site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङ छोडेर घरतर्फ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

करारको जागिर सकिएका कारण घर फर्कने योजनाअनुसार पाथीभरा पुगेर फुङ्लिङ फर्किएको भोलिपल्ट घर जान तयार हुँदै गर्दा मलगायत कतिपय साथीहरूलाई स्थानीय निर्वाचन आयोगको कार्यालयले एक महिना करारमा जागिर दियो । हामी निर्वाचनसम्बन्धी काममा लाग्यौँ ।

निर्वाचनमा विशेषतः तीन उमेदवार थिए । विजय थेबे – हाम्रै सिनामका यथास्थितिवादी, पञ्चायतको सूर्यबहादुर थापा समूहका मानिन्थे । पञ्चायतमा उदारवादी भनेर सूर्यबहादुरलाई भनिन्थ्यो । उनी दरबारइतरका भनेर चिनिन्थे ।

२०४० सालमा उनलाई प्रधानमन्त्री पदबाट हटाएका कारण उनी दरबार पृथक् समूहका बनेका भनिन्थे । भूमिगत गिरोह भनेर दरबारको माहिलो समूहलाई यिनले इंगित गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विष्णु मादेन – धेरै सुझबुझ नभएका, स्थानीयस्तरमा विजय थेबेको विपक्षी भएर दरबारपक्षीय देखिएका । दम्भी स्वभावका । राजनीति भनेको शासन गर्ने हो, शासन भनेको दमन गर्ने हो भन्ने मात्र बुझेका थिए रे ! त्यही नै भन्थे, त्यहाँका बुद्धिजीवीहरू ।

पूर्वी पहाडमा दरबार पक्षको नेतृत्व पद्मसुन्दर लावतीले गर्छन् भनिन्थ्यो । उनी पाँचथरबाट उमेदवार थिए । मादेन लावती प्यानलका मानिन्थे ।

Royal Enfield Island Ad

अम्बिका साँवा – विजयप्रकाश थेबेका ससुरा । खोक्लिङ निवासी यिनी प्रगतिशील पक्षधर थिए ।

तत्कालीन समयमा राजनीतिक परिवर्तनका निमित्त थुप्रै राजनैतिक पार्टीहरू क्रियाशील थिए । पुरानो रानैतिक पार्टी नेपाली कांग्रेस र वामपन्थी पार्टीमध्ये नयाँ उदीयमान, झापा संघर्षबाट उदाएको नेकपा (माले) मुख्य थिए ।

अम्बिका साँवालाई मालेको समर्थन छ भन्थे मानिस । कांग्रेसले चुनाव चिह्न नपाएका कारण आफ्नो उमेदवारी दिएको थिएन । पञ्चायतको उपयोग भनेर मालेले झापामा द्रोणाचार्य क्षेत्री, चितवनमा जागृतप्रसाद भेटवाल, काठमाडौंमा पद्मरत्न तुलाधर, पोखरामा सोमनाथ प्यासी, तेह्रथुममा परशुराम खापुङ, इलाममा नोबेल केबी राईलगायत उमेदवारलाई समर्थन गरेको थियो भनिन्थ्यो ।

कांग्रेसको आफ्नै घोषित उमेदवार नभए पनि इलाममा बेनुपराज प्रसाईं, झापामा केशवकुमार बुढाथोकी, काठमाडौमा विमलमानसिंहलगायत सोही पृष्ठभूमिका उमेदवार थिए ।

सुधारिएको पञ्चायती व्यवस्थाअन्तर्गत २०४३ को आमचुनावको उपयोग गर्नु भनेको प्रगतिशील पक्षले २०३८ को आमनिर्वाचनमा गरेको गलत प्रयोग नीतिको करेक्सन पनि हो भन्थे मानिसहरू ।

हो पनि, वास्तवमा २०३८ सालमा सुधारिएको पञ्चायतलाई खिल्ली उडाउँदै झापामा पँहतुलाल चौधरी, मोरङमा कर्णलाल धिमाल, काठमाडौंमा नानीमैया दाहाललगायत उमेदवारलाई जिताएर गलत भएको निष्कर्ष २०४३ को चुनावले बोध गराइरहेको थियो ।

