
विराटनगर । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल (बगडिया)ले आफ्नो उद्योगबाट उत्पादित चिजबल नै विद्यालय खाजाका रूपमा प्रयोग गराइरहेको खुलासा भएको छ । विद्यार्थीको दिवा खाजाका रूपमा ‘जंकफुड’ मानिने चिजबल खुवाउन विद्यालयलाई दबाब दिई उनले सोहीअनुरूप गराइरहेको पाइएको हो ।
नेपाल सरकारले तल्लो तहका विद्यार्थीका लागि खाजा उपलब्ध गराउने गर्छ । यस्तो खाजामा जंकफुड खुवाउन नहुने व्यवस्था छ । तर, बगडियाले आफ्नो उत्पादन स्थानीय विद्यालयमार्फत खरिद गराई जंकफुड खुवाउन बाध्य बनाएका हुन् । बगडियाको उद्योगबाट उत्पादित ‘पोसिलो स्न्याक्स’ नामक चिजबल विद्यालयमा खुवाइँदै छ ।
प्रतिस्पर्धा नगराई रंगेली नगरपालिकाका २९ सामुदायिक विद्यालय र चार मदरसामा हरेक दिन चिजबल खुवाउने गरिएको छ । ती विद्यालयमा नेपाल स्वास्थ्य फुड इन्डस्ट्रिज प्रालिबाट उत्पादित ‘पोसिलो स्न्याक्स’ खाजाका रूपमा खुवाउने गरिएको एक विद्यालयका प्रधानाध्यापकले बताए ।
यो उद्योगका सञ्चालक मेयर बगडियाका भाइ राजेश र छोरा हुन् । उद्योगबाट चिउरा, भुजिया दालमोठ, खिचडीसहित पोसिलो स्न्याक्स नामक चिजबल उत्पादन गरिन्छ ।
सरकारले विद्यार्थी संख्याका आधारमा स्थानीय विद्यालयहरूमा पोसिलो खाजा खुवाउन रकम निकासा गर्ने गर्छ । कतिपय विद्यालयले चिजबल नखुवाउने भने पनि बगडियाले दबाब दिएर खरिद गर्न लगाउने गरेको बताइएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा रंगेली नगरपालिकाले ९० लाख ८४ हजार ५२५ रुपैयाँ विद्यार्थीको दिवा खाजाका लागि खर्च गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यो रकमबाट बगडियाकै उद्योगको चिजबल खरिद गरिएको थियो ।
दिवा खाजा उपलब्ध गराउनका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । तर, स्वास्थ्य फुड इन्ड्रस्टिजभन्दा अर्कै कम्पनीले कम दररेटमा ठेक्का पारेपछि मेयर बगडियाले विभिन्न बहाना बनाएर ठेक्का रद्द गर्न लगाएको कतिपय व्यक्तिको आरोप छ ।
नगरका शिक्षा शाखाका अधिकृत रवीन्द्र पण्डितले भने त्यति बेला ‘ठेक्का पार्ने कम्पनीले उत्पादन गरेको खाद्यान्न नगरपालिकाकोे मापदण्डविपरीत भएकाले रद्द गरिएको’ जिकिर गरे । “म भर्खरै नगरपालिकामा सरुवा भई आएको थिएँ, थप कुरा थाहा हुन सकेन,” उनले भने ।
त्यसपछि विद्यालयमार्फत सोझै खाजा खरिद गर्ने व्यवस्था मिलाइएको थियो । स्रोतका अनुसार त्यति बेला मोरङका रंगेली र रतुवामाई नगरपालिका र झापाको गौरादह नगरपालिकामा पनि बगडियाकै अग्रसरतामा उनकै छोराले ठेक्का पाएका थिए ।
नगरपालिकाले त्यति बेला उपलब्ध गराएको रकममा खाजा खुवाउन नसक्ने भनिएपछि एकै ठाउँबाट खरिद गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
ताजा खाजा खुवाउनुपर्ने र त्यसका लागि संघीय सरकारले स्थानीय तहमार्फत प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले रकम उपलब्ध गराउने गरेको शिक्षकहरू सुनाउँछन् । मेयर बगडियाले त्यो रकमले आफ्नो उद्योगको उत्पादन खरिद गर्ने व्यवस्था मिलाएको एक विद्यालयका शिक्षकले बताए ।
यहाँका कतिपय सामुदायिक विद्यालयले अन्डा, फलफूल, चना, खिरजस्ता पकाएर खुवाउने खाजा दिने गरेका छन् ।
शिक्षा समन्वय इकाइको अनुगमन
गएको असार २० गते जिल्ला शिक्षा समन्वय इकाइ मोरङको टोलीले रंगेली–६ स्थित पब्लिक माध्यमिक विद्यालयको अनुगमन ग¥यो । त्यसक्रममा जंकफुड खुवाउने गरेको पाइयो ।
इकाइका सूचना अधिकारी शिवप्रसाद घिमिरेले भने, “दालमोठमा चिउरा र भुजिया मिसाएको एउटा प्याकेट र अर्को चिजबल दिइएको पाइयो । विद्यालय हातामै खाजा पकाएर खुवाउने प्रबन्ध गर्न निर्देशन दिएका छौँ ।”
विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले त्यस्तो खाजा नखुवाउन र फेरि गल्ती नदोहोर्याउन विद्यालयलाई सचेत गराइएको उनले बताए । सो विद्यालयमा कक्षा–६ भन्दा मुनि ४०० विद्यार्थी अध्ययनरत छन् ।
रंगेलीका प्रमुख बगडियाले यसबारे आफूले केही नबोल्ने बताए । मेयरका रूपमा उनको यो दोस्रो कार्यकाल हो ।
आफ्नो उद्योगबाट उत्पादित खाद्यसामग्री खरिद नगरिने भएकाले उनले अहिले गर्भवती पोषण कार्यक्रमको बजेट नै खर्च गर्न दिएका छैनन् । दुई आर्थिक वर्षमा रंगेलीको एक करोड २० लाख रुपैयाँ बजेट ‘फ्रिज’ भएको बताइएको छ ।
गर्भवतीका लागि उनले आफ्नै उद्योगको ‘रेडी टु इट’ नामक खानेकुरा वितरणको प्रयास गरेका थिए । तर, स्वास्थ्य शाखाले खानयोग्य भएको प्रमाणित नहुन्जेल सिफारिस नगर्ने बगडियालाई जानकारी गराएको थियो ।