
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ लमजुङमा साम्बा स्तम्भ निर्माण गरिएको छ । स्तम्भ निर्माण गरिएको स्थानलाई 'साम्बा चोक' नामकरण गरिएको छ ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सोमबार (जेठ ५ गते) उद्घाटन गरे ।
नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार भण्डारी पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन् ।
उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९का वडाध्यक्ष हरिशचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपतिलगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र सञ्चारकर्मीको समेत उपस्थिति थियो ।
साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)का बुवाआमालाई समेत सम्मान गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।