काठमाडौं । जुलाईयता नेपालमा डेंगी संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार २०२३ जनवरीयता १४ अगस्टसम्म १३ हजार २९२ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमणका कारण १२ जनाको मृत्यु भइसकेको छ । सुनसरीको धरान उपमहानगरपालिकामा मात्रै १० हजार ४८३ जनामा संक्रमण देखिएको छ ।
जुलाईयता आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टिभाइटिस देशभर फैलिएको छ । अस्पतालका ओपीडीमा आउनेमध्ये ८० प्रतिशतसम्म बिरामीमा यो समस्या देखिएको प्रमुख आँखा अस्पतालहरूको तथ्यांक छ ।
बालबालिकामा भाइरल कन्जन्टिभाइटिस संक्रमण उच्च भएपछि काठमाडौं उपत्यकामा मात्रै डेढसय बढी विद्यालय बन्द भएका छन् । तर, संक्रमण फैलिएको डेढ महिना बितिसक्दा पनि स्वास्थ्यका कुनै निकायसँग कन्जन्टिभाइटिस संक्रमितको तथ्यांकसमेत छैन ।
संक्रमणजन्य रोगकाके अवस्था, तथ्यांक संकलन, नयाँ भाइरस परीक्षण, नियन्त्रणको पहल आदिको जिम्मेवारी ईडीसीडीकै हो । तर, हालसम्म कन्जन्टिभाइटीसको कुनै तथ्यांक संकलन नभएको र अहिले अआएर आँखा अस्पतालहरूसँग समन्वय भइरहेको ईडीसीडीका एक कर्मचारी बताउँछन् ।
स्वास्थ्य मन्त्रालयबाट दिनहुँ प्रकाशित हुने सचेतनामूलक सामग्रीमा हरेक बर्खायाममा आँखाका विभिन्न संक्रमण हुने गरेको र सचेत रहनुपर्ने उल्लेख हुन्छ । अर्थात् यसलाई मौसमी रोगका रूपमा सरकारले नै व्याख्या गरेको छ ।
अझ सरकारी प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले साउन २६ गते सार्वजनिक गरेको कन्जन्टिभाइटिससम्बन्धी रिपोर्टमा १० वटा नमुना परीक्षण गरिएको लाजमर्दो विवरण उल्लेख छ । पाटन अस्पतालबाट संकलन गरिएका १० वटा नमुना परीक्षण गर्दा आठवटामा इन्टेरोभाइरस भएको पुष्टि भएको छ ।
"विभिन्न समयमा हुने संक्रमणहरू एडिनो र हरपिस भाइरसका कारण हुने गरेको छ," रिपोर्टमा भनिएको छ ।
देशभर फैलिएको संक्रमणका लागि एउटै अस्पतालको नमुना त्यसमा पनि जम्मा १० वटा संकलन र परीक्षण गरी झारा टार्ने प्रवृत्ति सरकारमा देखिन्छ ।
डेंगी संक्रमणका कारण १० जना नागरिक गुमाएको धरानमा केही साताअघि दैनिक एकहजार सातसय जनासम्ममा संक्रमण पुष्टि हुने गरेको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेता बताउँछन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप अधिक बढेपछि आठवटा सवास्थ्य संस्थालाई डेंगी उपचार केन्द्र तोकियो तर जनशक्ति पर्याप्त भएननन् ।
साउन दोस्रो सातामात्रै कोसी प्रदेश सरकारले एक चिकित्सक र एक नर्स पठाएपछि उपमहानगरले आफ्नै मातहतमा १५ बेडको स्वास्थ्य संस्थामा निःशुल्क उपचार गराइरहेको मेहेता बताउँछन् ।
यता ईडीसीडीबाट गएको विज्ञ टोलीले भने धरानमा डेंगी उपचारमा कुनै कठिनाइ नभएको रिपोर्ट बुझाएको थियो । त्यसो त पछिल्ला वर्षहरूमा केन्द्र सरकार नीति निर्माण, पैरवी र निर्देशनमात्रै आफ्नो जिम्मेवारी भएको भन्दै महामारीजन्य रोग नियन्त्रणमा पन्छिँदै आएको छ ।
सरकारले डेंगी महामारी नियन्त्रणका लगि आर्थिक वर्षको सुरुवातमा तीन करोड १३ लाख रुपैयाँ विनियोजन गरेको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहका अनुसार सो रकमबाट प्रत्येक प्रदेशलाई १९/१९ लाख रुपैयाँका दरले बजेट पठाइएको छ ।
तर, स्थानीय तहहरूसँग अझै प्रभावकारी समन्वय हुन नसकेको उनी स्वीकार गर्छन् । जसले गर्दा डेंगी नियन्त्रणका कार्यक्रम अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकेका छैनन् ।
त्यस्तै, सरकारले डेंगीलाई महामारीको रुपमा फैलिन नदिन डेंगी नियन्त्रण रोकथाम तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । यसले तीनै तहका सरकारको जिम्मेवारी बाँडफाँट गरिएको छ ।
जसअन्तर्गत केन्द्र सरकारको काम नीति योजना निर्माणमा मुख्य भूमिका रहेको र रोकथामका लागि समुदायस्तरमा चलाउने कार्यक्रमको जिम्मा स्थानीय तहको भएको ईडीसीडीका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् । तर, हरेक महामारीमा केन्द्र सरकार निर्देशनमा मात्रै सीमित रहने र तीन तहका सरकारको समन्वय नहुँदा रोग नियन्त्रणमा कठिनाइ हुने गरेको स्थानीय तहहरूको गुनासो छ ।