site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुनील शर्माले भने– संसद्‌मा बोल्न नदिए विद्रोह, प्रकाशशरणसँग लिनुदिनु छैन 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले आफूलाई उत्तर कोरियाको शैलीमा पक्राउ गरिएको बताएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परी उनी हालै थुनामुक्त भएका थिए ।

आइतबार पार्टी संसदीय दलको बैठकमा उनले भने, “पक्राउ पुर्जी पनि नदिईकन, पक्राउ भएको तीन घण्टासम्म जब मैले भित्र झगडा गरेँ, उहाँहरूले हातपात गर्नुभो । त्यति हुँदा पनि बोलिरहेको थिएँ ।”

पक्राउ परेको तीन घण्टापछि मात्र आफूलाई पुर्जी दिइएको उनले बताए । थुनामा राख्ने पुर्जी भने आफूले भोलिपल्ट मात्र पाएको उनको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पुर्जी पहिले नै दिनुपर्ने भए पनि २३ घण्टापछि मात्र दिइएको भन्दै उनले आपत्ति जनाए ।

“यो आतंककारी सरकारको बारेमा जानकारी गराउन चाहन्छु, यो सरकारमा हामी छौँ कि छैनौँ ?,” उनले बैठकमा भने, “म कांग्रेसको सांसद हुँ, मैले सुन तस्करी गरेको छैन, मैले मान्छे मारेको छैन, हातपात नगर्नुस् भन्दा दुईपटक हातपात गर्नुभो ।”

उनले पार्टी सभापति शेरबहादुर देउवा आफ्नो पितासमान भएको पनि बताए । पार्टी सभापतिलाई यसपछिको प्रधानमन्त्री बनाउने विषयमा आफूले बोलेका कुरा गल्ती भएको भए फिर्ता लिने समेत उनले बताए ।

उनले संसद्‌मा प्रमुख सचेतक रमेश लेखकले बोल्न समय नदिएपछि बाहिर मिडियामा बोलेको उल्लेख गरे । बजेटको बेलामा चित्त नबुझेकाले विद्रोह गर्न खोजेको समेत उनले सुनाए ।

संसद् बैठकमा बोल्न समय नदिए विद्रोह गर्ने चेतावनी उनले दिए । “एउटा सांसदलाई पञ्चायतजसरी बोल्नै दिनु भएन भने त म विद्रोह गर्छु । म सभामुखसँग टाइम माग्छु, दिनु भएन भने उभिन्छु,” उनले बैठकमा भने ।

सांसद शर्माले आफूले गृहमन्त्री र अर्थमन्त्रीका विषयमा संसद्‌मा नीतिगत प्रश्न उठाएको स्पष्ट पारे । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आफ्नो लिनुदिनु केही नरहेको उनले बताए ।

“प्रकाशशरण दाइसँग केही छैन लिनुदिनु । भन्सारबाट क्विन्टल सुन आउने, भारत पुग्ने, पुलिस प्रशासनको नेतृत्व गर्ने गृहमन्त्रीलाई थाहा नहुने,” उनले भने, “भन्सारमा आफ्ना स्टाफ पठाएर मेकानिजम राखेका छन्, अर्थमन्त्रीलाई थाहा नहुने भन्ने कुरा नेपाली जनताले पत्याउँछन् त ? यो कुुरीकुरी गर्ने विषय होइन ? मैले नीतिगत कुरा गरेको हो । प्रकाशशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ तस्कर हो भनेको होइन । गृहमन्त्रीले पनि तस्कारी गर्नुभयो भनेको होइन ।”

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्