समयले राजनैतिक परिवर्तनको माग गरिरहेको भए पनि पञ्चायती व्यवस्था राजाको व्यवस्था हो भनेर व्यापक प्रचार गरिएको थियो । भर्खर मात्र जनमतसंग्रह गरेर बहुदललाई हराइएको थियो ।

अघिल्लो पुस्ताका धेरै मानिसमा राजा विष्णुका अवतार हुन् भन्ने कुरा दिलमै बसेको थियो । नयाँ पुस्तामा पनि राजैतिक चेतनाको जरो पर्याप्त गड्न सकेको थिएन ।

म आफैँ परिवर्तनको पक्षधर भएता पनि अम्बिका साँवा र विजयप्रकाश थेबे ससुराज्वाइँ एकापसमा चुनाव लड्दा फाइदा मादेनलाई पुग्ने प्रस्ट बुझ्दथेँ । मादेनलाई जिताउनुभन्दा त बरु विजय थेबेले जितून् भन्ने तहमा कतिपय नरम विचारका मानिसहरू पुगेको पाइन्थ्यो । यद्यपि, सहानुभूति भने अम्बिका साँवाप्रति नै थियो ।

यो एकप्रकारले जनमत परीक्षण गर्ने प्रयोग पनि थियो ।

निर्वाचनमा मतदान गराउन प्रायः सबै चिनेजानेका कर्मचारी साथी मतदान अधिकृत वा मतदान सहायक अधिकृत बनेर खटिएर गए । केही नयाँ, केही पुराना हामी सदरमुकाम फुङ्लिङकै कार्यालयमा कार्यरत थियौँ ।

निर्वाचन भयो, मानिसहरूको आकलनजस्तै परिणाम आयो । विजयप्रकाश थेबेले चुनाव जिते । मादेन दोस्रो र अम्बिका साँवा तेस्रो भए ।

उप्रान्त तोक्मेडाँडामा सभा आयोजना भयो । हामी केही साथीहरू पनि गयौँ । भाषण भयो । थेबेलाई बधाई दिनेको ओइरो थियो । तत्कालीन जिल्ला सभापति सूर्यमान गुरुङ र स्थानीय विकास अधिकारी ललितबहादुर थापा विजयका पक्षधर थिए । प्रमुख जिल्ला अधिकारी भोजराज बराल भने मादेन पक्षधर ।

नवजागरणका युवाहरू अम्बिका साँवाका पक्षधर थिए । चैतन्य सुब्बाले आफू उमेदवार नबनेर थेबेलाई सघाएका थिए ।

के कारणले हो कुन्नि, भोजराज बराल मसित नाराज हुन्थे, जहिल्यै । अरूहरूसित ‘यो झापाली कम्युनिस्ट हो’ भन्थे रे ! के कसरी उनले त्यसो बुझे, मैले बुझ्न सकिनँ ।

सभा सकिएपछि थेबे मेरो छेउमा आएर मेरो र मेरा अभिभावकहरूका विषयमा कुरा गर्न थाले । हामीबीच सामान्य कुराकानी भयो । सीडीओ बरालले नदेख्ने कुरै भएन । उनी साथै थिए ।

त्यसपछि त सीडीओको मप्रतिको रवैया नै फेरियो । जहाँ भेटे पनि खैरखबर सोध्न, बुझ्न थाले । नोकरसाहीका पद र प्रतिष्ठा शक्तिका अगाडि कसरी छिप्पिएको बाँस पनि नुहिन्छ भन्ने कुराको उदाहरण बने बराल, मेरा नजरमा ।

चुनाव सकिएपछि मेरो काम पनि सकिएको थियो । म ताप्लेजुङ छोडेर साथीहरूको सल्लाहअनुरूप काठमाडौ जाने तरखरमा थिएँ । मनभित्र कताकता कृषि विकास बैंकमा परीक्षा दिएर पास भइयो भने यतै बस्नुपर्ला कि भन्ने थियो ।

