site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा फैलियो आँखा पाक्ने रोग, एकै परिवारका धेरैजना संक्रमित

काठमाडौं । केही सातायता भारतको सीमावर्ती जिल्लाहरुमा देखिएको आँखा पाक्ने रोग भाइरल कन्जन्टिभाइटिस काठमाडौं उपत्यकामा पनि फैलिँदै गएको छ । काठमाडौंका प्रमुख आँखा अस्पतालमा कन्जन्टिभाइटिसका बिरामीको भीड लाग्न थालेको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा गत जुलाइयता ५ अगस्टसम्म ६३० जनामा कन्जन्टिभाइटिसका बिरामी आइपुगेका छन्  । आँखा रातो हुने, संक्रमण हुने बिरामी बढ्दै गएपछि अस्पतालले छुट्टै रेड आई क्लिनिक सञ्चालन गरेको छ ।

कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा आइपुग्नेमध्ये झन्डै ५० प्रतिशत बिरामीमा कन्जन्टिभाइटिसको समस्या देखिने गरेको छ । अस्पतालको पछिल्लो तथ्यांकअनुसार १६३ जनाको आँखा परीक्षण गर्दा ७१ जनामा यो संक्रमण देखिएको थियो ।

नेपाल नेत्रज्योति संघका विभिन्न अस्पतालहरुमा आइपुग्ने बिरामीमध्ये २५ देखि ८० प्रतिशतमा समस्या देखिएको संघको तथ्यांक छ । कीर्तिपुर आँखा अस्पतालमा आउनेमध्ये एकैपरिवारका तीनजनासम्म संक्रमित भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्यले बताए ।

आँखा पाकेपछि मात्रै अस्पताल पुग्छन् बिरामी

एडिनो भाइरसका कारण हुने यो संक्रमणका लक्षण सुरुआतमै नदेखिन पनि सक्छ । कन्जन्टिभाइटिसका लक्षण देखिन पाँचदेखि १२ दिनसम्म लाग्न सक्ने तिलगंगा आँखा प्रतिष्ठानकी नानीरोग विशेषज्ञ डा. वन्दना खनाल बताउँछिन् ।

सुरुआतमा आँखा बिझाउने, आँशु बग्नेजस्ता सामान्य समस्या देखिन्छन् । कतिपय अवस्थामा यस्तो लक्षणमा बिरामीले आफैँ औषधि किनेर लगाउने गर्दा पनि जटिलता थपिने गरेको खनालको भनाइ छ ।

तिलगंगामा आइपुग्ने अधिकांश बिरामीमा भने आँखा रातो हुने, दुवै आँखा पाक्ने, पछि अर्कोमा सर्ने, चिप्रा आउने, घाममा हेर्न खोज्दा गाह्रो समस्या देखिएका, जुन संक्रमणको मध्यम चरण भएको डा. खनाल बताउँछिन् ।

समयमा उपचार नभए दृष्टिमा समस्या, तीन वर्षसम्म बस्न सक्छ नानीमा दाग

कन्जन्टिभाइटिसको संक्रमणले सबैको आँखा सिकिस्त नबनाउन पनि सक्छ । तर, समयमै उपचार नभएको खण्डमा यसले दृष्टिमा समस्या ल्याउने आँखारोग विशेषज्ञहरु बताउँछन् ।

विशेष गरी बालबालिकाको आँखामा कन्जन्टिभाइटिस छिप्पिँदै गएमा आँखाको तल्लो भागमा (डिलको भित्रपट्टी) एक प्रकारको सेतो झिल्ली बनेर बस्छ । यसले आँखा दुख्ने, सुन्निने समस्या हुन्छ ।

यस्तो अवस्थामा अस्पतालमै आएर उपचार गराउनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने डा. खनाल बताउँछिन् ।

उनका अनुसार एडिनो भाइरसले आँखाको नानीमा समेत संक्रमण गराउने भएकाले नानीमा संक्रमण भए बिरामीको अवस्था सिकिस्त पनि हुन सक्छ । यस्तो अवस्थामा दृष्टि मधुरो हुने, घाममा हेर्न गाह्रो हुने (फोटोफोबिया)जस्ता समस्या देखिन सक्छ । जसले आँखा सुख्खा हुने, लामो समयसम्म नानीमा दाग बसिरहने हुन सक्छ ।

सामान्यतः कन्जन्टिभाइटिस संक्रमण औषधि सुरु गरेको बढीमा दुई सातामा निको हुन्छ । तर, नानीमा दाग भए दुई÷तीन हप्ता औषधि प्रयोग गरी सुख्खा आँखाको लागि कृत्रिम आँशु पनि प्रयोग गर्नुपर्ने हुनसक्छ । यसरी बसेको दाग दुई÷तीन वर्षसम्म पनि रहने डा. खनाल बताउँछिन् ।

संक्रमणबाट कसरी बच्ने ?

आँखामा संक्रमण गराउने भाइरसहरु गर्मीयाममा बढी सक्रिय हुन्छन् । कन्जन्टिभाइटिस आफैँमा अति छिटो फैलिने भएकाले संक्रमण छिटो फैलिएको विशेषज्ञहरु बताउँछन् । यसअघिका वर्षहरुमा पनि थोरै संख्यामा यो रोग देखिने गरेकोमा यो वर्ष समुदायस्तरमा फैलिएको हो ।

विद्यालय जाने उमेरका बालबालिका समूहमा रहने भएकाले पनि  बालबालिकामा संक्रमण छिटो फैलिने सम्भावना रहन्छ । बालबालिकामा संक्रमणका कुनै पनि लक्षण देखिए उनीहरुलाई केही दिन घरमै राख्न डा. खनालको अनुरोध छ ।

भाइरल कन्जन्टिभाइटिस आँशु वा आँशुमा भएका तत्वहरुको माध्यमबाट एक अर्कामा सर्ने गरेको छ । जसमा संक्रमितले आँखा चलाएका सामानहरु अरुको आँखासम्म पुगेमा सर्नसक्छ ।

त्यस्तै, संक्रमितले प्रयोग गरेको रुमाल, तौलिया, आँखाका श्रृंगार सामग्री सेयर गर्दा पनि संक्रमण सर्न सक्छ ।

तर, आफूखुसी औषधि किनेर प्रयोग गर्दा आँखामा दीर्घकालीन समस्या पनि निम्तिनसक्ने भएकाले जुनसुकै संक्रमण भए पनि आफैँले किनेर औषधि प्रयोग नगर्न र विशेषज्ञकहाँ पुग्न डा. एरिक वैद्यको सुझाव छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro