काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
अहिले मतदान जारी रहेको लुम्बिनी प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए । निर्वाचन समितिले दिउँसो १ बजेसम्म मतदानको समय तोकेको छ ।
अधिवेशनमा कूल एक हजार चार मतदाता रहेका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित २०५ सदस्यीय कमिटी चयन गर्नेछ । सचिवबाहेकका पदाधिकारी र सदस्यमा मतदान भइरहेको हो ।
अध्यक्षमा राधकृष्ण कँडेल र हरि रिजाल उमेदवार छन् । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् । त्यस्तै सदस्यतर्फ रुपन्देही, गुल्मी दाङ, बाँकेबाहेकका जिल्लामा सर्वसम्मत चयन भएका छन् ।
लुम्बिनीका १२ जिल्लामध्ये चार जिल्लामा सदस्यका लागि पनि चुनाव भइहेको छ । एमालेले जिल्लाहरुमा क्लस्टरवाइज सदस्य छुट्टयाएको थियो ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), पूजन विश्वकर्मा र शान्तकुमार वली प्रतिस्पर्धी छन् ।
त्यस्तै, उपसचिव पुरुषतर्फ एक पदका लागि उपेन्द्रलाल कामी, पूर्ण बुढामगर र दुर्गाप्रसाद थारु उमेदवार छन् । उपसचिव महिलातर्फ एक पदका लागि आरती पौडेल, बसन्ती अधिकारी र लीला राना मगरको उमेदवारी छ ।