
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुक्खा र वर्षा दुवै समयमा विद्युत्मा आत्मनिर्भर हुन लागेको बताएका छन् ।
मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले विद्युत्मा पूर्ण रुपमा आत्मनिर्भर बन्न लागेको भन्दै प्रसारण लाइनको विस्तार र व्यवस्थापनमा ध्यान केन्द्रित गरेको जिकिर गरे ।
बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । मन्त्री बस्नेतले मुलुकमा लोडसेडिङ नभए पनि प्रावधिक कारणले बेलाबेलामा बत्ती जाने गरेको बताए ।
उनले उक्त समस्या पनि छिट्टै समाधान हुने दाबी गरे । सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको उनको भनाइ छ ।
त्यस्तै, उनले सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको जानकारी दिए ।