
काठमाडौं । दुई वर्षअघि पोर्चुगल जाने भनेर घरबाट काठमाडौं आएका कुलबहादुर वली अहिले उद्यमी बनेका छन् । उनी आत्मनिर्भर मात्र भएका छैनन्, परिवारका सदस्यसँगै दुई जनालाई रोजगारी पनि दिएका छन् ।
उनले काठमाडौंको कागेश्वरी मनोहरा–२ आलापोटमा साढे ५ रोपनी जग्गामा मण्डला कृषि फामको नामबाट गोलभेडा खेती गरेका छन् । औपचारिक रूपमा दुई जनालाई रोजगारी दिएका भए पनि अनौपचारिक रूपमा सिजनअनुसार उनले अरु थपलाई रोजगारी दिँदै आएका छन् ।
सुरुमा वलीले काठमाडौंमा टिक्नका लागि भद्रगोल टेलिसिरियलमा काम पनि गरे । तर, गोलभेँडा खेतीमा लागेपछि त्यो काम छोडेको उनी बताउँछन् । अहिले उनलाई आफ्नै कामले भ्याई नभ्याई छ । उनका दिदी भिनाजुले कृषि व्यवसाय गर्न सुझाएपछि सात लाख रुपैयाँ खर्चेर फर्म स्थापना गरेको उनी बताउँछन् ।
सुरुमा उनले आफन्तबाट ऋण लिएर फर्म स्थापना गरेका थिए । पछि बैंकले पनि कृषि गर्नेलाई ऋण दिन्छ भन्ने थाहा भएपछि उनले अझ् विस्तार गर्न नबिल बैंकबाट १० लाख रुपैयाँ ऋण लिए ।
आफन्तबाट भन्दा बैंकबाट ऋण लिएर किस्ता तिर्न सहज भएको उनी बताउँछन् ।
“बाहिरबाट पैसा लिएर बढी ब्याज तिर्नु परेको थियो । बैंकले ऋण दिएपछि किस्ता तिर्दा सहज भएको छ । हामीले पाँच वर्षका लागि कृषि कर्जा लिएका छौं,” उनले भने, “बैंकले कृषि कर्जा नदिएको भए त यतिधेरै विस्तार गर्न सक्ने आँट आउँदैन थियो ।”
अहिले उनको परिवार कृषि फर्ममा नै बस्दै आएको छ । उनका एक छोरा, एक छोरी र उनकी श्रीमती लिला खत्री वली पनि सँगै छन् । छोरी ७ कक्षामा पढ्छिन् भने छोरो तीन कक्षामा पढ्छ ।
श्रीमती स्वास्थ्यकर्मी हुन् । पहिले निजी अस्पतालमा काम पनि गर्थिन् । तर, अहिले आफ्नै नाममा रहेको कृषि फर्ममा श्रीमानलाई सघाउँछिन् । “मेरी श्रीमतिले स्वास्थ्य लाइन पढेकी छिन् । पहिले काम पनि गर्थिन् । तर, मैले फर्मको काम एक्लै गर्न नसक्ने भएकाले उनले काम छोडेर मलाई सहयोग गर्दै आएकी छन्,” वलीले भने, “उताभन्दा कृषि मै सम्भावना छ ।”
हाल कृषि फर्म गर्दै आएको जग्गाको वार्षिक भाडा एक लाख २० हजार रुपैयाँ रहेको उनी बताउँछन् । यो भाडा पनि दुई वर्षमा १० प्रतिशतका दरले बढ्ने गरेको छ । कृषिमा बढी दुःख भए पनि आम्दानी सन्तोषजनक भएको उनको भनाइ छ ।
उनले नबिल बैंकलाई किस्ताबापतको रकम मासिक करिब २३ हजार तिर्दै आएका छन् । यो किस्ता पनि फर्ममै लगाएका तितेकरेला, साग, धनियाँ तथा एक दुई क्यारेट गोलभेडा बेचेर तिर्दै आएका छन् । अहिले उनले १७ वटा टनेलमा गोलभेडा लगाएका छन् ।
काठमाडौंको जग्गा बेचेर किवी खेती
कृषि मै भविष्य खोजिरहेका अर्का कृषक हुन् दोलखाको जिरी नगरपालिका वडा नं. २ का पासाङ तेन्जिङ शेर्पा । उनले पनि ठूलो लगानीमा सर्वखास कृषि फर्मको नामबाट किवी खेती गरिरहेका छन् । अहिलेसम्म उनको लगानी दुई करोडभन्दा बढी भएको छ ।
उनी वैदेशिक रोजगारीका क्रममा विभिन्न देश घुमेर आएका हुन् । उनले हस्पिटालिटी लाइनमा काम गरेर नेपाल फर्किएको बताए । किवी खेती गर्न उनले काठमाडौंमा रहेको २८ आना जमिन बेचेको बताए ।
“अरुले उपत्यकामा जग्गा जमिन जोड्न खोज्छन् । तर, मैले उपत्यकाको २८ आना जग्गा बेचेर कृषि गर्न लागेको हुँ,” उनले भने ।
बैंकबाट ऋण पाइन्छ भनेर विभिन्न बैंकमा पनि धाएको उनी सुनाउँछन् । तर, कुनै पनि बैंकले किवी खेतीका लागि ऋण नदिएको उनले बताए । तर नबिल बैंकले भने केही ऋण दिएर सहयोग गरेको उनले बताए ।
“कृषिलाई प्राथमिकता दिने भन्छन् । बैंकले ऋण नै दिएनन् । म धेरै बैंकमा गएँ । तर पाइनँ । मैले एक करोड माग गरेको थिएँ,” उनले भने, “नबिलले ३० लाख रुपैयाँ मात्र ऋण दियो । अझै मलाई विस्तार गर्न ५०–६० लाख रुपैयाँ चाहिन्छ ।”
उनले २०७१ सालमा कम्पनी दर्ता गरेको बताए । किवी खेती गर्न समय र लगानी बढी चाहिने पनि उनले बताए । किवीको विरुवा रोपेपछि ४ वर्षमा फल्ने पनि उनले जानकारी दिए । अहिले उनले गाउँको १२३ रोपनी जमिनमा १८०० बोट किवीका विरुवा रोपेका छन् ।
उनले उत्कृष्ट कृषकको रूपमा राष्ट्रपतिबाट पुरस्कार पनि पाएका छन् । तर, कृषि व्यवसाय गर्नेलाई राज्यले बेवास्ता गरेको उनी सुनाउँछन् । पछिल्लो समय बैंकहरुले केही मात्रामा लगानी गरेको भए पनि त्यसले कृषकलाई प्रयाप्त नहुने उनले बताए ।
“राज्यले कृषिलाई बुझ्न सकेको छैन । कृषिबाट नै समृद्धि हासिल गर्न सकिन्छ । मैले विदेशमा बस्दा अनुभव गरेर नै किवी खेती गर्न आकर्षित भएको हो । तर, पूर्वाधारको तयारी छैन । बजारको व्यवस्था छैन,” उनले भने ।
बैंकहरुले अहिले कृषि तथा साना व्यवसायमा कर्जा बढाउँदै गएको बताएका छन् । उत्पादनशील क्षेत्रमा कर्जाको जोखिम बढी हुने गरेकाले बैंकहरू त्यतिधेरै आकर्षित भएको देखिँदैन ।