
काठमाडौं । केही दिनअघि सम्पर्क टुटेको अन्तरिक्ष प्रोब भ्वाएजर–२ सँग नासाले पूर्ण सम्पर्क स्थापित गरेको छ । सन् १९७७ मा अन्तरिक्षको अन्वेषणका लागि भ्वाएजरको प्रक्षेपण गरिएको थियो ।
नासाले गत जुलाईमा गलत कमान्ड दिएपछि भ्वाएजर–२ सँगको सम्पर्क टुटेको थियो । मंगलबारको कमान्डले सफल रुपमा काम गरेपछि भ्वाएजर–२ को एन्टेना पृथ्वीतर्फ नै फर्किएको हो ।
नासाले आउँदो अक्टोबरमा भ्वाएजर–२ को एन्टेना पृथ्वितिर फर्किने अपेक्षा गरेको थियो ।
पृथ्वीबाट झण्डै २० अर्ब किलोमिटर टाढा रहेको भ्वाएजर–२ लाई पठाइएको कमान्डले काम गरे/नगरेको थाहा हुन कन्ट्रोलरहरुलाई ३७ घण्टा लागेको थियो ।
भ्वाएजर १ र २ लाई हाम्रो सौर्यमण्डलभन्दा परको ब्रह्माण्डको अध्ययन एवं अन्वेषणका लागि पठाइएको थियो । भ्वाएजर १ पृथ्वीबाट झण्डै २४ अर्ब किलोमिटर टाढा पुगेको छ ।
यसले अझैं पनि पृथ्वीबाट पठाएका कमान्डअनुसार काम गरिरहेको छ र डाटा पनि पठाउँछ । तर, निकै टाढा भएका कारण डाटा पाउन पठाउन दुई दिनको समय लाग्छ ।