बीपीको यो साता विशेष चर्चा भएको छ । खासगरी नेपाली कांग्रेसले बीपी जयन्तिका अवसरमा साहित्य उत्सव आयोजना गरेर यो चर्चालाई विगतभन्दा नयाँ शैली दिएको हो । तीन दिनको यस कार्यक्रममा बीपीको साहित्यिक र अन्य आयामिक योगदानको राम्रै चर्चा भयो ।
त्यही विस्तारमा त होइन तर प्रजातान्त्रिक विचार समाजले पनि बीपी जयन्तीलाई वैचारिकरूपले गम्भीर प्रस्तुति दिने जमर्को गर्यो । विचार समाजको विभिन्न जिल्ला शाखाले यस दिन बीपी विषयमा अध्ययन र जानकारी साटासाट गरे । समाजले आफ्नो विचारको संस्थापक बीपी कोइरालालाई मानेको छ ।
कांग्रेसले केन्द्रीय विषय साहित्यलाई बनाए पनि त्यहाँ बीपीको बहुआयामिक चिन्तन र व्यक्तित्वमाथि विचार विमर्श भएको पाइयो । बीपी किन बहुआयामिक भन्ने जिज्ञासालाई कार्यक्रमको विषयगत संयोजनले राम्रै जानकारी दिन खोजिएको देखियो । अघिल्लो दिन र अन्तिम दिनको कार्यक्रम छुट्यो । कारण अलि पछि ।
दोस्रो दिनको सत्रहरूमा जो अत्यन्त जानकारी दिने प्रकारका थिए, तिनमा भने समावेश भइयो । त्यसो त तीन दिनकै विषय हेर्दा उत्कृष्ट थिए । वक्ता पनि नाम चलेका अध्येता । ती त्यस्ता पात्र थिए जसले नेपालको वैचारिक उज्यालोलाई बचाइ राख्ने प्रयास निरन्तर गरेका छन् । त्यस्ता पात्र थिए त्यहाँ । उपस्थिति घुँइचो थियो ।
बीचबीचमा भएका सांस्कृतिक अर्थात् नाचगानको संयोजनले कार्यक्रम पट्यार लाग्दो भएन । त्यसमाथि विषयहरूको गाम्भीर्यले जिज्ञासुाको ध्यान गहिरोसँग तानेको लाग्थ्यो ।
कार्यक्रम बीपी जन्मदिन भदौ २४ देखि तीन दिनको लागि तय गरिएको हो । बीचको दिन सहभागी हुँदा त्यहाँ बीपीको अर्थ सामाजिक, साहित्यमा मधेस संस्कृति, अन्तर्राष्ट्रिय व्यक्तित्व एवं कूटनीति र युवासम्बन्धी विषयमा प्रस्तुति समावेश पाइए ।
उल्लिखित विषयमा बीपीको दृष्टिकोण, विचार र प्रयोग आदि महत्त्वदायी भूमिकाप्रति चर्चा भएको थियो । त्यस्ता गम्भीर विषय प्रस्तुतिका सत्रहरूको समय छोटो थियो र पनि केही कुशल प्रस्तोताले त्यही समयमा पनि गहिरो अध्ययन प्रस्तुत गरे ।
अर्थसामाजिक विषयपछि बीपीका कृति वा साहित्य लेखनमा मधेस संस्कृतिको प्रतिच्छायाको चर्चा भयो । यो विषय प्रस्तुति मलाई निकै रोचक र घैँटाको बिर्को खोल्ने प्रकारको भयो । प्रस्तुतिसँगै प्रायः विषय मिल्दो चित्र कोर्न नजिकै क्यानभासमा कलाकार तल्लीन देखिन्थे । कला, संस्कृति र बीपी विचारको सम्मिलन कार्यक्रममा उहाँको मेलमिलाप नीतिको पनि विश्लेषण भएको हो ।
अत्यन्त गम्भीर जानकारी बीपीको अन्तर्राष्ट्रिय व्यक्तित्व र उहाँले विदेशी नीतिमा स्थापित गरेको मूल्य, मानकको प्रस्तुति पनि हो । विषय वक्ता पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व परराष्ट्रमन्त्री द्वय प्रदीप ज्ञवाली र डा. नारायण खड्का ।