मैले हुलाकमार्फत कृषि विकास बैंकमा फाराम भरेको थिएँ । सीडीओ बरालले दैनिक रूपमा यस विषयमा खबर गरिरहन्थे । उनी पनि आफ्नो पक्षले चुनाव नजितेको हुनाले सरुवा माग्न जान लागेका हुन् भन्थे अरूहरू ।

उनी मलाई ‘सँगै जाऊँ’ भन्थे । म पनि एक्लो मानिस, जान्नँ भन्न किन परेको थियो र ? अगाडि एक्लै जाँदाको सकस मनमै अल्झिएको थियो ।

२०४३ साल वैशाख अन्तिम साता ताप्लेजुङबाट चैतन्य सुब्बा, भोजराज बराल र तिनका केही सहयोगी कर्मचारीसँगै म पनि धरानसम्म आउने भएँ ।

बिहान सबेरै हामी हिँड्यौँ, ताप्लेजुङ छोड्यौँ । भानु माध्यमिक विद्यालय, मेदिबुङ, देउलिंगे हुँदै तल तमोर नदी पुग्यौँ हामी । तमोर नदीको दोभानपछि मैले उनीहरूलाई छोडेँ र बाँजोगरा दिदीकोमा गएँ ।

दिदीले भुलुक्क भाततिहुन पकाउनुभयो । म खाना खाएर दिदीभिनाजुसहित सबैसित बिदा मागेर उकालो लागेँ । चाँगे हुँदै नेशममा पुग्दा उनीहरू भेटिए । खाना खाएर हिँड्ने तयारी गर्दै रहेछन् ।

तिनको हिँडाइको गति र नाना प्रकारका थकाइ लाग्ने राजनैतिक कुराले ऊर्जा दिएन मलाई । बरु, थकान थपियो । गुफामै वास बसियो अल्छे भएर ।

पर्सिपल्ट विराटनगरमा कृषि विकास बैंकमा सहायक पदको परीक्षा थियो । यो चालले त परीक्षाको भोलिपल्ट मात्रै विराटनगर पुगिने भइयो भन्ने लाग्यो । यही ठानेर म सखारै गुफाबाट उनीहरूसित बिदा माग्दै बाहिरिएँ, एक्लै ।

मनमा लाग्यो– एक्लै आएको हो, एक्लै गइन्छ । यो साथ–सहयोग भन्ने कुरा निरपेक्ष हुँदैन । सापेक्ष हुन्छ । म बत्तिएर हिँडे एक्लै, सुनसान लेकको बाटो आफ्नै मनको साथी भएर ।

हिउँ बिलाएर बाटो सफा थियो । वरिपरि झाडीमा चराचुरुंगी खस्य्राकखुसु्रक गर्थे । चिरबिर आवाजमा बोल्थे । म यिनकै साथमा लम्किरहेँ ।

वसन्तपुरमा खाना खाएँ । सिँधुवा पुगेँ । गाडी चढेँ । गाडी समयमै हिँड्यो । म पछाडिको सिटमा बसेको थिएँ । गाडीले बेलाबेला पिङ खेलाउँथ्यो । तर पनि सामान्य ज्ञानको किताब हातमा थियो । आँखा अक्षरमा थिए । म सम्झँदै, पढ्दै तमोर नदी (मूलघाट) पुगेँ ।

अब यही रफ्तारमा गए विराटनगर साँझसम्ममा पुगिन्छ । बिहान ८ बजे परीक्षा सुरु हुने भनेको थियो, आफू परीक्षामा सामेल हुन सक्ने सम्भावनाले मलाई हौस्यायो । लेउतीको किनारा भएर गाडी गुड्यो । अलि माथि पुगेपछि गाडी रोकियो ।

मैले खासै ध्यान दिइनँ । यात्रा हो, कहिलेकाहीँ १०/२० मिनेट यताउति त भै’हाल्छ नि ! आधा घण्टा नाघ्यो, बस चलेन । अब त अति भयो भन्ने लागेर बसबाट ओर्लिएर हेरेको, अगाडि–पछाडि गाडीको लाम ! निकै टाढासम्मै ।

घटना के रहेछ भनेर बुझ्नलाई हिँड्न के लागेको थिएँ, एउटा बसको खलासी कराउँदै आयो, “ट्रक र जीप ठोक्किएछ । मानिस निकै घायल भएछन् जीपका । एम्बुलेन्समा हालेर घाइतेलाई धरान लगे रे ! पुलिसले जाँचबुझ गर्दै छ, अब कति बेर लाग्छ कुन्नि !”

