध धन्दामा तानिएका छन् । अवै धन्दामा तानिनेमा माओवादी केन्द्र र एमाले नेता पुत्रहरु बढी देखिन्छन् । विद्युतीय चुरोट ‘भेप’मार्फत तस्करी गरिएको ९ किलो सुन काण्डमा जोगाइएका पूर्व सभामुखसमेत रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुल महरा अनुसन्धानका लागि हिरासतमा छन् ।
महराको चिनियाँ नागरिक दाओजिन वाङसँग सयौं कल फोन देखिएको भेप सुन प्रकरणमा जोगाइएका उनी पछिल्लो ब्रेक–सुका रुपमा तस्करी गरिएको झण्डै ६१ किलो सुन प्रकरणमा पनि जोडिएपछि पक्राउ गरी अनुसन्धान थालिएको हो ।
भेप प्रकरणमा पूर्वसभामुख महराको संलग्नता भएको आशंका गरिएपनि उनी भने अझै अुनुसन्धानको दायरामा परिसकेका छैनन् ।
‘ब्रेक–सु’ सुन प्रकरणमा महरा बाबु–छोरा मात्र नभएर वर्षमान पुनको नाम समेत चर्चामा आएको थियो । माओवादी उपमहासचिव पुनले भने सहिद परिवारकी सदस्यसमेत रहेकी अमला रोक्काले दावा छिरिङसँग सुन तस्करीमा संलग्न दावा छिरिङ आठ वर्षअघि घरमा आउँदाको फोटो दुरुपयोग गरिएको स्पष्टीकरण दिएका छन् । तर, उनका भाइ प्रनिश पुन भियना मल्टिप्रपोज ग्रुपको शेयर साझेदार रहेको खुलेसँगै उनको स्पष्टीकरणमा पनि फेरि प्रश्न उठेको छ ।
अवैध धन्दामा तानिएका अर्का नेता पुत्र हुन्– प्रतीक थापा । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाको छोरा प्रतीक नक्कली भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त हुन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन् ।
तर, उनको अवैध धन्दा भने नक्कली भूटानी शरणार्थी प्रकरणमा मात्र सीमित देखिएको छैन । झण्डै ६१ किलो सुन प्रकरणमा पनि उनी दावा छिरिङसँगको सम्पर्कमा जोडिएको देखिएपछि उनीमाथिको अनुसन्धानले थप तथ्य बाहिर ल्याउने आकलन सुरु भएको छ ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । टोपबहादुर रायमाझी पक्राउ पर्नु अगावै उनका छोरा पक्राउ परेका थिए ।
देशका नागरिकलाई राष्ट्रको जिम्मेवारीमै रहेका व्यक्तिको संलग्नतामा नक्कली भूटानी शरणार्थी बनाएर देश पठाउने अभियोगमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु नै तानिएका छन् । नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
यो काण्डमा एमाले अध्यक्ष ओलीका सहयोगी राजेश शाक्यदेखि अन्यको नामसमेत आएको थियो । तर, त्यसरी नाम आएका सबैलाई आनुसन्धानमा तान्ने र अभियोगमा नाम राख्ने काम भएको छैन ।
त्यसअतिरिक्त एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका पुत्र स्वराज पोखरेलको नाम जोडियो । तर, पोखरेलले कुनै संलग्नता नरहेको भनी खण्डन गरिसकेका छन् । उनले स्वतन्त्ररुपमा छानबिन गर्न पनि चुनौती दिएका छन् ।
पक्राउ परेका चिनियामूलका बेल्जियम नागरिक होटल भियनाका सञ्चालक दावा छिरिङ, ठमेलस्थित केटिबी काराओके रेस्टुरेन्टका टियान मी, वीन तोङ, डिंग सेग्फा र ली नेङकाइसमेतले बयानमा नेता पुत्रहरुको नाम लिएका हुन् ।
तर, बयानका विषयमा आएका समाचारको समेत खण्डन गरेर बाबु ईश्वर पोखरेलले भने दावा छिरिङसँग आफ्ना परिवारको कुनै सम्पर्क र चिनजान नभएको बताएका छन् ।
माओवादी नेताहरुमध्येका पूर्वउपराष्ट्रपति नन्दबादुर पुनका छोरा दिपेश पुनको नाम पनि जोडियो । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कागजी बयान समेत लिएको छ । उनको यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत नाम जोडिए पनि अनुसन्धानमा भने तानिएनन् ।
