पोखरा । पोखरा महानगरपालिकाको वेबसाइटमा लेखिएको छ, ‘फिर्केखोलाको रेखांकन सुरु, मापदण्डमा पर्ने संरचना भत्काइने ।’
०७४ फागुन ३० गते वेबसाइटमा राखिएको यो वाक्यलाई थप परिभाषित गरिएको छ–
पोखराको बीचभागबाट बग्ने फिर्केखोलाको सिमाना छुट्ट्याई रेखांकन गर्ने कार्य सुरु भएको छ । फिर्केखोलाले चर्चेको जमिनबाट ५/५ मिटर दायाँबायाँ सिमाना छुट्ट्याउँदै रेखांकन गर्ने कार्यको बुधबार महानगरका प्रमुख मानबहादुर जिसीले सुरुआत गर्नुभयो । फिर्केखोला अँधेरीकुनाबाट सुरु भई प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फेवातालमा मिसिन्छ । महानगरमा फिर्केखोलाको अतिक्रमण गर्ने र जथाभावी ढल तथा अन्य फोहर गर्ने क्रमले फिर्केसँगसँगै फेवाताल समेत दूषित बनेको छ ।
एक हप्ताभित्र सक्ने लक्ष्य राखेर फिर्केखोलाको रेखांकन सुरु गरिएको हो । फेवातालमा मिसिने फिर्केको अन्तिम विन्दुबाट रेखांकन सुरु गरिएको छ भने रेखांकन पोखरा–१८ अँधेरीकुनासम्मै गरिनेछ ।
रेखांकन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिनेछ । त्यसपछि पनि नहटाए महानगरपालिका आफैँले डोजर लगाउनेछ ।
महानगरपालिकाले त्यति बेला फिर्केखोलाको रेखांकन गर्ने, अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउन लगाउने र नहटाए त्यसमाथि डोजर चलाउने उद्घोष गरेको थियो । त्यति बेला पोखराका मेयर थिए, मानबहादुर जिसी ।
उनै जिसीले फिर्केखोलाका दुवै किनारमा पैदलमार्ग बनाउने भन्दै सोही असार १ गते उद्घाटन कार्यक्रममा आफैँले डोजर चलाएका थिए । त्यसक्रममा पाँचजना घाइते भएका थिए ।
तत्कालीन मेयर जिसीले आफ्नो कार्यकालमा फिर्केखोलाको संरक्षणमा त्यसबाहेक थप केही गर्न सकेनन् । फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका अतिक्रमित संरचनाको तथ्यांक निकाल्ने काम भने उनको नेतृत्वमा भएको थियो । तथ्यांक निकाले पनि पूर्वमेयर जिसीले एउटै संरचना भत्काउन सकेनन् । बरु, कार्यकालको बीचमै उनले आफ्नो दल नेकपा (एमाले) र निश्चित व्यक्तिलाई फाइदा हुने गरी सम्झौता गरेको आरोप छ ।
मेयर जिसीको कार्यकालमा फिर्केखोलाले आफ्नो वास्तविक स्वरूप पाउन सकेन । थप मिचिने र मापदण्डको धज्जी उडाउने काम भयो ।
अहिले धनराज आचार्य पोखराका मेयर छन् । उनै आचार्य नेतृत्वको महानगर टोली पुनः एकपटक फिर्केमा पुगेको छ ।
महानगरपालिकाले फिर्केको पुरानो आकार खोज्न प्राविधिक वासुदेव पौडेलेको नेतृत्वमा खोला सीमांकन टोली गठन गरेको छ । योसहित मेयर आचार्य, उपमेयर मन्जुदेवी गुरुङ, सरकारी अधिकारीलगायत टोली फिर्केखोलाको अन्तिम विन्दु गाईघाट पुगेको थियो ।
पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर–१८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ । मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ । त्यसपछि एक किलोमिटरको दूरीमा यो फेवातालमा मिसिन्छ ।
फिर्के बहने यति दूरीमा मात्र हो । तर, फिर्केमाथि सयौँ संरचना ठडिएका छन् ।
महानगरको भवन निर्माण मापदण्ड उल्लंघन गर्दै धमाधम घर बनाइए पनि रोक लगाइएको छैन । न त त्यस्ता संरचना नै हटाइएको छ । खोला मिच्ने क्रम बढेको छ । अहिले यो जटिल समस्याका रूपमा रहेको छ । कतिपयलाई भने आफैँले बनाएको नियमविपरीत महानगरले नै संरचना बनाउन अनुमति दिएको छ ।
