
काठमाडौं । इम्बोस्ड नम्बर प्लेटका नाममा ९२ करोड ६२ लाख ५९ हजार खर्च भएको खुलेको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औँ प्रतिवेदनबाट सो रकम खर्च भएको खुलेको हो ।
प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागले २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न एक सेवा प्रदायकसँग सम्झौता भइ यस वर्षसम्म पाँच लाख ९२ हजार ८०९ थान नम्बर प्लेट छपाइ गरेको थियो ।
नम्बर प्लेट छपाइका लागि ९२ करोड ६२ लाख ५९ हजार खर्च भएकोमा प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट ६३ हजार २८९ थान मात्रै जडान भएको छ ।
विभागले २०७८/७/२२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नयाँ सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको र २०७९ कात्तिक २८ देखि सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेता पनि सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको पनि प्रतिवेदनले औंल्याएको छ ।