
विराटनगर । आफूलाई प्रहरीले बताएर लुटपाट गरेको आरोपमा विराटनगरमा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएलका पूर्वसदस्य कुशल पाण्डे पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, उनीमाथि विराटनगरमा पछिल्लो समय हुने गरेका लुटपाटका घटनामा संलग्न रहेको आरोप लागेको छ । पाण्डे यसअघि पनि विभिन्न आपराधिक घटनामा समेत मुछिने गरेका थिए ।
विराटनगर–११ का २६ वर्षीय पाण्डेलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध अपहरणसहित चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
घटनामा संलग्न अन्य दुईजना समीर हुसेन र आशिव अन्सारीलाई प्रहरीले आइतबार नै पक्राउ गरेका थिए । पाण्डे फरार थिए । हुसेन विराटनगर–८ र अन्सारी विराटनगर–६ निवासी हुन् ।
असार ११ गते बिहान ११:१५ बजे आफूलाई प्रहरी बताउने एक समूहले विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेको थियो । उनको साथबाट नगद रकम लुटिएको थियो ।
पीडित साह महतो टोल विराटनगर–१३ बाट बैंकमा तीन लाख ६४ हजार रुपैयाँ जम्मा गर्न जाँदै थिए । आफ्ना भिनाजु धर्मानन्द साहले दिएको रकम लिएर आउँदै गर्दा उनी लुटपाटमा परेका थिए ।
उनलाई विराटनगर आँखा अस्पताल नजिकबाट पाण्डेसहितको टोलीले विराटनगर–१४ जतुवामा पुर्याएर आफूलाई प्रहरी बताएर लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पीडित विक्रमले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान थालिएको हो । घटनामा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, घटना गम्भीर भएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।