जे मा पनि राजनीति गर्ने ? विदेशी भूमिमा आएर पनि राजनीति गर्ने ? ओइलाएको रुख र खिया परेको हँसियाहथौडा अस्ट्रेलिया, अमेरिकासम्म बोकेर ल्याउने ? यी र यस्तै प्रश्नको वर्षा हुन्छ – प्रवासमा हुने संघसंस्था र तिनका कार्यक्रममा । यी प्रश्नको उत्तर खोज्न राजनीति के हो, किन गरिन्छ भनेर एकछिन घोत्लिएर हेरौँ । राजनीति र दलगत क्रियाकलाप बीचको भेद पनि खुट्ट्याँऊ ।
नेपाली कांग्रेस , नेकपा (एमाले) वा माओवादी वा अन्य कुनै पार्टीको झन्डा बोक्नु वा त्यो पार्टीको स्वार्थ पूरा गर्न लागि पर्ने गतिविधि राजनीति हो भनेर बुझ्नु पुरातन सोच हो । अस्ट्रेलिया वा अमेरिकाको सन्दर्भमा भन्ने हो भने 'लेबर' वा 'लिबरल' पार्टीको हितको लागि गरिने काम दलगत गतिविधि हुन् । दलगत गतिविधि पनि राजिनीती हो तर राजनीति दलगत गतिविधिभन्दा फराकिलो हुन्छ । दुई जना भन्दा बढी जम्मा हुनु, विचार विमर्श गर्नु, एउटा साझा उद्देश्य तय गर्नु र त्यस उद्देश्य प्राप्तिको लागि गरिने संगठन वा गतिविधि भने साँचो अर्थमा राजनीति हो । सरल शब्दमा भन्ने हो भने जनसञ्चारका माध्यमबाट विचार प्रवाह गर्नु र संगठन गर्नु नै राजनीति हो । यस अर्थमा अस्ट्रेलियाको भिक्टोरियामा रहेको 'दिदीबहिनी समाज' होस् वा अमेरिकाको 'ग्रेटर डल्लास नेपाली समाज' सबै राजनीतिको विस्तारित रूप नै हो । यी संस्थाको आयतन सानो छ । त्यसैले यिनमा जोडिनेको संख्या पनि सानो छ । राजनीतिक दलसँग जोडिनेको संख्या धेरै छ । त्यसैले तिनको आयतन ठूलो छ ।
संगठन गर्नु वा संगठित हुनु आफैँमा खराब हुने कुरो होइन । यसको सर्वव्यापकता अस्वीकार गर्नु पनि वास्तविकताबाट टाठा हुनु हो । गएको दशकमा धेरै चर्चामा रहेका मानव उत्पत्ति र इतिहास अध्येता युवल नोह हरारी भन्छन् – मानव चेतनाको विकास क्रममा आगोको आविष्कार जति महत्त्वपूर्ण र युगान्तकारी छ, संगठन गर्ने मानवीय 'आनुवंशिक गुण' त्यसभन्दा बढी युगन्तकारी छ । यही गुणका कारण अहिलेको मानव जाति (स्यापियन्स) ले अन्य जातिलाई जितेर पृथ्वीमै राज गर्न सफल भएको हो । 'स्यापिएन्स : ए ब्रिफ हिस्ट्री अफ ह्युमन काइन्ड' मा उनी भन्छन् – परिचित होस् वा अपरिचित संसारको एउटा कुनाबाट आएको कुनै विचार वा आह्वानले लाखौं करोडौंलाई संगठित गर्ने र जीवन उत्सर्ग गर्ने अवस्थासम्म पुर्याउने क्षमता राख्ने गुण – संगठित हुने गुणले नै मानवजातिलाई विशिष्टीकृत गरेको हो । प्रविधिको प्रयोगबिना नै ठूलाठूला संरचना बनाउने हैसियत त्यही गुणको उपज हो । त्यही गुणका कारण टर्कीमा भएको मानव अधिकारको घटना होस् वा अफ्रिकामा भएको भोकमरीको घटना – संसारको कुनै पनि कुनाबाट विरोध, समर्थन वा आवाज चर्कोसँग उठ्ने गर्छ ।
संगठन गर्ने, संगठित हुने यी प्रक्रिया यति सुन्दर र समावेशी हुँदा पनि हाम्रो समुदायमा किन अवाञ्छित हुनपुगे ? यसको खराब पक्षको मात्रै किन भाष्य निर्माण भयो ?