खलासीको कुराले मलाई चिन्तित बनायो । परीक्षाका निमित्त मैले साथी छोडेर हिँडेको, ठिक्क पर्यो भन्ने भए । गाँस छोड्नु साथ नछोड्नु भन्थ्ये बुढापाका, मैले साथ र गाँस दुवै छोडेको थिएँ ।

अर्काे मनले भन्यो– हेराैँ, कति समय लाग्ला र ! अलि ढिलो पुगे पनि केही छैन । म किताब पढ्न थालेँ । दुर्घटनाको कुरो न पर्यो, बल्लबल्ल बेलुका ६ बजेतिर गाडी खुल्यो ।

दुईअढाई घण्टा जाममा परेका दोहोरो गाडी खुल्दा त गति आउने कुरै भएन । विस्तारै गुडे गाडीहरू । धरान पुग्दा रातको आठ बज्नै लागेको थियो । एक घण्टाको बाटो झन्डै दुई घण्टै  लागेछ ।

धरानमा ओर्लिएर हत्तपत्त विराटनगर जाने बसतर्फ लम्किएँ । एउटा बस छुट्न लागेको देखेँ । विराटनगर नै जाने होला भन्ने लख काटेँ । यतिखेर अन्य लामो दूरीका बस जाने कुरा पनि थिएन ।

ब्याग पछाडि पिठ्युँमा बोकेर मैले छिटोछिटो पाइला चालेँ । खलासी करायो, “जाऊँ जाऊँ गुरुजी ।”

परैबाट म कराएँ, “ए पख पख !”

गाडी मूल सडकबाट दक्षिण लाग्यो । फेरि रोकिएजस्तो भयो । मैले ठानेँ– मेरो आवाज सुनेर रोेकेको होला ।

म दौडिएँ बसतिर । नजिक पुग्नै लागेको थिएँ, घुइँय्य गरेर कालो धुवाँ फाल्दै बस दौडियो । मेरो दौडाइ निरर्थक रह्यो । आँखा र नाकमा डिजेलको पिरो धुवाँले स्पर्श गर्दै आँसु खसायो ।

मेरो उत्साह, जाँगर मरेर आयो । अब के गर्ने ? गाडी छुटी नै त गयो । परीक्षा दिन भनेर गुफादेखि साथी छोडेर हिँडेको म । सुस्केरा आयो । मन थकित भयो, खुइय्या काढ्यो शरीरले भित्रैबाट ।

के गर्ने, नगर्ने द्विविधाका बीचमा फेरि एक मनले सोच्यो– बिग्रिएकै के छ र ! यति राति विराटनगर गए पनि वासको टुंगो छैन । लज खाली भेटिएला/नभेटिएला, बरु यतै धरानमा बसेर बिहान ५ बजेको पहिलो बसबाट नै गयो भने त भ्याइ हालिन्छ नि ! मनस्थिति बिगार्नु हुन्न । जे गर्छ समयले गर्छ भन्ने मनोलाप गर्दै म होटेलतिर लागेँ ।

भोको शरीर र थकित मन होटेलको कोठामा गएर बिसाएँ । खाना खान गएँ । खासै रुचेन । हात धोएर बेडमा पल्टिएँ । सम्झिएँ, र काउन्टरमा गएर बिहान गेट खुल्ने समय बुझेँ ।

