
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने उल्लेख गरे ।
तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने उनको भनाइ छ । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्ने भन्दै त्यो दर्शन र आदर्श तीनकुनेमा नदेखिएको उनले बताए ।
"कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन । कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन । धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन । कुनै पनि हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन," उनले भने ।
गृहमन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधानविपरीत भएकाले कुनै पनि हालतमा उचित मान्न नसकिने बताए ।