site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुरक्षाको आकाश ओडेको डोल्पो !

डोल्पोको भूगोल एउटै हो । देखिने शे–फोक्सुण्डो पनि त्यही हो । हिमाल तिनै हुन् । दृश्य पनि तिनै हुन् । तर, दृष्टिकोण विराट् भएपछि अँध्यारोभन्दा उज्यालो नै बढी देखिने रहेछ । जबजब उज्यालोको साम्राज्य फैलिन्छ, तबतब अन्धकार स्वतः विलुप्त हुन्छ ।

मरुभूमिको पहाड छातीमा बोकेर नांगो देखिएको डोल्पोलाई भवानी खतिवडाका दृष्टिले आकाश ओडेको सुरक्षित डोल्पो देख्यो । आकाश ओड्नु भनेको त भरिपूर्ण हुनु हो । परिपूर्ण हुनु हो । सुरक्षित हुनु हो । हो, डोल्पा सुरक्षित छ । डोल्पालाई हामीले परबाट दीनहीन र पछौटे देखे पनि, अभावको सारंगी रेटेको सुने पनि, अशिक्षाको डरलाग्दो भुमरी उठेको देखे पनि आखिर डोल्पो अनाथ रहेनछ ।

नियात्राकार ‘आकाश ओडेको डोल्पो’ लिएर आएकी छन्, नेपाली साहित्यको आँगनमा । यसमा डोल्पाको एघारदिने यात्राको कथा छ । साहित्यसुधा छ । कर्णालीको सुमधुर संगीत छ । अक्षरअक्षरमा साहित्यको सरोवर छ । कविताप्रतिको अनुराग छ । हार्दिक सम्बन्धहरूको अनुकरणीय कथा छ । नारीस्रष्टाको कठिन यात्रा गर्ने साहस छ । योजना छ । संगठन छ । संकल्प छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यात्रामा भेट भएका स्थानीयहरूसँग आत्मीय व्यवहार छ । सहयोगी हृदयहरूप्रति सद्भाव छ । मानवीय जीवनलाई सुन्दर र शान्तमय बनाउने महत्त्वपूर्ण कलाकृतज्ञताले भरिपूर्ण छ, ‘आकाश ओडेको डोल्पो ।’

नियात्राकारको भाषाशैली र शिल्पको बेजोड संगम छ । खतिवडाको ‘आकाश ओडेको डोल्पो’ भन्दा अगाडिका दुई कृति ‘घामभन्दा पहिले’ र ‘चारखोलीको आँगनी’ पढेर नतमस्तक भएकी थिएँ । यात्रासाहित्यलाई छन्दमा लयबद्ध पार्न सक्ने भवानीलाई सरस्वतीको आशीर्वाद पक्कै छ ।

नरिवलजस्ती छन् भवानी, बाहिर कडा भित्र नरम । भन्छिन्– नारीस्रष्टाहरू कुनै पनि हालतमा कमजोर नबनून् । नारीका कृति उत्कृष्ट बनून ।

कोकिल कण्ठकी धनी भवानी छन्दमा कविता पनि उस्तै दमदार वाचन गर्छिन् । यो यात्राभरि कवि खतिवडा कवितामार्फत पोखिएकी छिन्, डोल्पोको सौन्दर्यमा ।

जातीय छुवाछूतको डरलाग्दो अवस्थामा रोएकी छिन् । प्रेमिल चरीको प्रेमालापमा प्रेमिल भएकी छिन् । मन्दिर, चैत्य, गुम्बा देख्दा शिर निहु¥याउँछिन् । सहयात्रीहरूलाई ऊर्जा सम्प्रेषित गर्छिन् । शे–फोक्सुण्डोका रूपमा विमुग्ध हुँदै धन्यधन्य बन्न पुग्छिन् ।

प्रकृतिको लीला देखेर घरी नाच्छिन्, घरी कविता कोर्छिन् । घरी पूर्वको भाकाले पश्चिम थर्काउँछिन् । मानवतावादी मन बोकेर उकालिएकी भवानी धेरै ठाउँमा सम्बन्ध कायम गर्न सफल भएकी छिन् । उनको स्वभावले नै होला, जता गए पनि प्रेमपूर्ण सत्कार गर्ने आत्मीय पात्रहरू भेट्छिन् ।

