पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८४ औँ जयन्ति कार्यक्रम । हाल, मौका मिलेका कार्यक्रममा सहभागी हुन जाँदा त्यहाँको अभिव्यक्तिले देश निकै अप्ठ्यारोमा धकेलिए छ भन्ने भारी मन लिएर फर्कनुपर्ने हुन्छ । कोइरालाको जयन्ति कार्यक्रममा पनि वक्ताहरु यस्तै सुनिए ।
केही त पक्कै उज्यालो छ । केही त सकारात्मक प्रगति भएकै छ । समाज अगाडि बढेकै छ । जसरी दुनियाँको रित चलेको छ । त्यस्तै गति मेरो देशको पनि छ । कतिले धेरै पहिले हाम्रै प्रकारका दुर्दिन पार गरे । हामी अहिले त्यहाँ छौँ,जहाँ सयौँ वर्षअघि अहिलेको विकसित संसारका देश थिए ।
कसले भोगेन र पीडा ? को भएन र दुःखी ? कुन दुनियाँले असभ्य समय पार लगाउनु परेन र ? सभ्य भनिने समाज र समय त्यसै आएन होला ? सभ्यताको भ्रुण नाड्.को मानिसको युगदेखि नै जन्मिएको होला । यसलाई पनि समयले हुर्कायो । समाजले पाल्यो । मानिसको पौरखले यहाँसम्म ल्यायो ।
यस्तै सोच्ने हो मैले । कतै चाँदीको घेरा पक्कै छ भन्ठान्ने हो । तर आज भोलि जता गयो निराशाको भारि बोकेर फर्कनु पर्छ । यो चाहिं बुझिन । के सबै सभ्य समाजले कुनै दिन यति थुप्रै निराशा उठाए होलान् ? निराशाकै यति अग्लो पहाड पार गरेर यहाँसम्म पुगेका होलान् ? त्यहाँ उत्साहप्रेरित ऊर्जा पनि थियो कि निराशा व्याप्त मात्रै ?
तिनले अर्थात् ऊ–त्यो बेलाको समय,समाजले पनि पक्कै दुःख, कष्ट, अभाव बेहोर्यो । तिनले पनि असभ्य समय पार गरे । सभ्य समय ल्याए, बोध गरे । हामीले जस्तै सबैले सबै बेहोरे । जानकारी लिनसकेको विगतले यही भन्छ । इतिहासले यस्तै बोल्छ ।
तर के निराशाको भारी तिनीहरुले पनि अहिलेका हामी नेपालीले बेहोरे जस्तै, बोके जस्तै र घोके जस्तै बोके होलान् त ? यो चाहिं बुझिएन । अनुमान चाहिं दुःखी दिनहरुले त्यो समाज र समयले पनि निराशाको गर्त बेहोर्नै पर्यो कि भन्ने लाग्छ । अहिले हामी जत्तिकै ? समाजमा आशा छ,त्यसैले निराशा पनि छ । के निराशामा आशा शून्य हुन्छ त ? हाम्रो जस्तै हालत ?
नेपाली समाज यति विघ्न निराश पहिले कहिले भएको होला ? जो अहिले सुनिदै छ । जता जाउ निराशा छ, तत्जन्य आक्रोश छ । घृणा छ र समाजको सम्मानित भनिने ठाउँहरुलाई अपमानको बौछार छ । सुन्नै अप्ठ्यारो लाग्ने । प्रतिवाद त तर्क नै रहेन,भएन,सकिएन ।
नेपाली समाज सुनिन्छ यस्तै निराश,आक्रोशित । पहिले गाउँ घरतिर कुनै वास्तै नभएजस्तो लाग्थ्यो । शहरबाट गाउँ फर्केका कथित केही टाठाबाठाको गफ हुन्थे । गाउँमा श्रम बढी,अभाव कम थियो । आफ्नो आवश्यकता प्रायः त्यहीं पूरा हुन्थे । मेलापर्म, अैंचोपैंचो चल्थ्यो । खरानीले छोपेको कोइला वा झुम्रो पोलेर आगो पनि बाँडिन्थ्यो । नुन,कपडा बाहेक सामान्य घर चलाउन त्यहाँ आत्मनिर्भरता थियो । त्यो आत्मबल अहिले खुस्कियो ।
त्यहाँ पनि किनेको चामल, तेल, मसला, गेडागुडी, तरकारी र सक्नेले भित्र्याएको प्रविधिले कथित सुखी सभ्यताले निराशाको भारी बोकेर गाउँमा समेत भित्रिएको छ । आवश्यकता बढ्यो । अपेक्षा उर्लियो । तर अभाव रह्यो,कमी खट्कियो । अनि निराशाले अनपेक्षित घर बसायो । तर निराशाको समग्र कारण यतिमात्रै चाहिं होइन ।
‘अभावले स्वभाव बिगार्छ’भन्ने एउटा कुरा छ । के निराशाको कारण यतिमात्रै होला त ? सबैभन्दा ठूलो कारण त राजनीतिमा इमानको अवशान हो । राजनीतिमा बेइमानहरु सिर्जित समस्या हो । जनसेवक भनिने कर्मचारी तन्त्रको भ्रष्ट मनोवृत्ति हो । यही नै कारण चौतर्फी समस्या बढ्दै समाजमा निराशा फैलिएको हो ।
