site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हावाहुरीले मकै बाली नष्ट

ढोरपाटन । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ । घोगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायत गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिए । शनिबार राति र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उनको भनाइ छ ।

सात सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानले रु ५० लाखभन्दा बढीको क्षति बेहोर्नुपरेको उनले बताए । किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली बारीमै पुगेर क्षतिको विवरण लिएको उनको भनाइ छ । मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पुर्‍याएको उनले बताए । दाना लाग्ने बेलामा मकै ढलेको हुँदा अब फल नदिने शाखा प्रमुख पराजुली बताउँछन् । 

Argakhachi Cement Island Ad

“किसानको बारीमा पुग्दा कुनै पनि मकैका बोट ठाडो देखिँदैनन्, सबै ढलेर कामै नलाग्ने भएका छन्, अब ती ढलेका मकैका बोटबाट किसानले एउटा गेँडा पनि उत्पादन गर्न सक्ने अवस्था छैन, गैँडा हालिसकेको भए, केही उत्पादन हुने सम्भावना हुन्थ्यो, अहिले ठ्याक्क घोँगामा गेँडा हाल्ने समय भएको थियो”, शाखा प्रमुख पराजुलीले भने, “अहिले प्रारम्भिक विवरण लिएका छौँ, प्रारम्भिक विवरणमा करिब रु ५० लाख नोक्सानी भएको अनुमान छ, केही दिनमै पूरै विवरण आउने छ, त्यसमा अलि बढ्ने सम्भावना देखिन्छ, किसानले धेरै ठाउँमा मकै ढलेको जानकारी गराउनुभएको छ ।”

उनले अहिलेसम्म यहाँका किसानले कृषि बिमा नगरेको बताए । बीमा गरेको भए केही सहुलियत मिल्ने पराजुलीको भनाइ छ । यस वर्षदेखि किसानलाई कृषि बिमाको दायरामा ल्याउने तयारी गरिरहेको उनी बताउँछन् । यहाँका अधिकांश किसानले रैथाने जातका मकै लगाएको पराजुलीले बताए । 

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पुर्‍याएको बताए । किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सबै वडामा प्राविधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोहीअनुसार राहतका बारेमा प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने बताए । रासस
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्