नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । कम्तीमा ६० जना बेपत्ता भएका छन् ।
मुम्बईबाट करिब १०० किलोमिटर टाढा रहेको रायगड जिल्लाको एउटा गाउँमा बिहीबार खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएको उद्धारकर्मीले बताएका छन् ।
“हामीले अहिलेसम्म २७ वटा शव फेलापारेका छौँ । करिब ६० जना अझै बेपत्ता छन्,” आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् ।
भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् ।
मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको र त्यहाँ ठूला यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजीकार्य चुनौतीपूर्ण छ ।
जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् । रासस/एएफपी