काठमाडौं । फिफा महिला विश्वकपमा नाइजेरियाले सह–आयोजक अस्ट्रेलियाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।
बिहीबार अस्ट्रेलियाको सनक्रप रंगशालामा भएको रोमाञ्चक खेलमा नाइजेरियालाई जित दिलाउन उचेना कानु, ओसिनाची ओहाले र असिसत ओसोआलाले एक–एक गोल गरे । अस्ट्रेलियाका एमिली भान एगमोन्ड र एलाना केनेडीले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।
खेलमा सुरुआती अग्रता भने अस्ट्रेलियाले बनाएको थियो । एगमोन्डले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अस्ट्रेलियालाई अग्रतामा राखेकी थिइन् । तर, अस्ट्रेलियाको यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्जुरी समयमा नै कानुले गोल गर्दै नाइजेरियालाई खेलमा फर्काएकी थिइन् ।
ओहालेले ६५औँ मिनेटमा गरेको गोलबाट नाइजेरियाले २–१ को अग्रता बनायो । ७२औँ मिनेटमा ओसोआला गोल गर्दै नाइजेरियाको अग्रतालाई ३–१ मा पूर्याइन् । खेलको इन्जुरी समयमा केनेडीले गोल गर्दै अस्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर, यसपछि कुनै गोल हुन नसक्दा नाइजेरियाले ३–१ को जित निश्चित गर्यो।
जितसँगै दुई खेलबाट चार अंक जोडेको नाइजेरिया समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । नाइजेरियाले यसअघि पहिलो खेलमा क्यानडासंँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । समान खेलबाट तीन अंक जोडेको अस्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ । अस्ट्रेलियाले यसअघि पहिलो खेलमा आयरल्यान्डलाई १–० ले हराएको थियो ।