बिहान ५ बजे नै गेट खुल्ने थाहा पाएर आश्वस्त भएँ । फेरि म निदाएको निदायै भएँ भने के गर्ने ? मन मानेन । फेरि काउन्टरमा गएर मलाई ५ बज्नु अगाडि नै उठाइदिन भनेँ । काउन्टरको मानिसले टाउको हल्लायो । अनि, ढुक्क भएर ओछ्यानमा लम्पसार परेँ ।

थकित शरीरलाई पनि निद्राले शरणागत गराउन सकेन । यता पल्टिएँ, उता पल्टिएँ, निद्रा आएन । सुस्केरा मात्रै निस्कियो । घण्टाघरको घडीले ११ बजेको घण्टी ठोक्यो । मैले आफ्नो घडी हेरेँ । मेरो घडी ५ मिनेट छिटो रहेछ । छिटो नै भएको बेस भन्दै म निदाउने प्रयत्नमा छटपटाइरहेँ ।

यतिविघ्न मन र मस्तिष्क घडीको १२ बजेका काँटाझैँ एकै ठाउँ भएको मैले कहिल्यै थाहा पाएको थिइनँ ।

अनिद्राकै बीच घण्टाघरले फेरि राति एक बजेको घण्टी ठोक्यो । मैले बित्यासको सास फेर्दै जेठको दिनमा पनि सिरकले टाउको छोपेर एक्ल्याएँ आफूलाई, मनमस्तिष्कबाट ।

निदाएछु भुसुक्क । निद्रा बाँकी नै थियो, तन्द्रा ब्युँतिएको जस्तो । हो/होइनका बीच घण्टीको आवाजले उठायो मलाई । घण्टी उही घण्टाघरको थियो । मन चञ्चल भयो । उठेर बत्ती बाले, घडी हेरेँ, ५ बजिसकेछ ।

टाउको बेस्सरी दुखेको थियो । अनिद्राका कारण होला भन्ने लाग्यो । बाथरुम पसेर नित्यकर्म सिध्याएँ । हत्तपत्त लुगा लगाएँ । के उठाउँथ्यो होटेलको मानिसले मलाई !

म ढोकातिर गएँ । सबै बन्द थियो । भुईंमा केटाहरू सुतेका थिए । मैले कराएर उठाएँ तिनलाई । हाई... काढ्दै केके फत्फताउँदै एउटा केटोे आँखा मिच्दै उठ्यो । मैले गेट खोल्न इसारा गरेँ । अल्छी मान्दै उसले गेट खोल्यो ।

म होटेलबाट बाहिर निस्किएँ सडकमा र लम्किएँ, लमकलमक बसपार्कतिर ।

बिहान अलिअलि चिसो नै थियो । म तातो आश्वासन बोकेर बसपार्क पुगेँ । पहिलो नन्स्टप बस भरखर गएछ । यहाँ पनि म चुकेँ । अब विराटनगर जाने अर्को नन्स्टप पर्खेर मेरो लक्ष्य पूरा नहुने देखेर पूर्व जाने नन्स्टपमा इटहरीसम्म गएर पूर्वबाट विराटनगर जाने अर्को फास्ट बसबाट जाने सोच बनाएँ । र, काँकडभिट्टा जाने नन्स्टप बस चढेँ ।

६ बजे हिँड्नुपर्ने बस स्टार्ट गरेर राखेको छ खलासीले । ड्राइभर आइपुगेको छैन । ‘हन, बस किन समयमा हिँड्दैन ?’ भनेर अघिदेखि बसेका यात्रुहरू कराउन थाले । ‘जान्छ–जान्छ’ भनेर खलासीले आधा घण्टा बितायो ।

मेरो संयोग हो कि दुर्याेग यो, जहाँ पनि ठेस मात्र लाग्छ । हुने कुरा पनि बिग्रिएजस्तो भा’छ । मैले ‘के हो यो नन्स्टपको चाला ? लोकल भए ओर्लियौँ सबै’ भनेर कराएपछि एउटा भुँडी पुटुस्स भएको मानिसले ड्राइभरको सिटमा बसेर गाडी घाइँघुइँ पार्यो ।

यही रहेछ ड्राइभर, अघिदेखि त्यही चिया पसलमा चिया र चुरोट पिइरहेको थियो । मुखबाट खैनीको रस भुईंमा पिच्च थुक्दै ड्राइभरले प्याँ... प्याँ... हर्न बजायो । अब जान्छको आश्वासनले बिहानको ६.३५ धरानमै बिताइयो ।

खलासीले ढोकामा हातले ढ्याकढ्याक ठोकेपछि बल्ल बस गुड्यो । नन्स्टप हो कि लोकल हो, ठम्याउनै गाह्रो । लेखेको नन्स्टप छ, हिँडेको लोकल छ । मेरो मनको वेग र गाडीको गति कहीँ पनि मिलेको थिएन । मेरो मन झन् औडिन थाल्यो । यो चालाले कसरी आठ बजेको परीक्षा दिन पुगिन्छ र विराटनगर !

मुस्किलले ७.२५ मा इटहरी पुगियो । पूर्वबाट विराटनगर जाने पहिलो नन्स्टप गइसकेछ । लोकलमा गएर पुगिने होइन । अब पाँच मिनेटमा अर्काे नन्स्टप आइपुग्छ भन्यो सेन्डिकेटको मानिसले ।

अब पर्खनु नै पर्यो, पाँच मिनेटजति । यति समय त पश्चिमबाट आउने नन्स्टप चढ्न पश्चिम बस स्टप जान पनि लागि नै हाल्थ्यो । त्यहाँसम्म हिँडेर जाँदा बस छुट्यो भने झन् फसाद हुन्छ– मनले शंका ओकल्यो ।

अभर पर्दा त हो नि शंका–उपशंका जन्मिने मनमा । अरू बेला त यसको जरुरत नै पर्दैन नि । म पाँच मिनेट कुरेर पूर्वबाट आउने बसमै विराटनगर जाने निधोमा पुगेँ ।

नभन्दै ठिक ७.३० मा बस आयो । मनले भन्यो– यस्तो हुन्छ नि समय पालना । आस जगायो । यसले पुर्याउँछ समयमै विराटनगर ! यस्तै बस बिहानै भेटेको भए म अघि नै पुगिसकेको हुने थिएँ– मनमनमै मैले भनेँ । जे भए पनि परीक्षा दिन पुगिने नै भयो ।

यात्रा हो जीवनको – सोचेजस्तो हुन्न, भोगेजस्तो हुन्छ । यो भोगाइको सानो यात्रा मनमा निकै ठूलो खोपिल्टो बनाएर पुरिने तहमा देखिन आयो । पाँच मिनेट रोकिएर बस गुड्यो, गननन धुवाँ फालेर ।

मेरो मन पनि बससितै गुड्यो हननन, विस्मित भाव र सुस्केरा फालेर ।

दुहवीछेउ पुगेपछि ठूलो आवाजमा सातो जाने गरी बम पड्किएजस्तै ड्याङ्ङ आवाज आयो । बस ओल्टिँदै कोल्टिँदै सडकछेउ लाग्यो । यात्रुहरूको चिच्याहट सुरु भयो । बसभित्र यात्रुहरूले पिङ खेले ।

हठात् खलासी करायो, “पञ्चर भयो गुरुजी ।”

ए, ठूलो घटना त होइन रहेछ । पञ्चर मात्रै रहेछ । हरेक वस्तुको पञ्चर हुँदा गति सम्भव हुन्न ।

मेरो मनले उगेल्यो– मानिसको दिमाग पञ्चर हुँदा, विश्वासको मूल्य पञ्चर हुँदा, संगीतको राग पञ्चर हुँदा, भावको सम्प्रेषण पञ्चर हुँदा, पक्षीको वेग पञ्चर हुँदा, ज्ञानको सार पञ्चर हुँदा आदि इत्यादि ।

