
भरतपुर । चितवनको माडी नगरपालिका–३, धोबहामा विद्युतीय पासोमा परेर एकजनाको मृत्यु भएको छ ।
जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरनको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए ।
उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ माडीस्थित बघौडा अस्पतालमा भर्ना गरिएको थियो ।
“त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो,” रिजालले भने, “महतोलाई भरतपुर अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।”
उनको अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावरले माडीका बासिन्दालाई पटकपटक दुःख दिने गरेको स्थानीय बताउँछन् । रासस