“अब पुरुषोत्तम महिना सुरु भयो । बिहान–बेलुका मन्दिरमा जम्मा भएर हरिकीर्तन गरौँ है ?,” हरिकलाले प्रस्ताव राखिन् ।
“किन नहुनु, हुन्छ नि,” कमलाले सही थापिन् । अझ गएको माघमा बुहारी भित्र्याएकी उनलाई त फुर्सद नै थियो ।
“मलाई पनि जागिर छोडेपछि अत्यास लागेको थियो । साथीहरूसँग भेट हुन्छ, ठिक छ । अझ दिउँसो पुरुषोत्तम महात्म्य पनि सुन्नुपर्ला,” कुसुम दिदीले भन्नुभयो ।
“सबैले हुन्छ भने, तर सूर्यमाला दिदी बोल्नु भएन,” सूर्यमालाको अनुहार हेर्दै हरिकलाले भनिन् ।
“मैले पनि हुँदैन भनेकी छैन नि, तर म आउन पाउँदिनँ । अरू सबै आएर भजनकीर्तन गरे हुन्छ,” सूर्यमालाले भनिन् ।
“नौली बुहारी भित्र्याएकी कमला त तयार छिन्, सूर्यमाला दिदीले कति भाउ खोजेकी हुन् ?,” कुसुम दिदीले भनिन् ।
“सबै दिदीबहिनी जम्मा हुने ठाउँमा भेला हुन त मलाई पनि रहर थियो, तर के गर्ने, अर्को महिना परीक्षा पर्यो,” सूर्यमाला दिदीले भनिन् ।
“हैन, यो बुढेसकालमा के पढ्न थाल्यौ सूर्यमाला ?,” कुसुम दिदीले सोधिन् ।
“हेर न कुसुमको ताल, कहाँ मेरो परीक्षा हो त ! बुहारीको परीक्षा आएको छ । परेको बेलामा घरधन्दामा सघाए पो सम्बन्ध सधैँ सुमधुर रहिरहन्छ,” सूर्यमालाको जवाफ थियो ।
(पोखरा, मासबार)