काठमाडौं । कोइराला परिवारका तीन उत्तराधिकारीले ‘तीन–तिर’ अनुहार फर्काए, नेपाली कांग्रेसको १४ औं महाधिवेशनताका । सँगै सभापति लडेका शेखर कोइराला शेरबहादुर देउवासँग पराजित भए ।
उता उपसभापति लडेकी सुजाता कोइराला थोरै मतमा सीमित भइन् ।
केन्द्रीय सदस्य मात्र लडेका डा. शशांक कोइरालालाई सबै गुटले लिस्टमा राखे । तर, शशांकले पनि मुक्ताकुमारी यादव पछि दोस्रो लोकप्रिय मत पाए ।
कांग्रेसको इतिहासमा २००९ सालको पाँचौ महाधिवेशनमा विपी र मातृका दाजुभाइबीच पनि द्वन्द्व भएको थियो । ‘बीपी भन्दा मातृका भारतको अनुकूल हुन्छ’ भन्ने भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको पत्रपछि कांग्रेस हलचल पैदा भयो । सँगै कांग्रेसको ठूलो तप्काले मातृकालाई नेता मान्न छोड्यो मात्र होइन कि पार्टीमा आन्तरिक किँचलो पैदा भयो ।
त्यसपछि बीपी सभापति र मातृका प्रधानमन्त्रीमा सीमित रहने समझदारी भएको थियो । तर, पहिलो महाधिवेशनमा प्रधानमन्त्री मातृकाको पनि सभापतिमा उमेदवारी प¥यो । तर, विपीको उमेदवारीसँगै गणेशमान सिंह, गोपालप्रसाद भट्टराईले पनि उमेदवारी दिए । सिंह र भट्टराईको उमेदवारी वीपीको उमेदवारी कायम राख्नका खातिर थियो ।
उता मातृकाको उमेदवारी कायम रहेमात्र आफू हट्ने अडान केदारमान व्यथितले लिए । पछि कसैले उमेदवारी फिर्ता नलिएपछि मातृका र व्यथितले महाधिवेशन बहिस्कार गरे । बीपी सभापति निर्वाचित भए ।
त्यो विवादपछि कोइराला परिवार महाधिवेशनमा विभाजित भएको थिएन ।
तर, कांग्रेसको इतिहासमा कोइराला वा कोइरालाको समर्थन पाएका व्यक्ति मात्र निर्वाचित हुन्थे । त्यो परम्परा १३ औँ महाधिवेशनमा तोडियो । सतहमा देखिँदा कोइराला परिवारको समर्थन रामचन्द्र पौडेललाई थियो ।
तर, पौडेलसँग कोइराला परिवारका सदस्य खुसी नरहेको परिणाम महाधिवेशनमा देखियो ।
कोइराला परिवारको खुला समर्थनविनै शेरबहादुर देउवा सभापति बने । १४ औंं महाधिवेशनमा सभापतिका प्रत्यासी दाजु डा. शेखरबाट डा. शशांक टाढै बसे । तिनको पटक¬–पटक देउवासँग भेटका तस्बिर सार्वजनिक भए ।
अझ शेखरसँग एकसाथ गर्ने भनिएको पत्रकार सम्मेलन छल्न संखुवासभा गए ।
उता गिरिजाप्रसाद पुत्री सुजाता कोइराला प्रकाशमान सिंहको टिमबाट उपसभापति पराजित भएपछि शेरबहादुर देउवालाई समर्थन गर्न पुगिन् ।
शशांकको अप्रत्यक्ष र सुजाताका प्रत्यक्ष समर्थनमा देउवा फेरि सभापतिमा निर्वाचित भए, डा. शेखर पराजित भए । कोइरालाको समर्थनविनै सभापति भएका देउवाको रेकर्ड कायम रहन सकेन । फेरि डा. शेखर कोइराला १५औं महाधिवेशनमा सभापतिको उमेदवार बन्ने घोषणसहित देश दौडाहामा छन् । उनी १२औं महाधिवेशनपछि निरन्तर देश दौडाहामै छन् ।
अब विधानतः देउवा प्रतिस्पर्धामा हुने छैनन् । शेखरका निम्ति बलियो प्रतिस्पर्धी देखिँदैनन् भन्ने आँकलनबीच डा. शशांकले चस्का दिएका छन्, सभापतिमा उमेदवारी दिने तयारीसँगै ।
उनले आफू १५औं महाधिवेशनमा सभापतिकको आकांक्षी रहेको बताएका छन् । उनको मान्यता छ, अब कांग्रेस बुझेको र कांग्रेसलाई हाक्न सक्ने हुनुपर्छ । डा. शशांक पनि वर्षा सकिएसँगै देश¬ दौडाहाको योजनामा छन् ।