केही शैक्षिक संस्थालगायत घरहरू खोलामै जग राखेर बनाइएको छ । गण्डकी प्रदेशको सशस्त्र र नेपाल प्रहरीका कार्यालय भवन खोलाछेउमै ठड्याइएका छन् । लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी र राधाकृष्ण सेवा केन्द्रको भवन खोलामाथि नै छ ।
०७२ सालमा नागरिक समाज पोखराले फिर्के संरक्षण गर्न भन्दै निवेदन दिएको थियो । त्यसपछि तत्कालीन उपमहानगरका सहरी विकासविज्ञ टेकनाथ सापकोटाले फिर्केखोलाको अनुगमन गरे । उनको टोलीले प्रतिवेदन सार्वजनिक गरेको थियो । फिर्के अतिक्रमण गरिएर कुनै स्थानमा चार फिटमा खुम्चिएको, ढल मिसिएको, मिनि डम्पिङ साइट बनेकाले खोलाको क्षेत्र नै छुट्ट्याउन मुस्किल रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनानुसार खोलाको मुहान अँधेरीकुनामा मानवीय हस्तक्षेप देखिँदैन । त्यसपछि भने तलैसम्म विभिन्न संरचना बनाइएको प्रतिवेदनमा उल्लेख छ ।
०६० सालमा फिर्केको मापदण्ड खोलाको जग्गा छाडेर ६ मिटर कायम गरिएको थियो । समितिले सोही मापदण्डको आधारमा प्रतिवेदन तयार पारेको थियो । त्यति बेला फिर्के मिचेर उद्योगदेखि समाज भवन, विद्यालय, घर, लायन्स क्लब, विभिन्न सामाजिक संस्था, कलेज सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । यी सबै संरचनाको ढल पनि सिधै फिर्केमा मिसाइन्थ्यो । त्यसरी फिर्के फेवातालमा मिसिँदा तालमा प्रदूषण बढेको प्रतिवेदनमा उल्लेख छ ।
०७२ को भूकम्पपछि सहरी विकास मन्त्रालयले मापदण्डलाई बढाएर १० मिटर बनाएको थियो । त्यसअघि नै त्यहाँ थुप्रै संरचना बनाइएका थिए । अहिले पनि बनाउने क्रम रोकिएको छैन । ०७४ चैतमा फिर्केखोलाको सीमा (राइट अफ वे) नापजाँच गर्ने क्रममा किनारबाट दायाँबायाँ ५/५ मिटरभित्रै २११ संरचना बनाइएको भेटिएको थियो ।
महानगरले नै नापेर सार्वजनिक गरेको विवरणानुसार ८६ कच्ची टहरा, ७२ आरसीसी पक्की भवन, घरको कम्पाउन्ड र टप ३०, सामाजिक र अरू संघसंस्थाका भवन ११, सरकारी भवन सात, विद्यालय तीन र दुई मठमन्दिर मापदण्डविपरीत बनाइएका छन् । सुकुम्वासी र अरू व्यक्तिले मापदण्डविपरीत संरचना बनाएको प्रतिवेदनमा उल्लेख छ ।
थुप्रै अध्ययन, प्रगति शून्य
फिर्केखोला संरक्षणका लागि भनेर जति पनि अध्ययन, रेखांकन र सीमांकन गरिए, ती कागजमै सीमित छन् । ठूलो संख्यामा बनाइएका संरचना अवैध रहेका प्रतिवेदनमा उल्लेख छ । तर, त्यसलाई हटाउनुको सट्टा अतिक्रमित संरचनाको लगत निकाल्नुबाहेक फिर्केखोला संरक्षणमा स्थानीय सरकारले ठोस प्रगति गर्न सकेको छैन ।
हाल जिल्ला प्रशासन कार्यालय कास्कीमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका गुरुदत्त बरालको संयोजकत्वमा ०६९ मा पनि फिर्केखोलाको सीमांकन गरिएको थियो । बराल क्षेत्रीय प्रशासन कार्यालयमा कार्यरत रहँदा सीमांकन समितिको संयोजक भएर काम गरेका थिए ।
“त्यति बेला हामीले झन्डै २० दिन लगाएर फिर्केखोलाको सीमांकन प्रतिवेदन तयार पारेका थियौँ । त्यो प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयबाटै सिफारिस भएको पनि थियो,” बराल भन्छन्, “गृह मन्त्रालयदेखि त्यो प्रतिवेदन कार्यान्वयन गर्न पत्र आएको पनि हो । हामीले स्थानीय तहलाई चिठी पनि लेख्यौँ ।”