प्रारम्भमा नेपालको असंलग्न परराष्ट्र नीतिमा कुशल र दृढप्रयोग बीपी कोइरालाले मात्र गर्नुभएको निष्कर्ष कार्यक्रमबाट आएको थियो । सार्वभौम नेपालको असंलग्न नीतिको मानक बीपीले स्थापित गर्नुभएको व्याख्या त्यहाँ भयो ।
अठार महिनाजति प्रधानमन्त्री रहँदा बीपीले विदेश नीतिमा दिनुभएको छाप र लिनुभएका निर्णयको प्रस्तुतिले सार्वभौम नेपालको असंलग्न विदेश नीतिमा उहाँले स्थापित गर्नुभएको मानकको हिस्सा छर्लङ्ग बुझिएको छ ।
बीपी स्वयं भन्नुहुन्छ – प्रत्येक मानिस आयामिक हुन्छ । उहाँ मौरी र कमिलाको उदाहरण दिएर स्पष्ट गर्नुहुन्छ – यी प्राणी मानिसभन्दा पनि अघि थिए, भए होलान् । तर, किन अहिले पनि ती जीव त्यस्तै वा जस्ताको तस्तै छन् ? प्रश्न गर्नुहुन्छ ।
किनभने, ती जीवमा आयामिक सोच भएन, शैली छैन । ती जीवमा विद्रोही भाव पनि रहेन । त्यसैले ती त्यस्तै रहेजस्ता थिए । मानिस आयामिक हो र विद्रोही पनि । त्यसैले यतासम्म आइपुग्यो । भोला चटर्जीलाई दिनुभएको अन्तर्वार्तामा बीपीले यस्तै गहकिला विचार भन्नुभएको छ ।
बीपीले आफूलाई क्रान्तिकारी भन्नुभएजस्तो लाग्दैन । बरु विद्रोही भएको उद्घोष गर्नुभएको छ । रुढ मान्यतालाई भत्काउने विद्रोह जसले मानिसलाई प्रगतिशील बनाउँछ । विद्रोहले गतिशील बनाएको हो र मानिसले उन्नत चरणहरु पाएको बीपीको दृष्टि हो भन्ने लाग्छ ।
उहाँले आफ्नो जन्म नै विद्रोहको माध्यमले भएको बताउनु भएको छ । अर्थात्, आफू धर्तीमा आउँदा नै आमाको सर्जरी भएको कारणलाई उहाँले आफ्नो विद्रोहको पहिलो नमूना भन्न रुचाउनु भएको छ ।
कांग्रेस कार्यक्रमको अघिल्लो दिन प्रजातान्त्रिक विचार समाज स्वयंले बीपी विचारको विषयमा कार्यक्रम आयोजना गरेको थियो । देशभर एकहत्तर शाखा रहेको प्रजातान्त्रिक विचार समाजका विभिन्न शाखाले सूचित गरेअनुसार नै बीपी जयन्ती कार्यक्रम गरे । यही कारण बीपी साहित्य उत्सवको अघिल्लो अर्थात् उद्घाटनको दिन सहभागी हुने सम्भावना रहेन ।
केन्द्रको कार्यक्रम हुने कारण अघिल्लै दिन २३ गते तनहुँ र अन्य केही शाखाले पनि कार्यक्रम गरी बीपी जयन्तीलाई विचार दिवसको रुपमा मनाइयो । अन्तिम वा तेस्रो दिन संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधनको कारण नेपाली कांग्रेसले कार्यक्रम स्थगित गर्यो । कम्युनिस्ट नेता भए पनि नेम्बाङको व्यवहार बीपी विचारकोे अनुकूल थियो कि भन्ने लाग्छ मलाई ।
यसपटक प्रजातान्त्रिक विचार समाजले बीपी संग्रहालय, सुन्दरीजलमा बीपीको बहुआयामिक व्यक्तित्व र भूमिका माथि खुला छलफल चलायो । सहभागी वक्ताहरूले आआफ्नो बुझाइ, अध्ययन र जानकारीमा बीपीलाई उन्मुक्त प्रस्तुत गरे ।
बढी प्रस्तुति राजनीति र साहित्यमाथि भयो । परराष्ट्र नीति, आर्थिक सामाजिक पक्ष वा समाजवादको विषयमा पनि साथीहरूले बुझाइ राख्नुभयो । त्यहाँ अर्को गम्भीर निष्कर्ष साहित्यले संरक्षण होइन स्वतन्त्रता चाहन्छ भन्ने बीपीको भनाइप्रति आयो । थप पर्यावरण दृष्टिप्रति चर्चा भयो ।
