काठमाडौं । गएको फेब्रुअरीमा रियल म्याड्रिडका लागि हस्ताक्षर गरेको दिन लिन्डा क्यासेडो परिवार र साथीहरूसँग उत्सव मनाइरहेकी थिइनन् । बरु १८ वर्षीया काइसेडोले कोलम्बियाको एक अस्पतालमा क्यान्सरको शल्यक्रिया गराइरहेका एक युवा क्यान्सर रोगीलाई फोन गरिन् ।
यसले काइसेडोको प्राथमिकता देखाउँछ । मैदानभित्र उनी फिफा महिला विश्वकप–२०२३ को चम्किलो तारा बनेकी छन् । तर, उनलाई थाहा छ; मैदानबाहिरको जीवनमा फुटबलभन्दा पनि धेरै कुराहरू छन् ।
समयले थोरै भए पनि उनको फुटबल करिअरले धेरै विषयको अनुभव गरिसकेको छ । उनले १४ वर्षको उमेरमा व्यावसायिक र राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरिन् । १५ वर्षको हुँदा क्यान्सर र त्यसपछि विश्वकै चर्चित क्लबमा क्लबसम्मको यात्रा ।
उनको करिअरले अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी विश्वकपमा नयाँ आयाम थपेको छ । दक्षिण कोरियाविरुद्ध लेफ्ट विङ्गबाट गरेको प्रहार कोरियाली गोलकिपर युन योङ–जेउलको ग्लोब्सबाट छुट्दै गोललाइनबाट भित्र छिरेको थियो । काइसेडोको गोलको सहयोगमा कोलम्बियाले दक्षिण कोरियाविरुद्ध २–० को जित निकाल्यो । जुन फिफा महिला विश्वकपको इतिहासमा कोलम्बियाले निकालेको दोस्रो जित हो ।
दक्षिण कोरियाविरुद्धको १८ वर्ष १५३ दिनमा गोल गरेकी काइसेडो महिला विश्वकपमा गोल गर्ने दक्षिण अमेरिकाकी दोस्रो सबैभन्दा कम उमेरकी खेलाडी बनिन् । विश्वकपमा दक्षिण अमेरिकाबाट सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान भने ब्राजिलकी मार्टाको नाममा छ ।
महिला फुटबलरको चर्चा गर्दा ब्राजिलियन स्टार मार्टालाई ल्याउन ठुलो कुरा होला । तर, मार्टासँगको तुलनाका लागि काइसेडाको उपस्थिति पनि तुलनात्मक रूपमा बलियो देखिन्छ ।
कोलम्बियाको महिला फुटबल विकासमा उनी ‘पोस्टर गर्ल’ बनेकी छन् । सन् २०११ मा मात्र पहिलोपटक विश्वकपमा छनोट भएको कोलम्बिया त्यसपछि महिला फुटबलमा नयाँ शक्तीको रूपमा उदाउँदै छ ।
काइसेडोको जन्म क्यान्डेलारियाको एक गरिब परिवारमा भएको हो । यसैकारण पनि अहिलेको स्थितिमा आइपुग्न गर्नुपर्ने संघर्षको बारेमा उनले राम्रोसँग बुझेकी थिइन् । उनले हालैमात्र खाद्य वस्तुका १०० झोला वितरण गर्नका लागि क्यान्डेलारियासम्मको यात्रा गरेकी थिइन् । यस कार्यमा उनले मिडियाका कसैलाई पनि साथ लगेकी थिइनन् ।
कोलम्बियाका प्रशिक्षक नेल्सन अबाडियासँग काइसेडो निकै नजिक छिन् । अबाडिया सन् २०१७ देखि कोलम्बियाको मुख्य प्रशिक्षकको भूमिकामा छन् । उनले त्यसअघि प्राविधिक सहायकको रूपमा तीन वर्ष कोलम्बियन टिममा बिताएका थिए ।