स्थानीय सरकार नेतृत्वविहीन रहेको त्यो समयमा बराल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिएन । जनप्रतिनिधि नभएको भन्दै उक्त प्रतिवेदन त्यत्तिकै थन्क्याइयो ।
बराल नेतृत्वको समितिले ०३२ सालको नापीनक्साका आधारमा खोलाको सीमांकन प्रतिवेदन तयार पारेको थियो । पूर्वमेयर जिसीको पालामा महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा फेरि फिर्केखोलाको सीमांकन गरिएको थियो । ०३२ को नक्साअनुसार १० मिटर मापदण्ड थियो । तर, गोदार नेतृत्वको समितिले पाँच मिटर मापदण्ड आधार मानेर सीमांकन गर्यो । फिर्केखोला मिचेर १९२ संरचना बनाइएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
महानगरपालिकाले ०७५ पुस ६ गते स्थानीय राजपत्रमा फिर्केखोलाको मापदण्ड प्रकाशन गरेको थियो । उक्त राजपत्रानुसार फिर्केखोलाको मापदण्ड खोला किनारबाट १० मिटर तोकिएको थियो ।
उनै जिसी मेयर हुँदा ०७६ मा कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा फिर्केखोलामाथि राजनीति गरियो । त्यति बेला महानगरपालिकाले १० मिटरको मापदण्डलाई एक मिटरमा झार्ने लिखित सम्झौता उपनिर्वाचनका स्वतन्त्र उमेदवारसँग गरेको थियो । स्वतन्त्र उमेदवारी दिएका सुनील कोइरालाको माग सम्बोधन गर्ने भन्दै फिर्केखोलाको मापदण्ड घटाउने सहमति गरिएको थियो । त्योसँगै कोइरालालाई उमेदवारी फिर्ता लिन लगाइएको थियो ।
अब के होला ?
गएको बुधबारदेखि फेरि पोखरा महानगरले अतिक्रमित फिर्केखोलाको पुरानो आकार खोज्न सुरु गरेको छ । यसको नेतृत्व अमिन वासुदेव पौडेलको टोलीले गर्नेछ । यो टोलीले फिर्केको पुरानो बाटो खोज्न सुरु गरेको हो ।
फिर्केको अन्तिम विन्दु गाईघाटदेखि खोलाको वास्तविक बाटो खोज्न थालिएको छ । त्यसका लागि ०३२ सालको नक्सालाई आधार मानिएको मेयर आचार्यले बताए ।
सेती नदीलगायत पोखरामा भएका सबै खोलानालाको मापदण्ड तय गरेर अगाडि बढिरहेको र फिर्के फेवातालमै मिसिने भएकाले यसैलाई पहिलो प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।
“सबैभन्दा पहिले फिर्केको ‘राइट अफ वे’ क्लियर गर्ने कार्यपालिकाबाट निर्णय गरेका छौँ । कार्यान्वयन गर्न केही समस्या देखियो । थुप्रै ठाउँबाट पनि फिर्के अतिक्रमण भयो भन्ने धेरै गुनासो आयो,” मेयर आचार्यले भने, “स्थानीय सरकारको डिउटीअनुसार हामीले फिर्केको वास्तविक ‘खोलाघर’ खोज्न सुरु गरेका हौँ ।”
एक साताभित्र फिर्केखोलाको वास्तविक आकार पत्ता लगाइसक्ने गरी प्राविधिक खटिएको उनको भनाइ छ । फिर्केको मापदण्ड पाँच मिटर बनाउने तयारी भइरहेको उनले बताए ।
“फिर्केको साविकको मापदण्ड १० मिटर छ । त्यसमा केही पुनर्विचार गर्नुपर्छ भन्ने खालका कुरा पनि आएका छन् । त्यसमा अहिले विज्ञहरूको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको अवस्था छ । केही दिनमा मापदण्ड पनि क्लियर हुनेछ,” उनले भने ।
मापदण्ड बनाइएपछि त्यो लागु गर्न तीन महिनाको समय दिइने र अटेर गरे संरचना भत्काइने उनले बताए ।
अतिक्रमण गरेर बनाइएका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने महानगरको योजना छ । चालु आर्थिक वर्षमै महानगरले फिर्के करिडोरका लागि ६५ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।