site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुन प्रकरण : रेडी ट्रेडको गोदाममा छापा, एकजना पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले आज काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ ।

गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक सु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयअगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो । त्यसैले सुन लुकाएको आशंकामा विभागले आज छापा मारेको हो । त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद गरिएको छ ।

यसैबीच विभागले सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई पनि आज पक्राउ गरेको महानिर्देशक ढुंगानाले जानकारी दिए । उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको आरोप लागेको बताइएको छ ।

उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्