संयोग, बीपीको शालिकमा निजी श्रद्धा अर्पण गर्न पुग्नुभएका नेपाली काँग्रेसका नेता तारिणीदत्त चटौतले हाम्रो कार्यक्रमलाई लामै समय दिनुभयो । हाम्रो आग्रह मान्नुभयो । सरल नेता चटौत साच्चै बीपीको अनुयायी लाग्नुहुन्छ । उहाँ सहधर्मिणी सरस्वती चटौतसँगै सहभागी भइदिनु भयो ।
त्यसो त त्यही कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वनिर्वाचन आयुक्त डा.वीरेन्द्र मिश्रले पनि साक्षात्कार दिनुभयो । हामीलाई हौस्याउनु भयो । तर, उहाँ दुई अर्कै कार्यक्रमको अतिथि, वक्ता हुन आउनुभएको रहेछ ।
आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भन्ने बीपीले साहित्यलाई संरक्षण होइन, स्वतन्त्रता चाहिन्छ भन्नुको सन्देश स्तुति, प्रशस्ति र दलीय घेराभन्दा माथि वा साहित्य उन्मुक्त हुन्छ भन्ने शाश्वत मान्यता स्पष्ट गर्नुभएको हो । निष्कर्ष थियो ।
प्रगतिशील साहित्यको नाममा साहित्यलाई घेराबन्दी गर्ने अर्थात् माक्र्सवादी वा कम्युनिस्ट दृष्टिकोणमा घेराबन्दी गर्ने अप्रगतिशील रुढ मान्यता विरुद्ध हो बीपीको साहित्यिक स्वतन्त्रताको उद्घोष । यो विषय सुन्दरीजलमा प्रस्ट पारियो ।
त्यस्तै पर्यावरणीय पक्षलाई नेता चटौतले प्रवेश दिनुभयो । जतिबेला बीपीले चुनाव चिन्ह रुख तय गर्नुभयो त्यो अहिलेको पर्यावरणीय समस्याप्रतिको दूरगामी सोचको परिणाम थियो । उहाँको उद्बोधनले बहसलाई नयाँ आकार थप्यो–पर्यावरण । बीपी संग्रहालयको स्थापना, स्थापक विषयमा इतिवृत्त बताएर यसका अध्यक्ष परशुराम पोखरेलले हाम्रो जानकारीलाई थप भरिलो बनाउन योग दिनुभयो ।
लाग्छ, यस पटक बीपीप्रति देशमा गम्भीर प्रस्तुति दिने जमर्को गरियो । नेपाली कांग्रेसले त्यो अधुरो काममा कडी जोड्ने प्रशंसनीय प्रयत्न गरेको हो । अरू सञ्चारमाध्यम, विश्लेषक, विज्ञ र प्रजातान्त्रिक विचार समाजजस्ता वैचारिक संस्थाले बीपीप्रति न्याय गर्ने कोसिस गरे ।
त्यो ठाउँ, सुन्दरीजलमा रहेको सैनिक ब्यारेकलाई राजा महेन्द्रले बन्दीगृहमा प्रयोग गरे । प्रथम जननिर्वाचित संसद् र सरकार विघटन गरेर प्रधानमन्त्री, सभामुख र मन्त्रीलगायत दसजना लोकतान्त्रिक नेतालाई यहाँ थुनेका हुन् ।
महामना बीपी यहाँ आठ वर्ष निरन्तर बन्दी बनाइनु भयो । बीपी र नेताहरू बन्दी बनाइँदा तानाशाही मनसुवाका राजा महेन्द्रलाई खुसी र सन्तोष त जाग्यो होला । तर, बीपी र नेपालको लोकतान्त्रिक आन्दोलनले नयाँ उचाइ पायो । अन्तर्राष्ट्रिय पहिचान पायो । बीपीले नेपाली साहित्यका गहकिला मार्गदर्शक कृति पनि यहीँ सिर्जना गर्नुभयो । लेख्नुभयो । विचारलाई बन्दी बनाउन नसकिने ज्ञान राजा महेन्द्रलाई पनि जीवनको उत्तरार्धमा भयो कि ?