“म सभापतिको आकांक्षी मात्र हुँ । वर्षा रोकिएसँगै ७७ जिल्लामा पुग्नेछु । जिल्लाका नेता कार्यकर्ता साथीहरुसँग भेट्नेछु,” डा. शशांकले बाह्रखरीसँग भने, “त्यसपछि सबैले अघि बढ् भने सभापतिको उमेदवार हुन्छु । होइन सभापतिमा हुँदैन भने भने म ‘व्याक’ बस्छु ।”
त्यसो भए, सभापतिमा कोइराला परिवारकै दुई सदस्यबीच भिडन्त हुन्छ भन्ने प्रश्नमा शशांकले ‘त्यस्तो नहुने’ जवाफ फर्काए । दाजु शेखर र बहिनी सुजातासँग छलफल गरेर मात्र अघि बढ्ने योजना उनले सुनाए ।
“म केही दिनभित्रै शेखर’दा र सुजातासँग छलफल गर्ने तयारीमा छु । हामी यसरी कुरा गर्नेछौँ कि हाम्रोबीचमा भएका समझदारी कसैले तोड्न सक्नेछैन । जे निर्णय गर्दा पनि समझदारीमा गर्नेछौँ,” शशांक भन्छन् । त्यसपछि उनी जिल्लाका साथीहरुलाई भेट्न निस्कने योजनामा छन् ।
दाजु शेखरसँग विशेष कुराकानी गर्ने उनको तयारी छ । सुजातालाई स्वास्थ्यले साथ नदिएका कारण उनले नेतृत्वमा दाबी नगर्ने शशांकको विश्वास छ । तर, सुजातालाई पनि जिम्मेवारी दिने र अघि बढाउने विषयमा भने समझदारी गर्नुपर्ने उनले ठानेका छन् ।
गत साउन भएको केन्द्रीय समिति चलिरहँदा शशकांकले चियापान आयोजना गरेका थिए । कांग्रेसका सबै गुटका सबैजसो नेता र कार्यकर्ता शशांकको चियापानमा पुगे । त्यो दिन अन्तिम समयमा पुगेका शेखर र शशांकबीच केहीबेर भलाकुसारी भएको थियो ।
शशांक विगतबाट केही पाठ सिकेझँै देखिन्छन् । उनी शेखर कोइराला र आफूसँग भएका टिमका साथीहरुलाई पनि विश्वासमा लिने भन्दै दुईबीचको राजनीतिक समझदारीमा भने टिमको सहभागिता नरहने बताउँछन् ।
उनी भन्छन्, “हाम्रो समझदारीमा तेस्रो व्यक्तिको सहभागिता रहने छैन । तर, हामीबीचको समझदारी भने सार्वजनिक हुनेछ ।”
उनी कांग्रेसलाई बलियो बनाउने समझदारी भएकाले त्यसलाई लुकाउनु पर्ने आवश्यकता नभएको उनको भनाइ छ । अलग–अलग हिँड्ने समझदारी पनि हुन सक्छ ! भन्ने प्रश्नमा सभवतः त्यस्तो अवस्था आउँदैन भन्ने जवाफ दिन्छन् ।
१३औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका डा. शशांक निस्क्रिय बसेका कारण पार्टी नेतृत्वमा जानु उपयुक्त नहुने विश्लेषण १४औं महाधिवेशन अघि भएको थियो ।
नेता कार्यकर्र्तासँगको भेटघाटमा सक्रिय रहेका शेखरलाई समर्थकहरुले नै अघि बढ्न हौस्याएका थिए । त्यही कारण अघि बढेका शेखरलाई भाइ–बहिनीसँग पर्याप्त छलफल गर्न र विश्वासमा राख्न नसकेको आरोप पनि लागेको थियो ।
शेखरमाथि लागेको भाइ–बहिनी मिलाउन नसकेको आरोपमा डा. शशांक आंशिक सत्यता देख्छन् । सभापतिको उमेदवारी घोषणापछिका भेटघाटमा कतै पनि दाजु शेखरले आफूलाई निम्ता नदिएको शशांकको स्मृतिमा छ ।
“शेखर’दाले धेरै पटक बैठकहरु राख्नुभयो । तर, मलाई कतै बोलाउनु भएन । मलाई उहाँले नडाँकेपछि मैले ‘इन्डिपेन्डेन्ट’ उमेदवारी दिने निर्णय गरेर त्यसै गरेको हुँ,” शशांक सम्झन्छन्, “म कुनै टिममा बसिन । त्यसलाई प्रतिनिधिहरुले राम्रो मानेर मलाई लोकप्रिय मत दिएका हुन् ।”
उनी को सभापतिको उमेदवार बन्ने भन्दा कांग्रेसलाई कसले एकताबद्ध र सशक्त बनाउँछ भन्ने कुरा महत्वपूर्ण हुने बताउँछन् ।
“१५औं महाधिवेशनपछि पनि कांग्रेस एकताबद्ध भएन, कांग्रेस पुरानो अवस्थामा फर्कन संकेन भने कांग्रेस त जोखिममा पुग्छ–पुग्छ, देशमा लोकतन्त्रको भविश्य पनि अन्योलमा पर्छ” डा. शशांक भन्छन्, “नेपालमो सबैभन्दा ठूलो उपलब्धि ‘डेमोक्रेसी’ हो, ‘डेमोक्रेसी’लाई कांग्रेसको ‘ओरिजिनल’ शक्तिबाहेक कसैले अघि बढाउन सक्ने अवस्था बनेको छैन ।”