‘बाबुछोरा नै तस्करीमा तानिनु रोचक’
विश्लेषक मुमाराम खनाल नेताहरु राज्यकोषबाट सञ्चालित ठूलठूला आयोजनाको कमिशन र भ्रष्टाचारको रकममा मस्ती गर्दै आएकामा अब देशको अर्थतन्त्र धरासायी भएर परियोजनाबाट पैसा लिने अवस्था नभएपछि नागरिक ठग्न र तस्करीमा पनि संलग्न हुन थालेको बताउँछन् ।
तर, एकै परिवारका बाबु–छोरा धन्दामा तानिएको घटना भने आश्चर्यजनक भएको उनको बुझाई छ ।
“उनीहरुको संस्कृति यति तल्लोस्तरको सामाजिक वर्गबाट आएका हुन् कि बाबु–छोरा र परिवारका सदस्यहरु एउटै कर्ममा संलग्न हुनु एउटा सभ्य राष्ट्रमा परिकल्पना पनि गर्न सकिँदैन,” खनालले बाह्रखरीसँग भने, “त्यो एकदमै अनइथिकल (अनैतिक) कुरा हो त्यो ।’’
उनले महरा बाबु–छोरा तस्करीमा संलग्न देखिनु, रायमाझी बाबु–छोरा नक्कली भूटानी शरणर्थी प्रकरणमा पक्राउ पर्नु हाम्रो सामाजिक मूल्य मान्यताले परिकल्पना समेत नगर्ने विषयका रुपमा अथ्र्याए ।
उनले भने, ‘‘कुनै पनि बाबु–छोरा एउटै सुन तस्करमा संलग्न हुनु, नक्कली भुटानी शरणार्थी प्रकरणमा सामेल हुनु वा भ्रष्टाचारमा सामेल हुनु भनेको समाजिक मूल्य मान्यताका हिसावले एकदमै अनैतिक कुरा हो ।”
माओवादी नेताहरु सरकारमा आइसकेपछि राज्य दोहनमा संलग्न भएको भन्दै त्यसको बाटो बन्द हुँदै गएपछि ठगी र तस्करीमा लागेको उनको बुझाई छ ।
खनालले भने, “त्यसपछि पुरै सत्ता नागरिक लुट्ने तर्फ लाग्यो । गृहसचिव, गृहमन्त्री गृहप्रशासनसहित, उपप्रधानमन्त्री भइसकेका मान्छेहरु एउटा नागरिकको तहमा गएर उनीहरुसँग पैसा उठाएर नक्कली शरणार्थी बनाउने काममा लागे ।”
उनले राज्यको वैधताका दृष्टिले पनि अचम्मको यो विषय हाम्रो विकासको कोणबाट हेर्दा भने त्यो कुनै अचम्मको विषय नभएको बताए ।
“राज्यकोषको दोहनलाई स्वभाविक रुपमा लिने समाजमा जव राज्य लुट्न सक्ने सम्पूर्ण कम्पोनेन्टहर सकिन्छन् त्यसपछि नेता पनि नागरिक लुट्नेतिर लाग्छ,” खनालले भने, “माओवादीका नेताहरुमा जे गर्दा पनि हुन्छ भन्ने जुन सोच देखिएको छ । त्यो समाजको एकदमै ‘मिसफिट’ वर्गबाट आएको छ, त्यसले गर्दा पनि होला ।”
खनालले माओवादीमा पनि मध्यपश्चिमको रुकुम रोल्पा क्षेत्रकै नेताहरु यस्ता गतिविधिमा देखिनु देखिनुलाई अनौठो सामाजिक राजनीतिक अवस्थाका रुपमा टिप्पणी गरे ।
यतिदेखि गिरिबन्धुसम्म
तत्कालीन नेकपा सरकारले कानुन बनाउँदै व्यापारिक विशेषलाई लाभ दिलाउँदै आफूहरु पनि ‘लाभान्वित’ यति र गिरिबन्धु टी स्टेट सतहमा छन्, तिनमा कुनै कारबाही भएको छैन । कानुन नै बनाउँदै व्यापारिक घराना विशेष पोस्नु भनेको राज्य कब्जा शैलीको भ्रष्टाचार मानिन्छ ।
यति प्रकरण कतैबाट छानबिन भएन, अब गिरिबन्धु जग्गा प्रकरणले त्यही रुप लिने सम्भावना छ । किनभने अनुसन्धान गर्दै भ्रष्टाचारको मुद्दा लगाउने निकायमा आफ्नै मानिस भर्ती भएका छन् । त्यसबाहेक कोरोना महामारीमा नागरिकलाई बचाउने भन्दै हतारमा ओम्नीमार्फत आयात गरिएको कोरोनाबाट जोगिन लगाउने पीपीई तथा एन्टिजेन खरिद प्रकरण बिर्सिएको अवस्था छ ।
वाइड बडी प्रकरणमा लेखा समितिले छानबिन गर्नू र भ्रष्टाचार मुद्दा लगाउनू भनी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठायो । अख्तियारले डरलाग्दो मौनता साँधेको छ । यी काण्डहरुमा भ्रष्टाचार भएको विषय सार्वजनिक हुने तर छानविन र कारवाही नहुने प्रवृत्तिले राजनीतिक दलप्रतिको आम धारणा नै नकारात्मक बनिरहेको छ ।