
काठमाडौं । तीनजना युवा उद्यमी महिलाले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय ब्रान्डको ‘बबल टी’ फ्रेन्चाइज भित्र्याएका छन् । काठमाडौंको ठमेल नजिक चाक्सिबारीमा ताइवानी ब्रान्डको बबल टी फ्रेन्चाइज ‘चा टाइम’ सञ्चालनमा आएको हो ।
चिया र कफीसँगै मानिसहरूको रोजाइमा पर्न थालेको बबल टीको माग नेपालमा पनि बढ्दै गएको छ ।
नेपालमा बढीजसो मानिसको रोजाइ बबल टी पर्न थालेसँगै यशु श्रेष्ठ, विलाशा श्रेष्ठ र आकृति राणाले अन्तर्राष्ट्रिय ब्रान्डको बबल टी नेपाल भित्र्याएका हुन् ।
विदेशमा अध्ययन गरेर फर्किएपछि उनीहरूले नेपालमै उद्यम सञ्चालन गरेका हुन् । यशु र विलाशाले बेलायत र आकृतिले अस्ट्रेलियाबाट उच्च शिक्षा अध्ययन गरेका थिए ।
फ्रेन्चाइजका रूपमा भित्र्याएको चा टाइम बबल टीका थप आउटलेट काठमाडौं उपत्यका र देशका अन्य सहरमा पनि चाँडै विस्तार गर्ने तयारी भइरहेको यशु श्रेष्ठले बताएकी छन् । यसै वर्षभित्र काठमाडौं उपत्यकामा थप दुई ठाउँमा सेवा विस्तार गर्ने योजना रहेको उनले बताइन् ।
चा टाइममा अहिले ६० किसिमका बबल टीको तातो र चिसोमा स्वाद लिन पाइन्छ भने १० टपिंग्सको अप्सन रहेको छ ।
फ्रेन्चाइज भए पनि चा टाइममा निकै सुपथ मूल्यमा बबल टीको स्वाद लिन सकिने उनको भनाइ छ ।
“फ्रेन्चाइज भए पनि हामीले मूल्य निकै किफायती राखेका छौँ । १९० रुपैयाँदेखि ४४० रुपैयाँसम्ममा बबल टी उपलब्ध छन्,” तीन सञ्चालकमध्येकी एक यशु श्रेष्ठले भनिन् ।
स्वदेशी नागरिक र विदेशी पर्यटकहरूलाई समेत सेवा दिने गरी उनीहरूले नेपालमा विदेशीको ब्रान्डको बबल टी फ्रेन्चाइज सञ्चालनमा ल्याएको बताएका छन् ।