“सन् २०१६ मा मैले युवा टिमबाट प्रशिक्षणको सुरुआत गरेको थिएँ । त्यसबेला मसँग काइसेडो थिइन् । मैले राष्ट्रिय टिममा राख्दा उनी १२ वर्षकी थिइन् । काइसेडोले त्यहाँबाट आफूलाई विकसित गरिन्,” प्रशिक्षक अबाडियाले भने ।
'म क्यान्सरलाई जित्न सकिन्छ भन्ने उदाहरण हुँ'
सन् २०१९ को जुलाईमा कोलम्बियन क्लब अमेरिका डे कालीबाट काइसेडोले व्यावसायिक फुटबल करिअरको सुरुआत गरेकी थिइन् । त्यसबेला उनको उमेर १४ वर्ष थियो । व्यावसायिक फुटबलमा ‘डेब्यू’ गरेको चार महिनापछि नै काइसेडोलाई राष्ट्रिय टिममा बोलाइएको थियो ।
उनको उकालोलाग्दो करिअरको यात्रा सन् २०२० मा केही प्रभावित बन्यो । कोभिड–१९ को विश्वव्यापी महामारी चल्दैगर्दा काइसेडोले पेटमा दुखेको अनुभव गर्न थालिन् । परीक्षणपछि उनलाई पाठेघरको क्यान्सर भएको थाहा भयो । रोग पहिचान भएको दुई हप्ता पछि मार्च २०२० मा काइसेडोले ट्युमर हटाउन शल्यक्रिया गरिन् ।
काइसेडो क्यान्सरलाई जित्न सफल भइन् । काइसेडो त्यतिबेला परिवार र प्रशिक्षक अबाडियाले गरेको सहयोग र साथका कारण नै क्यान्सरलाई जित्न सफल भएको मान्छिन् ।
“त्यो निकै कठिन समय थियो । मैले त्यसलाई पछि छोड्न सकेँ, भगवानलाई धन्यवाद,” उनले भनिन्, “मेरो परिवार सधैँ मेरो सहयोगमा थियो र मेरो प्रशिक्षक सधैँ मेरो साथमा थिए ।”
“उनी मलाई फोन गरिरहन्थे । शल्यक्रियाको काम हुँदैगर्दा एकदिन मैले निकै नराम्रो महसुस गँरे । म अब फेरि शीर्षस्तरको फुटबल खेल्न सक्दिनँ भन्ने जस्तो । त्यसबेला उनले भने चिन्ता नलेऊ, तिमीले पुनरागमन गर्न सक्छौ भने । त्यसकारण म मेरो प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु,” काइसेडो थप्छिन्, “मैलेजस्तै कठिन परिस्थिति भोगिरहेका लागि तपाईंहरू त्यसलाई जित्न सक्नुहुन्छ भन्ने उदाहरण म हुँ ।”
काइसेडोले शल्यक्रियापछि ६ महिना केमोथेरापी गरिन् । क्यान्सरमुक्त भएको घोषणा भएपछि उनी पुनः प्रशिक्षणमा फर्किइन् । क्यान्सरमुक्त भएपछि उनी डिपोर्टिभो काली र राष्ट्रिय टिम दुवैतिरको भूमिकामा फर्किइन् । सिनियर अन्तर्राष्ट्रिय खेलाडी भए पनि उनले उमेरस्तरीय प्रतियोगिताहरूबाट अझ अनुभव बटुल्दै गइन् ।
सन् २०२२ मा काइसेडोले उल्लेखनीय रूपमा चार फरक प्रतियोगिताहरू खेलिन् । उनले दक्षिण अमेरिकी यू–१७ महिला च्याम्पियनसिप, कोस्टा रिकामा भएको यू–२० महिला विश्वकप, भारतमा भएको यू–१७ महिला विश्वकप र कोपा अमेरिका फेमेनिना खेलिन् ।
