
पोखरा । करिब दुई महिनाअघिको कुरा हो । रुपाताल–४, तालबेसीमा एउटा सुकेको रुखकाे ठुटाबाट पानी निरन्तर झर्न थाल्यो । त्यसले देवत्वकरण पाउन कुनै समय नै लागेन । त्यो चमत्कारलाई स्थानीयले दैवी शक्ति माने, त्यहीअनुसारको हौवा पनि फैलाए ।
सामाजिक सञ्जाल टिकटकदेखि इन्स्टाग्राम युट्युबका लागि मसला नै बन्यो, त्यो रुख । कसैले त्यसलाई महादेव भने त कसैले जलपरी ।
कुनै देवताको अवतार भनेर पुष्टि गर्ने होडबाजी चलिरहेको बेला गण्डकी सरकार र रुपा गाउँपालिकाले भने त्यसलाई ‘जलपरी’ को औपचारिक नाम दिएका छन् ।
नाम मात्र होइन, प्रदेश र पालिकाले त बजेट नै विनियोजन गरेर एउटा अन्धविश्वासलाई धार्मिक पर्यटनको क्षेत्र बनाउन कस्सिएका छन् ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय त बजेट विनियोजनका कारण यसै बद्नाम नै भएको छ । आइतबारको प्रदेशसभा बैठकमा कांग्रेसका प्रदेशसभा सदस्य विकल शेरचनले यो मन्त्रालयले उद्योग भन्ने शब्द बिर्सिएको र पर्यटनको नाममा मन्दिर मात्र देखेको बताए ।
बाह्रखरीले शुक्रबार उद्योगलाई ५६ लाख मन्दिरलाई २१ करोड भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
त्यसपछि उक्त मन्त्रालयका मन्त्री मित्रलाल बस्याललाई मन्दिरमन्त्री भन्दै सामाजिक सञ्जालमा व्यंग्य गर्ने गरिएको छ ।
आइतबारको प्रदेशसभा बैठकमा सांसद शेरचनले पनि यही शब्द सामाजिक सञ्जालमा चर्चामा रहेको भन्दै बोलेका थिए ।
मन्त्री बस्यालको मन्त्रालय मातहतको पर्यटन तथा उद्योग कार्यालय, कास्कीले पनि यही ठुटोलाई जलदेवी भनेर संरक्षणका नाममा रकम विनियोजन गरेको छ ।
यो कार्यालयले जलदेवी संरक्षण पूर्वाधार निर्माण, रुपा गाउँपालिका–४ भनेर १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ३२१ मन्दिरलाई २१ करोडभन्दा बढी रकम छुट्याएको मन्त्रालयले यो शीर्षकमा भने १० लाख रुपैयाँ छुट्याएको हो ।
मन्त्रालयसँगसँगै रुखको ठुटोलाई देवकत्वरण गर्न पालिका पनि अगाडि सरेको छ ।
आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटले पनि प्रदेशकै नाम ‘जलदेवी’ को नाममा बजेट पनि छुट्याएको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँसभामा पेस गरेको नीति तथा कार्यक्रममा ‘जलदेवी’ लाई दुईवटा वाक्यमा सम्बोधन गरिएको छ । उनले जलदेवीलाई रुपाको गौरव रहेको बताए
“सांस्कृतिक तथा धार्मिक रूपमा अलौकिक पहिचान बोकेको भगवानको प्रसाद स्वरूप प्राकृतिक रूपमा असम्भावित, दैवीशक्ति भएको सयौँ वर्ष पुरानो जामुनको रूखको ठुटोबाट प्रत्यक्ष जलदेवीको उत्पत्ति भएको छ । यसरी भगवानरूपी शक्ति उत्पत्ति हुनू रूपाको गौरवको विषय हो,” उनले भने ।
जलदेवीलाई संरक्षण गरी धार्मिक पर्यटन भित्र्याउने रुपाको नीति तथा कार्यक्रम उनले सार्वजनिक गरे । “अन्य विषय र क्षेत्रहरूमा समेत बरदान सिद्ध रूपालाई थप धार्मिक उपहार प्राप्त भएको छ । ‘रूपाको सम्पत्तिः जलदेवीको उत्पत्ति’ भन्ने विषयमा सम्पूर्ण धार्मिक रूपमा आस्था राख्ने सनातनीका लागि अति नै पवित्र र धार्मिक पिठको रूपमा यसको विकास गरी आन्तरिक र बाह्य धार्मिक पर्यटन भित्र्याउनुका साथै यसको संरक्षण, संवर्द्धन र विकासमा विशेष जोड दिइनेछ,” उनले भने ।
यसका लागि धार्मिक पर्यटनको नीति अपनाइने उनले बताए । ओझाले भने, “धार्मिक रूपमा अलौकिक तरिकाले उत्पत्ति भइ सम्पूर्ण सनातनीको आस्थाको केन्द्रका रूपमा विकास भएको जलदेवीलाई संरक्षण र संवर्धन गरी धार्मिक पर्यटन विकासका लागि नीति लिइनेछ ।”
नीति तथा कार्यक्रमपछि पेस भएको बजेटमा पनि जलदेवीलाई सम्बोधन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले बजेट पेस गर्दै धार्मिक पर्यटन विकास गर्न नक्सांकन बोर्ड राखिने जानकारी दिइन् ।
रुपाभित्रका रोयल ट्रेक मेहेरेदेखि हात्तीमैतासम्म ग्रेटवालको निर्माण, अलौकिक तरिकाले उत्पत्ति भई सम्पूर्ण सनातनीको आस्थाको केन्द्रको रूपमा विकास भएको जलदेवीलाई संरक्षण र संवर्द्धन गरी धार्मिक पर्यटन विकास गर्न प्राकृतिक चिनारीलाई श्रृंगार गरी रुपाका महत्त्वपूर्ण पहिचानको क्षेत्रहरूको रूपमा विकास गर्न नक्सांकन तथा बोर्ड राखिने उनले जानकारी दिइन । यीसहित रुपा–७ को इन्द्र गुफा, १ को कोटकालिका र ३ मा सहिदपार्कको स्तरोन्नति तथा पौराणिक मठ, मन्दिर, मस्जिद, गुम्बाको संरक्षण गर्दै वरपीपिलको संरक्षणका लागि एक वडा तीन चौतारी, एक वडा एक पोखरी, होमस्टे सञ्चालन र प्रवद्र्धन, तथा ६ को भँगारामा झरना निर्माण सम्भाव्यता अध्ययन गर्न ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिइन् ।