नेपालका राजनीतिक दलहरू र यसका नेतृत्वले देखाएको चरित्रले यसमा ठूलो प्रभाव पारेको कुरा स्पष्ट छ । राजनीतिक दलहरू र त्यसका पात्रले 'राजनीति' खराब भाष्य निर्माण किन र कसरी गर्यो त्यो चर्चाको छुट्टै विषय हो ।
प्रवासमा रहेका नेपालीहरूको लागि विश्वव्यापी संगठन गर्ने बलियो 'सम्बल' प्रदान गर्यो – दलको संगठनले गैरआवासीय नेपाली संघ (एनआरएनए) जसरी ८६ देशमा फैलियो र जुन आयतनमा यो रहेको छ यसका सबै देश र तिनका राज्यमा पुग्न सक्ने र तिनलाई जोड्न सक्ने “धागो” राजनीतिक दलका संगठन बने । संसारभर छरिएर रहेको हाम्रो समुदायलाई जोड्न सक्ने दलहरूभन्दा बढी आयतन भएको अरु कुनै विचार वा संस्था भइदिएको भय सायद तिनै विचार वा संस्थाले प्रभाव पार्थे । राजनीतिक दलको आड लिएका थुप्रै अभियन्ता खासमा दलसँग आबद्ध पनि छैनन् । दलहरूको लागि आफ्नो प्रभाव र आयतन बढाउने माध्यम बन्यो गैरआवासीय नेपाली संघ भने संघमा आफ्नो प्रभुत्व जमाउन चाहनेहरूका लागि दरिलो आड बन्यो दलका संगठनहरू ।
त्यही कारणले राजनीतिक दलमा जसको पहुँच रह्यो उसैले यो संस्थामा आफ्नो स्थान सुरक्षित गर्दै गयो । यसका अनेकौं राम्रा पक्ष छन् । जस्तो गैरआवासीय नेपालीसम्बन्धी नीति, नियम बनाउँदा दबाब र लबिङ गर्नु सजिलो भयो । खासगरी गैरआवासीय नागरिकताको विषय अगाडि सार्न, प्रवासी नेपालीको मताधिकारको व्यवस्था पहल गर्न निरन्तर खबरदारी गर्न सहज भयो । तर, यसले यो संस्थामा रुचि राख्ने, संस्थालाई गतिशील र अझ प्रभावकारी बनाउने क्षमता र दृष्टिकोण भएका तर दलगत पहुँच नभएकाको लागि संस्थाको नेतृत्व टाढाको विषय बन्दै गयो । चुनाव जित्न नेपाली राजनीतिक दलहरूले अपनाउँदै आएका हतकण्डा संघको चुनावहरूमा जताततै देखियो । खर्चिलो चुनाव, सदस्यता अनुमोदन, आजीवन सदस्यको अद्यावधिजस्ता विषयको विवाद भर्खरै चुनाव सम्पन्न भएको देशहरूमा सर्वत्र छताछुल्ल भयो ।
यी र यस्तै विवाद र अवस्थाको बीचमा सर्वोच्च अदालतले एनआरएनए जत्तिकै हैसियत हुनेगरी अरू पनि संस्था खोल्ने बाटो खोलिदिएको छ । अदालतको यो संक्षिप्त निर्णयसँगै गैरआवासीय नेपाली संघको नेतृत्व र नेतृत्वमा पुग्न कसरत गर्नेहरूको ठूलो चिन्तामात्रै व्यक्त गरेका छैनन् गैरआवासीय नेपालीलाई ठूलै आपत आइलाग्दो ढंगले व्याख्या गर्दैछन् । यो व्याख्यालाई दुईवटा कोणबाट हेर्न सकिन्छ । एउटा त एनआरएनए नेतृत्वको असफलता नै हो – अर्को समय र समाजको गतिशीलतालाई स्वीकार गर्न गाह्रो मान्ने यसका अभियन्ताको सोच । जब संस्था सर्वस्वीकार्य हुन छाड्छ, संस्थाले सबै पक्षलाई समेट्न छाड्छ तब विकल्पको खोजी हुन्छ । यो संस्थालाई गतिशील, परिमार्जित र परिष्कृत र समावेशी बनाउन सक्ने हो भने अन्य वैकल्पिक संस्था अगाडि आउने सम्भावना स्वत: न्यून हुन्छ । त्यसो भएन भने वैकल्पिक संस्थाको उपस्थिति स्वाभाविक भएर जान्छ । समाज गतिशील छ – सबैलाई थाहा छ । कुनै पनि विचार, संस्था वा अवधारणा शाश्वत हुन्न, अटल हुँदैनन् । विकल्प आउँछन् । विकल्पहरूले नै स्थापित विचार र संस्थालाई परिस्कृत गर्दै जाने चुनौती र अवसर प्रदान गर्छ ।
समय र समाजअनुकूल आफ्नो सान्दर्भिकता राख्न सके विकल्प पनि विकल्पमात्र रहन्छ । 'मूलधार' बन्दैन । सान्दर्भिक र गतिशील बनाउन नसके कुनै पनि विचार सदाको लागि रहँदैन– एनआरएनएमात्रै किन ?
अहिलेलाई राजनीति किन गरेको? संगठन किन गरेको ? भनेर प्रश्न गर्नुभन्दा सुसंस्कृत राजनीतिगर्न प्रोत्साहन गरौँ । दलगत गतिविधि गर्नुपर्छ भन्ने छैन । राजनीति अविछिन्न मानवीय स्वभाव हो । मूल्य र संस्कारसहितको राजनीतिले हामीलाई परिष्कृत नै बनाउँछ । समाजलाई अगाडि नै बढाउँछ ।