यसो भन्दै गर्दा उनले आफ्नै सभापति शेरबहादुर देउवाको बुझाई सम्झिए । पार्टीमा गुटगत राजनीति महाधिवेशनको समयमा मात्र हुनुपर्ने र बाँकी समय कांग्रेस संस्थागत ढंगले चल्नुपर्ने बुझाईमा रहेका उनी अलग गुटबाट निर्वाचित भएर पनि देउवाको रक्षा कबच बनिदिएको बताए ।
“सभापति र महामन्त्रीबीच द्वन्द्व भयो भने पार्टी विभाजन हुँदैन ? यो कुरा विचार गरेर मैले सभापतिजीलाई सहयोग गरेको हँु । कतिपय अवस्थामा उहाँको रक्षा कवचका रुपमा नै म उभिएको हुँ,” सभापतिलाई अनावश्यक सहयोग गरेको भन्ने आफ्नो गुटभित्रको आरोप स्वीकार गर्दै शशांक भन्छन्, “तर, सभापतिजीले त मेरै निर्वाचन क्षेत्रमा त्यो तिम्रो मान्छे कि मेरो मान्छे हो भनेर सोध्नुभयो । मैले तपाई कांग्रेसको सभापति त्यो कसको मान्छे हुन्छ भनेको थिए ।”
उनका अनुसार, सभापतिलाई तेरो–मेरो नगर्न पटक–पटक भनेपनि सभापतिले गुटीय राजनीति छाडिएको पाइँदैन । सभापति देउवाको त्यही बुझाइ कांग्रेसको सवलीकरणमा बाधक बनेको उनको बुझाई छ ।
“हुन त, मैले आफ्नो कार्यकालमा सभापतिजीलाई सफल बनाउन सहयोग गरेको हुँ । पार्टी सभापतिको आलोचना गर्नु पनि ठीक होइन । तर, गलत काम भएपछि नेतृत्वमा उहाँ नै हुँदा अरु कसको आलोचना गर्ने त ?” शशांक भन्छन्, “तर, शेरबहादुरजीले सभापति निर्वाचित भएपछि तेरो–मेरो नगर्नुभएको भए कांग्रेसको अवस्था फरक भइसक्ने थियो ।”
देउवाले सभापति भएपछि कांग्रेस बलियो बनाउने भन्दा गुट बलियो बनाउनेमा ध्यान दिँदा कांग्रेसका अवस्था खस्किएको उनको बुझाई छ ।
कांग्रेसको ‘पुरानो साख’ फर्काउने र नेता कार्यकर्तामा उत्साह, एकतासहित नागरिक समर्थन फर्काउने कुरा कसरी सम्भव होला ? यस्तो जिज्ञासामा शशांक केही बिग्रिएको भएपनि कांग्रेसप्रतिको आकर्षण फर्काउन असम्भव नरहेको बताउँछन् । उनको बुझाईमा ओठे ‘कमिटमेन्ट’ मात्र होइन ‘कन्भिक्सन’सहित नेतृत्व आयो भने कांग्रेसले फेरि आशा जगाउन सक्ने पार्टीको हैसियतमा फकिन्छ ।
“झुठा ‘कमिटमेन्ट’ होइन ‘कन्भिक्सन’सहित कोही नेतृत्वमा आउँछ भने त्यसले कांग्रेसमा उत्साह र एकता कायम गर्न सक्छ,” शशांक भन्छन्, “कांग्रेसलाई आम जनतासँग जोड्ने उत्साहसहितको एकता जुन दिन हुन्छ त्यसदिन सम्पूर्ण डेमोक्र्याटहरु कांग्रेसको पक्षमा उभिन्छन् ।”
‘‘गुट बनाउने होइन पार्टी बनाउने त्यो पार्टीले जनताका मुद्दामा काम गर्ने भएपछि उत्साह आउँदैन र ?” भन्ने प्रतिप्रश्न गर्छन् ।
शेखर र शशांक दुवै चिकित्सक सेवाबाट कांग्रेसको राजनीतिमा आएका हुन् । शेखर तीन पटक र शशांक चार पटक सांसद निर्वाचित भएका छन् । दुवै नेताहरु मन्त्री बनेका छैनन् र उनीहरुमाथि कुनै किसिमको आरोप पनि छैन ।
कांग्रेसकी नेतृ सरिता प्रसाईं डा. शेखर र डा. शशांकबीच समहमति भएर एकमात्र उमेदवार बन्ने अवस्थाले कांग्रेस र मुलुकलाई हित हुने बताउँछिन् । “लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा त सधैँ स्वागतयोग्य हुन्छ । दुई कोइराला मिले भन्दैमा अरुले प्रतिस्पर्धा नगर्ने भन्ने पनि हुँदैन,” प्रसाईंले भनिन् ।
त्यसो भएमा भ्रष्टाचारमा नमुछिएको व्यक्तिको नेतृत्व कांग्रेसले पाउने विश्वासमा उनी छन् ।