कोपा अमेरिका फेमिनिना त्यो प्रतियोगिता थियो, जति बेलादेखि काइसेडोलाई विश्वले नियाल्न सुरु गर्यो । कोलम्बियाले घरेलु मैदानमै भएको प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गर्दा १७ वर्षीया काइसेडो प्रतियोगिताकै ‘उत्कृष्ट खेलाडी’ घोषित भइन् । फाइनलमा कोलम्बियाले ब्राजिलसँग १–० को हार बेहोरे पनि यो नतिजा उनीहरूलाई विश्वकपसम्म पुर्याउनका लागि पर्याप्त थियो ।
'अझै धेरै सिक्न बाँकी छ'
२०२३ को फेब्रुअरीमा काइसेडोले रियाल मड्रिडसँग सम्झौता गरिन् । र, अहिले कोलम्बियाको टिममा रहेका सात स्पेनिस क्लब आधारित खेलाडीमध्येकी एक बनिन् ।
“आफ्नो क्षमता विकासका लागि मैले देश छोड्न आवश्यक थियो । समर्थकको समर्थन र प्रशिक्षण टिमको सहयोगले मलाई धेरै मद्दत गर्यो । यसैकारण मैले रियल मड्रिडमा स्थान बनाउन सफल भएँ,” काइसेडोले थप्छिन् ।
“मैले यू–१७, यू–२० खेले । अहिले विश्वकपमा निकै अनुभवी खेलाडीहरूसँग खेल्दै छु । यो अनुभवले धेरै सहयोग गर्छ । मैले हरेक स्टेजमा धेरै कुराहरू सिकेँ । यो विश्वकपमा मैले पाएको ज्ञानबाट धेरै कुराहरू सिक्ने छु ।”
“म अहिले युवा अवस्थामै छु । मैले अझै धेरै कुराहरू सिक्न आवश्यक छ । मैले हरेक दिन यो टिमबाट अनुभव बटुलिरहेको छु । यो मेरो पहिलो सिनियर विश्वकप हो । म यसमा रमाउन चाहन्छु । मसँग अझ धेरै समय छ ।”
१८ वर्षको उमेरमा नै उनी कोलम्बियाको मुख्य खेलाडी बनिसकेकी छन् । तर, प्रशिक्षण सेसनका दौरान सहकर्मीहरूसँग वार्म अप गरिरहँदा उनी छातीलाई समाउँदै मैदानमा ढलिन् ।
उनलाई स्वास्थ्य कर्मचारीहरूको आवश्यकता परेको थियो भने प्रशिक्षणका लागि पुगेका सञ्चारकर्मीहरूलाई मैदानबाट बाहिर जान आग्रह गरिएको थियो । तर, स्रोतका अनुसार प्रशिक्षणमा फर्किनुअघि उनी स्वास्थ्य कक्षमा हाँस्दै र मजाक गर्दै देखिएकी थिइन् ।
त्यसपछि प्रशिक्षक अबेडियाले विश्वकपकै उपाधि दाबेदारको रूपमा रहेको जर्मनीसँग खेल्नुअघि ‘काइसेडो ठिक रहेको’ प्रतिक्रिया दिएका थिए ।
आइतबार जर्मनीविरुद्ध पहिलो रोजाइमै उत्रिएकी काइसेडोले दक्षिण कोरियाकै प्रदर्शनलाई निरन्तरता दिइन् । काइसेडोबाट असाधारण प्रदर्शनको साथ पाउँदा कोलम्बियाले प्रतियोगिताकै उपाधि दाबेदार मानिएको जर्मनीलाई २–१ ले हराउँदै समूह ‘एच’को विजेताको रूपमा अन्तिम–१६ को यात्रा तय गरेको छ ।
काइसेडोबारे सहायक प्रशिक्षक मार्सिग्लिया भन्छन्, “उनी बल चाहन्छिन् । उनी अर्कै ग्रहकी हुन् । फरक र पूर्ण रुपमा अद्वितीय ।”
– बीबीसीबाट भावानुवाद ।