कहिले स्याउ खेतीका समस्या र चुनौती समाधान गर्न बारीमै पुग्छिन् । हृदयमा उत्साह भएपछि थकाइ पनि नलाग्दो रहेछ । ऊर्जाशील स्रष्टा उकालो, ओरालो र भिरालो जताततै चुलबुले मृग बनेर कठिन समस्या, सन्दर्भ र समयलाई पनि पराजित गर्छिन् ।

आनन्दको मलहम हृदयमा लगाएर हिँडेपछि मान्छेले हरेस नखाँदो रहेछ । यो यात्रा पढिरहँदा मलाई यस्तो लाग्यो, सायद भवानी सकारात्मक सोच बोकेर हिँड्छिन् । सहयोगी हात फिँजारेर, हृदयमा कपट नराखी प्वाक्क बोल्छिन् । समयको महत्त्वलाई विवेकका आँखाले छाम्छिन् । हृदय खोलेर हार्दिकतामा गीत गाउँछिन् ।

काम र पेसाप्रति इमानदार भवानीको कलमले कर्णालीलाई न्याय गरेको देखिन्छ । उज्यालो छरेकी छिन्, कर्णालीको भूमिमा । पर्यटन व्यवसायलाई एउटा गतिलो र खँदिलो उपहार दिएकी छिन् ।

सोह्र शीर्षकमा खण्डित नियात्रा पढ्दै जाँदा भवानीका अक्षरबाट डोल्पाको सजीव चलचित्र हेरिन्छ । कतै भयंकर झरीदेखि झरीसम्म भिज्दै कुदिन्छ । बाटाको चुनौती छिचोल्दै ज्वालामुखीको पहिरोमुनि लुक्न पुगिन्छ । आङै जिरिंग हुन्छ ।

भाषाप्रेमी स्रष्टा कतै ‘सुर्य’ लेखेको देखेर व्यथित हुन्छिन् । भाषा अशुद्ध लेखेको देख्दा भवानीलाई एन्जाइटी नै हुन्छ । सबैले नेपाली भाषालाई सम्मान गरौँ भन्ने आशयमा कहिलेकाहीँ अलि ज्यादै जोसिन्छिन् । सबै नेपालीहरू भाषाप्रति सजग र समर्पित भए कति राम्रो हुन्छ भन्ने कल्पना गर्छिन् ।

निर्दोष किसानहरू सबैतिरको मार खप्न विवश भएको देखेर निकै पिरोलिन्छिन्, ‘आफू भोकै बसेर दुनियाँका पेट भर्ने सच्चा धर्तीपुत्रका विवशता बुझिदिने को छ र खै ? युगदेखि युगसम्म पुस्तौँपुस्ता विवशताकै ताउलोमा सेकिन र गरिबीको भारीले थिचिन अभीशप्त तिनका हृदयको आवाज कसले सुनोस् ! गुलिया उखुमा किसानका नुनिला आँसु र पसिना पनि छन् भन्ने कुरो कल्ले बुझोस !’ (पृष्ठ २७)

कृषिविज्ञ भवानी कृषि र कृषकलाई अघोर प्रेम गर्छिन् । सम्मान गर्छिन् । कृषकका सानाभन्दा साना समस्याहरू समाधान भएको हेर्न चाहन्छिन् ।

हिमाल देख्नेबित्तिकै कहिले कविता कोर्छिन्, कहिले गीत गाउँछिन् । भवानीले हिमाल त देख्नै हुँदैन, कुदिहाल्छिन् हिमाल चुम्न । सगरमाथा बेसक्याम्प पुगिसकेकी स्रष्टा एक्लै तिलिचो पनि पुगिसकेकी छिन् । त्यसै राखेनन् रमेश खकुरेलले यिनको नाम ‘हिउँ बौलाही’ ।

आँट, धैर्य र साहसी स्रष्टा भवानीको ‘आकाश ओडेको डोल्पो’को विषय बहुआयामिक छ । पुस्तक संग्र्रहणीय छ । पठनीय छ ।

नियात्रा रोचक छ । यात्राभरि नै पाठकलाई पनि आफूसँग घुमाउन सक्ने दृश्यात्मक शब्दहरूको रोमाञ्चकारी प्रवाह छ । यी कृषि प्राविधिकका मनमा बालीनाली र कृषकप्रतिको सम्मान, सद्भाव, सहयोग र समपर्णको भाव छताछुल्ल देखिन्छ, कृतिभरि नै ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्