एक अशल,आदर्श पात्र सुशील कोइरालाको ८४ औँ जयन्ति कार्यक्रममा पनि यस्तै निराशाको गुञ्जन सुनियो । वक्ता थिए–संविधानविज्ञ भीमार्जुन आचार्य, पूर्व मन्त्री रेवती भुसाल र पूर्व मुख्यसचिव लीलामणि पौडेल । कार्यक्रमका सभापति माननीय डा.शशांक कोइराला । विषय–‘सुशासन र मुलुकको वर्तमान अवस्था ।’ आयोजक सुशील कोइराला स्मृति प्रतिष्ठान ।
त्यहाँ कसले के भने ? व्यक्ति तोक्नुभन्दा पनि अभिव्यक्त ‘निराशा’ प्रस्तुत गर्नुमा पारदर्शिताको सीमा समेत रहला । यथार्थजन्य निराशा हो कि ? हाम्रो सुन्दर भविष्य के सकिदै गएको स्थितिबोध हो ? के आशाको अवशान हो ? सुन्दा यस्तै ‘व्दन्व्द’ बल्झिन्छ ।
यतिसम्म भयावह चित्र प्रस्तुति थियो कि–‘नेपाल दु्रत गतिमा, तर क्रमशः पाकिस्तानी अवस्थातिर जादैछ’भन्ने सुनियो । सार्कको साथी पाकिस्तान यदि स्वयं पीडित छ भने, सुन्दा मात्रै पनि हामी साथीलाई पनि घोच्नु स्वाभाविक हो । पाकिस्तानी दशा,दिशा भन्नुको मतलब राजनीतिक, आर्थिक र अन्य अप्रिय लाग्ने सामाजिक घटनाकै तुल्यता प्रस्तुति हो ।
अर्को डर लाग्दो अभिव्यक्ति– हाल, तस्कर वा माफियाको सहयोगी नबन्दा बर्षौँको इमानलाई अनेक प्रकार प्रहार गरिन्छ । सत्ताको पछिल्तिर लुकेको तस्कर, माफिया स्रोतले सरकार चलाउँछ, दलहरु तिनैले चलाएका छन् र अन्ततः समाजलाई पनि त्यसैले चलाउन थाल्यो ।
तस्करसँग मिलोमतो नगर्ने र तिनलाई छेक्न खोज्नेको लागि यो समय दुर्दशा बोलाउनु जस्तै हो । समाजमा इमान भएका र इमान कमाएका पनि थुप्रै छन् । यदि त्यो इमान माफियासँग ठोक्किन पुगे, ठोक्किनेको सामाजिक हुर्मत लिइन्छ । त्यसको लागि प्रचार साधान, स्रोत, सामग्री प्रयोग गरिन्छ । स्वयं सरकारी संयन्त्र इमानको हुर्मत लिन, दुर्दशा गर्न दुरुपयोग हुन्छ ।
सुशासन बकेर नथाक्ने सरकारी सत्ताधारीले अहिले केही भ्रष्ट घटनाको छानवीन गरेर स्याबासीको आफ्नै पिठ्युँमा ध्याप दिदैछ । चाकरहरुलाई ‘कीर्तन गर्ने दक्षिणा’ मिलेको छ । भ्रष्ट छविले आच्छादित सरकारी छानवीनमा विभेद छ, पक्षपात छ । त्यहाँ पनि नातापाता, मेरो, तेरो र राजनीतिकरण,दलीयकरण छानवीन छ । उदाहण दिएर वक्ता चिन्ता व्यक्त भयो ।
नेपालको सत्ता,सरकार र समयको तस्वीर यस्तै प्रस्तुत भयो त्यहाँ पनि । भाषा,शब्द र व्यक्त मुख फरक होलान् तर प्रायःसबै कार्यक्रमको सन्देश यस्तै निराशा,जोखिम र असह्य सन्देशको हुने गरेका छन् । व्यक्ति यस्तै बोल्छ । समूह यस्तै भन्छ । सामान्यको ठम्याइ यस्तै छ । माथि लेखिएका स्वनामधन्य वक्ता पनि यस्तै त सुनिए । छैन कतै चाँदीको घेरा ?
ठूला कुरा त जसले आफ्नो लगाम (रिमोट) आफैसँग भएजस्तो स्वाँग पार्छन् त्यस्ता ‘थकित,गलित, पतित र परिजीवी’ सत्ताधारीले गरिराख्या छ । न इमानको इज्जत छ ,न विधिको सम्मान, न नैतिकता, न चरित्र । राजनीतिको यस्तो पहिचान,प्रवृत्तिले समाज ग्रसित छ । संविधान कमजोर । प्रणाली बदनाम । राजनीतिको दुर्नाम गर्ने यिनै प्रवृत्ति–पात्र त हुन् । यही निराशाजन्य उपाय हो–विदेश पलायन, पढ्न वा जहान पाल्न । ब्रेन ड्रेन ।
कार्यक्रमपछि भारी मन,गरौँ खुटट टेकर कुर्चीबाट उठें । फेरि लाग्यो मेरो देशमा कतै चाँदीको घेरा छैन ? आखाँ खोली हेर्दा पनि अध्याँरा मात्रै देखिन्छ त ? के सुशील कोइरालाको असल प्रवृत्तिको अवसान भएकै हो त ? बीपीले ‘ठूलो होइन,असल बन्न’ भनेको सन्देशको सामाजिक मृत्यु नै भएको हो त ? त्यसो भए हाम्रो उपस्थितिको के काम ? यस्तै सोच्दै फर्किएँ ।