site stats
बाह्रखरी :: Baahrakhari
देश
विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाले सर्वोच्चको कायममुकायम नेतृत्व

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकासपछि वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कायममुकायम नेतृत्व सम्हालेका छन् । उमेर हदका कारण प्रधानन्यायाधीश कार्कीको शनिबार अवकास भएको थियो ।

आइतबारदेखि कायममुकायम प्रधानन्यायाधीशको कार्य प्रारम्भ गरेका श्रेष्ठले कार्य प्रारम्भ गरेसँगै न्यायपालिका सुधारका विषयमा चाल्नुपर्ने तत्कालीन र दीर्घकालीन कदमका बारेमा सर्वोच्च अदालतका न्यायाधीशको राय, सुझाव मागेका छन् । कार्य प्रारम्भ गरेसँगै उनले न्यायाधीशहरुलाई डाकेर लिएको सुझावमा न्यायाधीशहरुले आफ्नोतर्फबाट सुझावहरु दिएका सर्वोच्च अदालतले जनाएको छ ।

Argakhachi Cement Island Ad

“न्यायालयमा विचाराधीन पुराना मुद्दाको शीघ्र फर्छ्यौट गरी छिटो छरितो रुपमा न्याय सम्पादन कसरी गर्न सकिन्छ र सेवाग्राहीहरुलाई प्रदान गर्ने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो,” सर्वोच्चका प्रवक्ता विमल पौडेलले गराएको जानकारीमा भनिएको छ, “सोका साथै न्यायाधीश एवं कर्मचारीको मनोबल उठाउने साथै सरोकारवाला निकायहरुबाट थप सहयोग र समन्वय प्राप्त गर्ने विषयमा पनि छलफल भयो ।”

कामु प्रधानन्यायाधीश श्रेष्ठले उच्च व्यवस्थापन तहलाई न्यायपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त एवं सेवाग्राहीमैत्री बनाउन थप क्रियाशील हुन निर्देशन दिएका थिए ।

त्यसक्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुधारका लागि उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुसँगसमेत छलफल गर्ने सोच रहेको भन्दै छिट्टै नै छलफल गर्ने बताएका छन् । उनले मातहतका अदालतको काम कारबाहीको बारेमा सचिवालयबाट दैनिक रुपमा प्रतिवेदन गर्ने पद्दतिको प्रारम्भ गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्