site stats
बाह्रखरी :: Baahrakhari
देश
कसरी गरिन्छ हवाई मौसम पूर्वानुमान ?

हवाईजहाजको उडानलाई सुरक्षित बनाउन हामीले एयरपोट र हवाईजहाज उड्ने रुट वा बाटोको मौसमबारे जानकारी दिइरहेका हुन्छौँ । यसैलाई हवाई मौसम पूर्वानुमान भनिन्छ ।

कसरी गरिन्छ त हवाई मौसम पूर्वानुमान ? हवाई मौसम पूवार्नुमान शाखामा गरिने थुप्रै गतिविधिहरूमध्ये सातवटाचाहिँ निकै महत्त्वपूर्ण छन् ।

पहिलो हो, मेटार अर्थात् मेट्रोलोजिकल एरोड्रोम रिपोर्ट
यो भनेको एयरपोर्टको मौसमको लाइभ जानकारी हो । पारदर्शिता कति छ ? हावा कुन गतिमा कताबाट चलिरहेको छ ? पानी र हिउँ पर्ने अवस्था के छ ? बादल, हुस्सु र कुहिरोको अवस्था के छ ? तापक्रम कति छ ? इत्यादिबारे सूचना प्रत्येक आधाआधा घण्टामा यसमा दिइन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोस्रो हो, स्पेसी अर्थात् स्पेसल मेट्रोलोजिकल रिपोर्ट
मौसममा अचानक परिवर्तन आएमा वा विशेष अवस्था सिर्जना भएमा स्पेसी जारी गरेर हवाईजहाजको सुरक्षाको लागि जानकारी दिइन्छ ।

तेस्रो हो, टाफ अर्थात् टर्मिनल एरोड्रोम फोरकास्ट
यो भनेको एयरपोर्ट र आसपासको क्षेत्रको आगामी २४ घण्टासम्मको मौसम पूर्वानुमान हो । हवाईजहाज उडाउने वा नउडाउने योजना बनाउन यो पूर्वानुमान प्रयोग गरिन्छ । यो प्रत्येक ६/६ घण्टाको फरकमा दिइन्छ ।

चौथो हो, सिग्मेट अर्थात् सिग्निफिकेन्ट मेट्रोलोजिकल इन्फर्मेसन
यसमा चट्याङ गराउने बादल बाटोमा कहाँ छ ? त्यो विकसित हुँदै छ कि कमजोर हुँदै छ भनेर सूचना दिइन्छ । यसले पाइलटलाई सुरक्षित रूट वा बाटोबाट हवाईजहाज लैजान मद्दत गर्दछ ।

पाँचौँ हो, टेक अफ डाटा
धावनमार्गबाट हवाईजहाजलाई उडाउन वा अवतरण गर्न यो तथ्यांक जरुरी हुन्छ । यसमा एयरपोर्टको तापक्रम, हावाको गति, दिशा र चापको पूर्वानुमान गरिएको हुन्छ । यसकै आधारमा पाइलटले कुन गतिमा दौडाएर हवाईजहाज उडाउने वा अवतरण गर्ने भन्ने निर्णय लिन्छन् ।

छैटौँ हो, इन्टरनेसनल फ्लाइट फोल्डर
यसमा अन्तर्राष्ट्रिय उडानको हवाईजहाजलाई चाहिने रुट वा बाटोको तापक्रम, हावाको दिशा र गति समावेश गरिएको हुन्छ । यसैगरी, उडानको क्रममा रुटमा पर्ने देशको एयरपोर्टको चाप पनि समावेश गरिएको हुन्छ । साथै, बाटोमा बादल र वर्षाको अवस्था जान्नको लागि सिग्निफिकेन्ट वेदर चाप दिने गरिन्छ । त्यसले हवाईजहाजलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन मद्दत गर्दछ ।

सातौँ हो, डोमेस्टिक फ्लाइट फोल्डर
योचाहिँ देशभित्रै उड्ने हवाईजहाजहरूलाई अघि भनेजस्तै (छैटौँ बुँदाभित्र) दिने सूचना हो ।

(अर्याल जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् हुन् । यहाँ प्रकाशित सामग्री विभागले नै सार्वजनिक गरेको भिडियोबाट उतारिएको हो )

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्