काठमाडौं । फिफा महिला विश्वकपमा जापान र स्पेन समूह ‘सी’ बाट अन्तिम खेल अगावै अन्तिम–१६ मा प्रवेश गरेका छन् ।
बुधबार भएको समूह चरणको आ–आफ्नो खेलमा जित निकाल्दै जापान र स्पेनले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
न्युजिल्यान्डको फोर्सित बार रंगशालामा सम्पन्न खेलमा कोस्टारिकाविरुद्ध २–० को जित निकाल्दै जापान नकआउट चरणमा प्रवेश गरेको हो ।
जापानको जितमा हिकारु नाओमोटा र एओबा फुजिनोले एक–एक गोल गरे । खेलको २५औँ मिनेटमा नाओमोटाले गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि नै फुजिनाको गोलबाट जापानले अग्रता दोब्बर पारेको थियो ।
यसअघि समूह चरणको पहिलो खेलमा जापानले जाम्बियाविरुद्ध ५–० को फराकिलो जित निकालेको थियो ।
आजै भएको समूह ‘सी’ को अर्को खेलमा स्पेनले जाम्बियाविरुद्ध ५–० को सहज जित निकाल्दै प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।
स्पेनको जितमा जेनिफर हर्नमोसो र अल्बा रेडोन्डाले समान दुई गोल गर्दा टेरेसा अबेलेइराले एक गोल गरिन् । स्पेनले यसअघि पहिलो खेलमा कोस्टा रिकालाई ३–० ले हराएको थियो ।
समूहमा दुई खेलबाट समान ६ अंक जोडेका स्पेन र जापान क्रमशः तालिकाको शीर्ष र दोस्रो स्थानमा छ । अब सोमबार हुने यी दुई टिमबीचको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
लगातार दुई खेलमा हार बेहोरेको जाम्बिया र कोस्टारिका भने समूह चरणबाटै बाहिरिने निश्चित बनेको छ । यी दुई टिम अब सोमबार नै प्रतिष्ठाका लागि खेल्नेछन् ।