इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् । ललितानिवास जग्गा प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए ।
उनले भने, “अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।”
नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन सबै मिलेर पहल गर्नुपर्नेमा उनले जोड दिए । उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएजस्तै अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने बताए ।
भ्रष्टाचारमा जोडिएका जो कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।
महामन्त्री थापाले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने औँल्याए । अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णय समेत पारदर्शी बनाउनुपर्ने बताए ।
नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा उनले जनता र युवा पिँढीमा रहेको नैराश्यता अन्त्य गर्न कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए । इमानदार भएर काम गरेमा परिवर्तन सम्भव हुने उनको भनाइ छ । रासस