site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री नै किन गर्दै छन् जनता सडकमा उतार्ने कुरा ? 

काठमाडौं । प्रधानमन्त्रीकै कुर्सीमा हुँदाहुँदै पुष्पकमल दाहाल 'प्रचण्ड' केही दिनयताका भाषणमा चेतावनी दिइरहेका छन्– ‘बर्खा सकिएपछि लाखौँ जनता सडकमा उतार्ने छौँ ।’

किन र केका लागि जनता उतार्न लागियो ? यसबारे उनले खुलस्त पारेका छैनन् । उनी संसदीय र सरकारी काम पन्छाउँदै नवगठित समाजवादी मोर्चाका सन्देश सभाका प्रमुख अतिथि बनिरहेका छन् र लाखौँ जनता सडकमा ल्याउने धम्कीयुक्त भाषा प्रयोग गर्दै छन् । सरकारले बिजनेस नदिएपछि संसद् कामविहीन बनेको छ । संसद् र सरकारी काम चुस्त पारी नागरिकलाई राहत दिनुपर्ने बेला हो । तर, प्रधानमन्त्री भाषणमै व्यस्त देखिन्छन् ।

उनले गत भदौ १४ मा सुर्खेत सभामा भने, “हाम्रो (समाजवादी मोर्चाका नेताको) सपना के छ भने अब बर्खा सकिएपछि लाखौँ जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाको पक्षमा, सामाजिक न्यायको पक्षमा भ्रष्टाचारकाविरुद्ध जगैदेखि हल्लाउनुपर्ने हुन्छ ।”

उनले इतिहासका निर्माता जनता भएकाले उनीहरूलाई सडकमा नल्याई 'सरकारले गर्देला र खाउँला ठाने भुल हुने' अभिव्यक्ति पनि दिएका छन् । 

हेटौँडामा आइतबार मोर्चाको सन्देश सभामा उनले निरंकुशतावादी शक्तिले टाउको उठाउन खोजेको बताए । उनीहरूलाई सडक आन्दोलन गरेर तर्साउने प्रचण्डको भनाइ थियो ।

Global Ime bank

सरकारको कार्यकारी प्रमुख रहेका प्रचण्डले सोमबार विराटनगरमा आयोजित सन्देश सभामा पनि सोही कुरा दोहोर्‍याए । 

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको प्रसंगमा 'जिन्दगीभर संघर्ष गरेका नेताले बाटोमा हिँड्दा पनि छाती खोलेर हिँड्न नपाउने'जस्तो अवस्था बनेको बताए । 

साथै, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा नकारात्मक कुराले प्रश्रय पाइरहेको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन् । उनले भने, ‘‘सामाजिक सञ्जालमा हेर्नै नसकिने कुराहरू आइरहेको छ, इँटको जवाफ पत्थरले दिने छौँ ।" 

उनले 'निरंकुशताका दलाल'हरूले टाउको उठाउन खोजेको र उनीहरूको चरित्र 'बुर्जुवा'को भन्दा फरक नरहेकोसमेत टिप्पणी गरे ।

मंगलबार सुदूरपश्चिममा मोर्चाको कार्यक्रम छ । त्यसपछि सातै प्रदेशको सभा सकिने र मोर्चामार्फत सडकमा जाने कार्यक्रम बनाइने उनको भनाइ छ । “लाखौँ जनता सडकमा ल्याउने हो र यी बुर्जुवाहरू, दलालहरूलाई हामी जिउँदै छौँ भन्ने देखाउनुपर्‍यो । जनता जीवित रहेको देखाउनुपर्‍यो,” उनले भनेका छन् ।

प्रचण्डले अबको सडक आन्दोलनलाई ‘हतियारविहीन युद्ध’को संज्ञा दिएका छन् । “नयाँ लडाइँ, हिंसात्मक होइन, हतियार उठाउने होइन,” प्रधानमन्त्री प्रचण्डले भने, “माओले भनेजस्तै राजनीति लडाइँ पनि हतियारविहीन युद्ध हो भने जस्तोमा हामी छौँ । म त्यसको नेतृत्व गर्न बल गरिरहेको छु ।”

प्रचण्डले किन गर्दै छन् यस्ता कुरा ?

कार्यकारी प्रमुखले जनतालाई सडकमा ल्याउने भनी दिइरहेको अभिव्यक्तिप्रति अनेक कोणबाट टिकाटिप्पणी भइरहेको छ ।

विश्लेषकहरूले प्रधानमन्त्रीको कुर्सीमा बसेर जनता सडकमा ‌ओराल्ने कुरा गर्न मिल्ने कि नमिल्ने भन्दै प्रश्न उठाइरहेका छन् । राजनीतिक विश्लेषक हरि रोका पञ्चायती शासक ब्युँतिने खालको चलखेल भइरहेको भन्दै प्रधानमन्त्रीले जनसमर्थन खोजेको हुन सक्ने बताउँछन् ।

“पञ्चायती शासक ब्युुँताउने खालको चलखेल बढी भए भन्ने हिसाबले जनसमर्थन खोज्नुभएको जस्तो देखिन्छ,” रोका भन्छन्, “सडकमा आउन जनतालाई आह्वान गर्न सक्छौँ, आउनुपर्‍यो भन्न खोज्नुभएको होला ।”

प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्तो भन्ने बेला भएको छ कि छैन भन्ने विचार गर्नुपर्ने रोकाको भनाइ छ । ‘‘प्रधानमन्त्रीकै कुुर्सीमा बसेर यस्तो भन्ने कि नभन्ने ?,” उनी भन्छन्, “जनतालाई सडकमा ल्याइहाल्ने अवस्था सिर्जना भइहालेको पनि त छैन ।” 

विश्लेषक रोका गलत पृष्ठभूमि निर्माणमा राजनीतिक दलहरूको कमजोरी कारक बनेको टिप्पणीसमेत गर्छन् । “जुन खालको कुरा चलिरहेको छ । राजनीतिक कार्यक्रमका कुरा मात्रै हो र ? आर्थिक सामाजिक कुरा हुन्छ । आर्थिक समाजिक रूपान्तरण, आममान्छेलाई सहजता त उहाँहरूले दिनुपर्ने हो नि,” रोकाले बाह्रखरीसँग भने, “त्यो गर्नु भएको भए त सायद नकारात्मक कुराको पृष्ठभूमि तयार पनि हुन्थेन होला ।”

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल समाजवादी समाजवादी मोर्चाको विस्तार र जनपरिचालनका लागि प्रधानमन्त्रीले आह्वान गरेको रूपमा व्याख्या गर्छन् । “मोर्चाका कार्यक्रमहरू जनस्तरसम्म पुर्‍याउन हिउँद लागेपछि जनपरिचालन गर्ने भन्नुभएको हो,” उनी भन्छन् ।

समाजवादी मोर्चाको उद्देश्य राजनीतिक परिवर्तनको रक्षा गर्ने रहेकाले त्यहीअनुसार अघि बढ्न गरिएको आग्रहको रूपमा उनी अर्थ्याउँछन् । “विभिन्न खालका समस्याहरू छन् । मोर्चा बनेको परिवर्तनका रक्षाका लागि हो,” उनले प्रधानमन्त्रीको अभिव्यक्ति अर्थ्याउँदै भने, “त्यसको रक्षाका लागि मोर्चालाई सक्रिय बनाउनुपर्छ । जनपरिचालन गर्नुपर्छ भन्ने कुरा हो । प्रधानमन्त्रीले भनेको कुरालाई मोर्चाकै सन्दर्भमा जोडेर बुझ्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu