हाम्रो बस साँझ ४.३० बजेतिर माण्डलेबाट रङ्गुनतर्फ लाग्यो । माण्डलेबाट रङ्गुनको बसको सफर ज्यादै लामो सफरका रूपमा लिइन्छ । पहिले रङ्गुनबाट माण्डले आउँदा पनि बसबाट नै आएको हुँदा हामीलाई बाटोको अनुभव थियो ।
म र डा. तुलसीप्रसाद भट्टराई सीटको एउटै लाइनमा बस्यौँ । हरिश्चन्द्र घिमिरे पछिल्लो सिटमा बस्न पुगे । बाटोभरि हामीले अहिलेसम्म गरेका यात्राको अनुभवहरू एक अर्कासँग साटासाट गर्यौँ ।
बसको सफरमा एउटा कुरा निस्केको थियो, त्यो के हो भने जनतालाई सुसूचित गर्ने सबैभन्दा प्रभावकारी माध्यम भनेको संचार क्षेत्र हो । संचारमा पनि पत्रकारिता सबैभन्दा प्रभावकारी माध्यम हो ।
बर्मामा सैनिक शासन भएकोले संचारमा पूर्ण प्रतिबन्ध लागेको छ । कुनै पनि कुराको सही सूचना जनतालाई हुन सकेको छैन । एउटा अखबार निस्किन्छ । त्यसमा पनि सैनिकहरूको इतिवृत्तान्त बाहेक केही हुँदैन ।
बर्मा संचारको दृष्टिले सत्रौँ शताब्दीतिर छ कि जस्तो अनुभूति हुन्छ । संचारकै कुरा हुँदा डा. तुलसीप्रसाद भट्टराईले हाम्रै देशको पत्रकारिताको कुरा पनि उठाउनुभयो ।
उहाँको भनाइ थियो– २०४६ सालपछि सबैभन्दा विकसित क्षेत्र भनेको देशको पत्रकारिता नै हो । तर, यस क्षेत्रमा पनि विसंगतिहरू थुप्रै छन् । पत्रकारिता राज्यको चौथो अंगको रूपमा विकसित नभएर यो पार्टीको मुखपत्रको रूपमा विकसित भएको छ ।
जति पनि अखबारहरू छन्, तिनीहरूको सम्पूर्ण अभिव्यक्ति पार्टी वा पार्टीको समूहसँग आवद्ध भएर प्रकाशन भएका छन् । यसले जनतालाई सही सूचना प्रदान गर्ने भन्दा दिग्भ्रमित गर्नमा मद्दत पुर्याएको छ कि ? भन्ने प्रश्न पनि बेलाबेलामा उठ्ने गरेको छ । किनकि, एउटै घटनालाई अखबारहरूले आ–आफ्नो किसिमले विश्लेषण गरेर समाचारलाई तोडमोड पनि गरेका छन् ।
डा. तुलसीप्रसाद भट्टराईको उपरोक्त कथनको समर्थन गर्दै हरिश्चन्द्र घिमिरेको कथन थियो— पार्टीमुखी र सरकारमुखी पत्रकारिताले अन्ततः अधिनायकवादी शैलीलाई नै बल पुर्याउँछ । यसतर्फ पत्रकारहरू चनाखो र सजक हुनुपर्छ भन्ने उनको तर्क थियो ।
डा. तुलसीप्रसाद भट्टराई र हरिश्चन्द्र घिमिरेहरूको तर्कसँग म असहमत थिएँ । वास्तवमा नेपालमा २०४६ सालपछि सबैभन्दा विकसित भएको क्षेत्र पनि पत्रकारिता नै हो ।
तर, यस क्षेत्रमा सरकारी सोचमा भने कुनै परिवर्तन आएको देखिएन । जस्तै, प्रत्येक राजनीतिक पार्टी सत्तामा नरहँदा गोरखापत्रलाई निजीकरण गर्नुपर्छ भनेर कुर्लिन्छ । तर, जब सत्तामा पुग्छ, गोरखापत्रको निजीकरण थान्को लागेर बस्छ ।
आखिर सरकारलाई अखबार किन चाहियो ? प्रजातान्त्रिक मुलुकमा सरकारले अखबार चलाएको उदाहरण कहीँ छैन । नेपालमा नै यस्तो किन भइरहेछ ? वास्तवमा मुलुकमा प्रजातन्त्र आए पनि सत्तामा बस्नेहरूको सोच र शैलीमा कुनै परिवर्तन आएको छैन भन्ने यो एउटा उदाहरण हो ।
बर्मामा सैनिक सरकार छ, उसलाई विपक्षी दबाउनु छ र उसले अखबार निकाल्छ । बर्मा मात्र किन, सैनिक शासन र अधिनायकवादी शासनशैली भएको देशमा प्रत्येक सरकारले अखबार निकाल्छ ।
तर, प्रजातान्त्रिक मुलुकमा सरकारले अखबार चलाउनु विडम्बना नै हो । यसतर्फ सरकारले आफ्नो सोचमा परिवर्तन ल्याउने हो कि ?
सरकारको सोचसँगसँगै संचार क्षेत्रमा लाग्नेहरूको सोचमा पनि परिवर्तन आउनु आवश्यक छ । किनकि, पार्टीको निर्देशनमा पत्रकारिता गर्दा सही सूचना प्रवाह हुन सक्दैन ।
राज्यको चौथो अंगको रूपमा गनिने पत्रकारिताले पार्टी र समूहको निर्देशनमा पत्रकारिता गर्दा राज्यको थुप्रै महत्त्वपूर्ण कुरा गौण हुनजान्छ । पार्टीको हितभन्दा राज्यको हित जहिले पनि माथि हुन्छ । पत्रकारिता गर्नेहरूले यो कुरा बुझ्नुपर्छ ।
डा. तुलसीप्रसाद भट्टराई, हरिश्चन्द्र घिमिरेसँग यस्तैयस्तै विचारोत्तेजक छलफलहरू गर्दै हामीले बसको सफर टुंग्यायौँ । हामी रङ्गुन पुग्दा भोलिपल्ट दिनको १० बजिसकेको थियो ।
रङ्गुनको दुई दिनको अझै बसाइ थियो । रङ्गुन पुगेकै दिन त्यहाँका नेपालीहरूले देवी पाञ्चायन मन्दिरमा एउटा कार्यक्रमको आयोजना गरेका थिए । त्यस दिनको कार्यक्रममा पं. डिल्लीराम चौलागार्इं, हरिप्रसाद काफ्ले, नरपति पौडेल, यामलाल कोइराला, छविलाल वाग्ले, नीमलाल पाण्डे, दयमन्ती पोखरेल, कुष्णलाल पोखरेल, वसुन्धरा घिमिरे, सीतादेवी गौतम, रामप्रसाद पोखरेल लगायत थुप्रै नेपालीहरूको उपस्थिति थियो ।
एकदमै अनौपचारिक रूपमा शुरू भएको त्यस कार्यक्रममा पं. डिल्लीराम चौलागाईंले आँखाभरि बर्र आँसु झारी जुन अभिव्यक्ति दिनुभयो, त्यसले कार्यक्रमलाई एकछिन स्तब्ध त बनायो बनायो, हामीलाई समेत भावुक बनाइदियो ।
८० वर्षीय पं. डिल्लीराम चौलागाईंको भनाइ थियो– नेपालबाट आउने प्रत्येक व्यक्ति आफ्नो पिताजी आएजस्तो लाग्छ । नेपाल गएर पशुपतिनाथको दर्शन गर्न नपाए पनि तपाईंहरूको दर्शनले हामी धन्य भएजस्तो लाग्छ ।
८० वर्षीय चौलागाईंको त्यस अभिव्यक्तिपछि मैले उनलाई हात समात्दै भनेँ— बा, यस्तो कुरा नगर्नुस् । हामी तपाईंको नातिसमान हौँ । हामी यति टाढाबाट आएर तपाईंहरूलाई भेट्न पाउनु हाम्रो पनि सौभाग्य हो ।
डा. तुलसीप्रसाद भट्टराईले पनि चौलागाईंजीलाई धेरै सम्झाउनुभयो । उनको आँसु बग्ने क्रम भने रोकिएन ।
डिल्लीराम चौलागाईंको उपरोक्त अभिव्यक्ति प्रवासमा बस्ने सम्पूर्ण नेपालीहरूको अभिव्यक्ति हुनसक्छ । आफ्नो मातृदेशभन्दा टाढा वेशभूषा, संस्कृति, कलालाई चटक्क छोडेर बस्नुपर्दा कुन देशको नागरिकको मन चुँडिदैन ?
भाषा, वेशभूषा, संस्कृति र कलाको प्रभाव भनेको नै यही हो । चौलागाईंजीले ८० वर्षको उमेरमा आफ्नो देशको नेपालीलाई भेट्दा स्मृतिमा ओझेल भएका कुराहरू सम्झेर रुनुभएको होला भन्ने हामीलाई लाग्यो ।
साँच्चै बर्माको भ्रमण कार्यक्रमको अन्तिम मोडमा आएर हामी समेत भावुक भयौँ । यो घटना नबिर्सिने घटनाको रूपमा मेरो जीवनमा रहिरहनेछ ।
देवी पाञ्चायन मन्दिरमा सबैसँग चिनजान र परिचयको कार्यक्रम गरेपछि हामीले बर्माको यात्रा गर्नुको उद्देश्य त्यहाँ उपस्थित नेपालीहरूलाई स्पष्ट पार्यौं ।
हामीले भन्यौँ— हामी बर्मास्थित नेपालीहरूको जनजीवन, नेपाली भाषा, संस्कृति र कलाको अध्ययन र तपाईंहरूसँग अन्तरक्रिया गर्न आएका हौँ । हामीले यहाँ बस्दाको छोटो अवधिमा नेपालीहरूबाट पाएको माया हामीले बिर्सन सक्नेछैनौँ ।
हाम्रो यो अभिव्यक्तिले त्यहाँ उपस्थित नेपालीहरू ज्यादै खुशी भएको हामीले अनुभव गर्यौं ।
देवी पाञ्चायन मन्दिरमा चिनजान, परिचय र अन्तरक्रिया कार्यक्रमपछि हामीले देवीको आरती गर्यौं, फूलप्रसाद ग्रहण गर्यौँ, जसरी अन्य मन्दिरमा हामीले गर्दै आएका थियौँ ।
देवी पाञ्चायन मन्दिरको कार्यक्रमपछि हाम्रो अर्को कार्यक्रम महाम्यामणि मन्दिरमा राखिएको थियो । बर्माको दोस्रो ठूलो मन्दिरको रूपमा स्थापित महाम्यामणिको दर्शनको लागि त्यहाँस्थित हिन्दूहरूको ठूलो भीड लाग्ने गर्छ ।
देवी पाञ्चायन मन्दिरमा धेरै समय खर्चिएकोले त्यहाँ दर्शन, साधारण चिनजान र परिचयको कार्यक्रम गरी हामी मन्दिरबाट निस्क्यौँ । मन्दिरबाट निस्किँदा घाम ढल्ने क्रममा थियो ।
माण्डलेबाट रड्गुन पुगेकै दिन महामहिम राजदूत सच्चितशमसेरले आजको साँझको डिनर कार्यक्रम ड्रेगन होटेलमा भएकोले सात बजे पुग्ने गरी बाहिरी कार्यक्रम टुंग्याउन अनुरोध गर्नुभयो ।
उहाँको अनुरोधबमोजिम हामीले कार्यक्रम टुंग्याउँदा जस्तो माथि भनियो, घाम ढल्ने क्रममा थियो । हतारहतार गरेर हामी डेरामा गयौँ र त्यहाँबाट फ्रेस भई सिधै ड्रेगन होटेलमा पुग्यौँ । ड्रेगन होटेल पुग्दा सात बजेको थियो ।
ड्रेगन होटेल ज्यादै आकर्षक ढंगले तालको बीचमा निर्माण गरिएको होटेल रहेछ । रङ्गुनकै राम्रो होटेलमा गनिने त्यस होटेलको विशेषता के रहेछ भने त्यहाँ पर्यटकहरूलाई आकर्षण गर्न बर्मा र चाइनिज नृत्य दिनहुँजसो देखाइँदो रहेछ ।
एउटा ठूलो हलमा सजिएको होटेलको रेस्टुरेन्टमा सम्पूर्ण ग्राहकहरूले हेर्न सक्ने गरी व्यवस्था गरिएको नृत्यको पनि प्रशंसा गर्नैपर्छ । त्यसदिन महामहिम राजदूतसँग बर्माका नेपालीहरूको जनजीवन र नेपाली भाषा, संस्कृति र कलाको लागि के कस्तो सहयोगहरू पुर्याउन सकिन्छ, त्यस विषयमा छलफल भएको थियो ।
होटेलबाट निस्कँदा रातको १० बजिसकेको थियो ।
(विनय रावलको ‘ठूलदिदीको देशबाट’ ।)