खलासीले गाडीबाट मरीतरी अर्काे टायर झिकेर ल्यायो । अनि, पञ्चर भएको टायर फुकाल्यो । यतिखेर आठ बज्नै लागेको थियो । मैले मनमनमै सोचेँ– परीक्षा सुरु भएको ३० मिनेटपछि पुग्दा पनि हलभित्र पस्न पाइन्छ । अब यसै ढिला भयो, ८.३० मा परीक्षा हल पुगे पनि हुन्छ । यति बेला मेरो मन परिवर्तन भयो ।

मानिस हरेक परिस्थितिलाई आत्मसात् गर्न सक्छ र त्यससँगै आफ्नो गति निर्धारण गर्छ । परिवर्तन गर्छ । मैले पनि त्यसै गरेँ ।

गाडीको चक्का फेरेपछि गाडी हुइँकियो । गाडीको वेग पवनपुत्र हनुमानझैँ थियो । टायर पञ्चर नभएको भए यस गाडीको गति र मेरो मनको वेग मिल्ने ठानेँ मैले ।

सवा आठ बजे गाडी विराटनगर बसपार्क पुग्यो । म हतारहतार ओर्लिएँ गाडीबाट । ओर्लिएँ पो के भनूँ, उफ्रिएँ । अलिक पर उभिरहेको रिक्साछेउ पुगेँ र सोधेँ, “महेन्द्र मोरङ कलेज जाने हो ?”
उसले नकरात्मक टाउको हल्लायो ।

मैले यताउति गुडिरहेका रिक्सालाई इसारा गरेँ । एउटा रिक्साले रोक्यो । म रिक्सा चढेँ ।

“भाइ, अलि जोडले कुदाएर महेन्द्र मोरङ कलेज पुर्याऊ त !,” मैले भने ।

बडो तेज गतिमा रिक्सा कुदायो उसले । यो पनि मेरो मनको वेगसित मेल खाने गति थियो । महेन्द्र मोरङ कलेजको गेटमा पुग्दा ८.२५ भएको थियो ।

म रिक्सावालालाई पैसा हातमा राखिदिएर दौडिएँ । रिक्सावाला कराइरहेको थियो, “सा’ब, फिर्ता लिजिए ।” म सुनेको नसुन्यै गरेर दौडिएँ । त्यो दुई रुपैयाँ फिर्ता लिन थाल्दा मेरो मूल्यवान् समय खुस्कन्थ्यो ।

यही त हो समयको मूल्य । खास अवस्थामा पैसाले समय किन्न सक्दैन । अनि, खास समयमा पैसा किन्न ठूलो समय खर्च गर्नुपर्छ ।

म क्याम्पसभित्र परीक्षार्थीको रोल नम्बर टाँसिएको सूचनापाटी हेर्न पुगेँ । मेरो परीक्षा दिने कोठा नम्बर सात परेछ । ‘सात अंक शुभ हुन्छ तँलाई’ भनेर मेरो चिन्हा र हात हेर्नेले भनेको सम्झिएँ । अरूहरू पनि ‘लक्की सेभेन’ भन्ने गर्थे ।

म दौडिएर सात नम्बर कोठामा पुगे । रोल नम्बर बताएँ । प्रवेशपत्र परीक्षा हलमा पनि वितरण गर्ने सूचना गरिएको थियो । परीक्षकले घडी हेर्यो र भन्यो, “सरी, समय गुज्रियो ।”

मैले घडी हेरेँ, ८.३७ भएको थियो । पाँच मिनेट घटाउँदा पनि ८.३२ हुन्थ्यो । दुई मिनेटले म समय समाउन नसकेर खुस्किन पुगेँ । निराश मेरो तन र मन जोडियो ।

खुइय्य काढ्यो शरीरको भित्री भागले । म अन्यमनस्कझैँ उभिएर हेरिरहेँ, केही बेर ।

भित्र परीक्षार्थीहरू धमाधम परीक्षा दिइरहेका थिए । सम्झेँ मैले– यिनैमध्ये कोही मैले आशा र भरोसा गरेको पदमा नियुक्ति लिएर कुर्सीमा बस्नेछन्, अब ।

मेरो विस्तृत सुस्केरा खुस्कियो सुइय्य गरेर फेरि । क्रमशः
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro