समाज परिवर्तनशील छ । समाजमा भइरहने उतारचढावले मानवीय स्वभावमा पनि परिवर्तन आउने गर्छ ।
सामान्यमात्र परिवर्तन हुनुलाई स्वाभाविक मानिन्छ तर धेरै नै परिवर्तन भएमा हामीले विचार गर्नुर्पछ । विशेषगरी बालबालिकाको स्वभावमा ठूलो परिवर्तन भए बेलैमा विचार गर्नुपर्छ ।
बालबालिकामा देखिने समस्यामध्ये अवसाद ‘डिप्रेसन’ पनि एउटा हो । डिप्रेसन एउटा सामान्य तर जटिल चिकित्सा अवस्था मानिन्छ । यसले मानिसले के सोच्छ र उसले के गर्छ भन्नुका साथै यसले उसमा कस्तो असर पारेको छ भनी देखाउँदछ । सरल शब्दमा यसलाई ‘मानसिक तनाव भन्न सकिन्छ ।
अमेरिकन साइक्याट्रिक एसोसियसनको अनुमानअनुसार हरेक १५ जना युवामध्ये १ जना डिप्रेसनको सकिार भएका हुन्छन् । यस्तै ६ जनामध्ये १ जनाले जीवनमा कुनै न कुनै बेला डिप्रेसनको अनुभव गरेको भन्ने एसोसियसनकै एउटा अध्ययनले देखाएको छ ।
बालबालिका डिप्रेसनको सकिार भएका छन् कि छैनन् भनेर थाहा पाउने विभिन्न उपाय छन् । बालबालिका अति नै चञ्चल स्वभावका हुन्छन् । उनीहरू सानो कुरामा छिटै खुसी हुने र आफूले भनेको नभए छिटै दु:खी हुने गर्छन् ।
उनीहरुमा सानो कुराले पनि ठूलै परिवर्तन ल्याउन सक्छ । डिप्रेसनले गाँज्न थालेपछि उनीहरुको बानी व्यवहारमा अस्वाभाविक परिवर्तन देखिन थाल्छ । उनीहरु एकोहोरो हुने, कहिले खाना कम खाने त कहिले बढी खाने, कहिले एक्कासि रमाउने र कहिले एक्कासी रिसाउने, झर्कने, सधैँ दिक्दार माने, बस्छन् ।
निराश भएर बस्ने, हरेक कुरामा विरोधको भावना देखाउने गर्न थाल्छन् । यस्ता बालबालिकाको निद्रामा पनि परिवर्तन हुन्छ । जस्तै – कहिले धेरै सुत्ने वा कहिले एकदम कम सुत्ने, कुनै पनि कुरामा धेरै बेरसम्म ध्यान दिन नसक्ने, ज्यादै थकाइ महसुस लाग्नेजस्ता विभिन्न शारीरिक समस्या देखिन्छ ।
डिप्रेसनका सिकार भएका बालबालिकामा नकारात्मक सोच बढी हुने गर्छ ।
उनीहरुमा आत्महत्या गर्ने सोचको पनि उत्पन्न हुनसक्छ । यस्ता बालबालिका विनाकारण रुने, डराउने, बेचैन रहने, एकान्तमा बस्न रुचाउने, विद्यालयमा अरुसँग घुलमिल नहुने, परिवारका सदस्यसँग आवेशपूर्ण व्यवहार गर्ने स्वभावका हुने गर्छन् ।
सामाजिक परिवेशले पनि बालबालिका डिप्रेसनमा गएका हुनसक्छन् । घरपरिवारका सदस्य वा आफन्तबाट हुने हिंसाले गर्दा पनि धेरै बालबालिका मानसिक रोगी हुन पुग्छन् । विभिन्न अध्ययनले देखाएअनुसार केटाभन्दा केटीहरुमा बढी डिप्रेसन देखिने गर्छ ।
बालबालिका सरल स्वभावका हुन्छन् । उनीहरुको ससानो खुसीमा पनि सहभागी भएर उनीहरुको हौसला बढाउनुपर्छ । बालबालिकामा डिप्रेसनको संकेत देखिएमा अभिभावक, घर परिवार, छिमेकी, साथीले त्यसको कारण बुझेर समाधान गर्न विशेष पहल गर्नुपर्छ ।
बालबालिकाको रुचि र चाहनालाई केन्द्रमा राखेर तिनको खुसीका लागी विभिन्न सृजनात्मक क्रियाकलाप गर्नुपर्छ । अभिभावकले पनि आफ्ना बालबच्चालाई खुलेर कुरा गर्ने वातावरण बनाउनुपर्छ ।
बेलाबेलामा आफ्ना अनुभव सुनाउनुका साथै उनीहरुको पनि साथीसंगातीका कुरा सोध्ने र ध्यान दिएर सुनिदिने गर्नुपर्छ । उनीहरुका राम्रा कुराको खुलेर प्रशंसा गर्नुपर्छ । सबै बालबालिका कुनै न कुनै विशेष गुण लिएर जन्मेका हुन्छन् । यसैले उनीहरुलाई अरु बच्चासँग दाँज्नु हँुदैन । अरुसँग दाँज्ने गर्नाले उनीहरुमा निराशा उत्पन्न हुन सक्छ ।
पढाइको बोझ दिने, जबरजस्ती लेखपढ गर्न बाध्य बनाउनेजस्ता क्रियाकलापले पनि बालबालिकामा जटिलता पैदा गरिदिन सक्छ । यस्तो कारणले बालबालिकामा समस्या भइरहेको छ भने यसको सृजनात्मक समाधान खोज्नुपर्छ ।
अहिलेका विद्यालयले बालबालिकाको अवस्थाअनुरुप सही ढंगले परामर्श दिने कार्यक्रम पनि संचालन गर्नेगरेका हुन्छन् । कुनै कुनै विद्यालयले त समयसमयमा अभिभावकलाई पनि विभिन्न तालिमको व्यवस्था गर्दै आएका छन् ।
आफ्ना बालबालिकालाई सकेसम्म प्राकृतिक वातावरणमा खेल्ने र घुलमिल हुने अवसर प्रदान गर्नुपर्छ । प्रकृतिको सौन्दर्यमा रमाउन सक्ने बनाउनुपर्छ । उनीहरुमा सकारात्मक सोचको विकास हुने परिस्थिति निर्माण गर्नुपर्छ । आफ्नो संस्कार र संस्कृतिको सही परिचय दिनुपर्छ ।
समाजमा व्याप्त राम्रा कुराहरु यसो भएर राम्रो र नराम्रा कुरा यो कारणले नराम्रो भनी कार्यकारण खुलाएर विस्तारमा जानकारी दिनुपर्छ । बालबालिकामा डिप्रेसन भएको शंका लाग्नेबित्तिकै त्यसको समाधानतर्फ लाग्नुपर्छ । डिप्रेसनबाट छुटकारा पाउने विभिन्न विधि छन् ।
तीमध्ये पनि अभिभावक र बालबालिका अन्तक्र्रिया (प्यारेन्ट चाइल्ड इन्टरएक्सन थेरापी) महत्त्वपूर्ण विधि मानिन्छ । यस विधिअनुसार बच्चाको उमेर, मानसिकताअनुसार उनीहरूलाई बुझ्ने कोसिस गरिन्छ । यस थेरापीमा बच्चा र आमाबाबुको सम्बन्ध कस्तो छ भन्ने जानकारी लिइन्छ ।
बालबालिका र आमाबुबाको सम्बन्ध बारे विस्तृत जानकारीपछि समस्या कहाँ रहेछ भनेर पत्ता लगाउन सजिलो हुन्छ । कहिले काहीँ अभिभावक पनि भ्रममै रहेका हुन्छन् । उनीहरुलाई लाग्छ – मैले मेरो बच्चाको एकदमै ख्याल राखेको छु । उसका हरेक इच्छा चाहना पूरा गरिदिएको छु ।
यस्तो ठानेर अभिभावकहरु ढुक्क भएर बसेका हुन्छन् । बच्चाको मनमा भने अर्कै कुराले सताइरहेको हुन्छ । अभिभावकले बच्चाको आवश्यकतामात्र पूरा गरेर हुँदैन । उसको भावना पनि बुझ्ने र महत्त्व दिने गर्नुपर्छ ।
यस अभिभावक र बालबालिका अन्तक्रिया विधिबाट थाहा हुने बच्चाको मनअनुसार आमाबाबुले व्यवहार गरे समस्या समाधान हुन्छ । डिप्रेसन सामान्यजस्तो देखिए पनि यसले विभिन्न समस्या उत्पन्न गर्छ । यसबाट छुटकारा पाउन मानिसहरु योग, ध्यान पनि गर्छन् ।
यसलाई प्राकृतिक रुपबाट पनि हटाउन सकिन्छ । ती यस प्रकार छन् – सकेसम्म कुनै पनि कुराको चिन्ता नलिने, नियमितरुपमा शारीरिक व्यायाम गर्ने, खानेकुरामा विशेष ध्यान दिने, पर्याप्त मात्रामा सुत्ने, जाँड, रक्सी वा मादक पदार्थ नखाने, आफ्ना कुरा घरपरिवारसँग खुलेर भन्ने, कुनै समस्या भए आफ्नाहरुसँग छलफल र अन्तक्रिया गर्ने इत्यादि ।
आफना बालबालिकामा डिप्रेसनको समस्या भएमा अभिभावकले विशेष ध्यान दिनुपर्छ । बालबालिकालाई सधैँ खुसी राख्ने कोसिस अभिभावकले गर्नुपर्छ । किनभने बच्चा खुसी भए उसमा मानसिक तनाव पनि कम हुँदै जान्छ । उसले आफ्ना समस्या खुलेर भन्न सक्छ ।
उसमा सृजनात्मकताको विकास हुनपुग्छ । आफ्ना बालबच्चाको शारीरिक र मानसिक स्वास्थ्यमा मूलतः अभिभावककै विशेष भूमिका हुन्छ ।