"अहिले नेपाल हल्यान्डभन्दा ५० वर्षजति पछाडि छ तर साँच्चै चाहने हो भने अर्को १० वर्षमा नेपालले भेट्टाउन सक्छ" – नेपाल र हल्यान्डको स्वास्थ्य सेवाको तुलना गर्दै उनले भने । काठमाडौंमा सबै प्रकारका बाल रोगको उपचार हुने र गरिबको पनि पहुँचमा हुनसक्ने स्तरीय बाल अस्पताल खोल्ने प्रयासमा सहयोग गर्न अर्को सेन्केल नेपाल आएका थिए । स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोगसम्बन्धी यी विशेषज्ञसँगै विभिन्न विधाका विशेषज्ञ सम्मिलित एउटा टोलीले काठमाडौंमा सरकारी र निजी क्षेत्रबाट सञ्चालित बाल अस्पतालको अवलोकन गरेपछि मैले उनलाई नेपाल र हल्यान्डको स्वास्थ्य सेवाको तुलना गर्न आग्रह गरेको थिएँ ।
अर्कोले अबको अस्पताल सन् २०२० हैन ‘सन् २०५० का लागि’ हुनुपर्छ भनेपछि मेरो कौतुहल जागेको थियो । अहिलेको सन् २०५० को अस्पतालमा के फरक पर्ला ? मेरो जिज्ञासा उनले भने – ‘सन् २०५० को अस्पताल ‘भवन हैन सेवा’ हुनेछ । सूचना प्रविधिको प्रयोगबाट बिरामी अस्पताल आउनै पर्ने बाध्यता रहनेछैन भने संसारको जुनसुकै कुनामा बसेर पनि उत्कृष्ट विशेषज्ञको सल्लाह लिन सकिनेछ । यसैगरी अहिलेको डाक्टरकेन्द्री स्वास्थ्य सेवा बिरामीमुखी हुनेछ । मानिसको जीवनशैली आउने परिवर्तनले रोगका प्रकृतिमा पनि फरक पर्नेछ । अधिकांश रोगका लागि बिरामी स्वयंले आफ्नो शारीरिक लक्षण आफैँ जाँच गर्नेछन् र डाक्टरसँग छलफल गर्नेछन् ।
सामान्यतः अस्पतालमा शैया हुनेछैनन् । जटिल रोगमा पनि स्थानीय चिकित्सकसँगै बिरामीले विशेषज्ञ डाक्टरसँग छलफल गर्न र सेवा लिन सक्नेछन् । बिरामी आफैँले पनि आफ्नो अवथाका बारेमा र आफूलाई दिइएको औषधिका बारेमा धेरै कुरा थाहा पाउनेछन् । अरू कसैका भरमा पर्नु पर्नेछैन । आफूलाई कस्तो जोखिम छ भन्ने थाहा पाएरै उपचारको प्रकृति रोज्न पाउनेछन् । कारण, स्वास्थ्यसम्बन्धी सबै जानकारी इन्टरनेटबाट लिन सकिनेछ ।
हल्यान्डलगायत विकसित देशले पनि पूर्ण डिजिटल युगमा प्रवेश गर्न अहिलेको प्रणाली परिवर्तन गर्नुपर्ने हुन्छ । नेपालले सोझै पूर्ण डिजिटल प्रविधि प्रयोग गर्न सक्छ । यसले गर्दा १० वर्षमा नेपालले भेट्टाउन सक्छ भनिएको हो । यो यथार्थमा अवसर पनि हो । एकैपटक डिजिटल प्रविधिमा जाँदा खर्च कम हुन्छ । पहिले अर्को प्रविधिमा गएर अनि डिजिटलमा जाँदा दोहोरो पर्छ ।
भविष्यको स्वास्थ्य नीतिमा जनताको जीवन शैलीलाई निरोगी बनाउनमा पनि उत्तिकै जोड दिइनेछ । अहिले हल्यान्डमा बिहान दौडनेलगायतका व्यायाम गर्नेलाई निश्चित अंक दिइन्छ । उनीहरू सबै इन्टरनेटद्वारा केन्द्रीय प्रणालीमा जोडिएका हुन्छन् । व्यायामबाट आर्जन गरेको अंक खर्चेर खेलकुदका सामग्री खरिद गर्न पाइन्छ । सरकार, समुदाय वा रोजगारदाताले पनि यस्ता सहुलियत दिन थाल्नेछन् । यसैले नेपालले अहिल्यैदेखि निरोगी जीवन शैली अपनाउन प्रोत्साहन गर्ने नीति अपनाउनुपर्छ । त्यसका लागि गोपनीयताको प्रश्न त छ तर सबै जना एउटा सञ्जालमा जोडिनुपर्छ र कतै न कतैबाट निगरानी गर्नुपर्छ । त्यसरी गरिने निगरानीले पनि व्यक्तिको स्वास्थ्यको जानकारी सजिलै प्राप्त गर्न र कसैलाई पठाउन सकिनेछ ।
कल्पना गरौँ, एक जना बालक हुम्लाको स्वास्थ्य केन्द्रमा मुटुको समस्या लिएर आइपुग्छन् । उनलाई पहिले त्यहाँका डाक्टरले जाँच्छन् । स्वास्थ्य केन्द्रका डाक्टरलाई बालकको मुटुको अप्रेसन गर्नुपर्ने हो कि भन्ने लाग्छ । ती डाक्टरले विशेषज्ञसँग समय लिएर बिरामीलाई समेत राखेर भिडियो कल गर्छन् । बिरामीको अवस्था हेरेर विशेषज्ञले काठमाडौंको अस्पतालमा समय मिलाइदिन्छन् वा औषधि लेखिदिन्छन् र अर्को साताका लागि पुनः समय दिन्छन् । अत्यन्त जरुरी रहेछ भने अप्रेसनका लागि भिडियोबाटै निर्देशन दिनेछन् । अर्को साताको सल्लाहका लागि बिरामी स्वास्थ्य केन्द्र पनि आउनु पर्दैन । घरैमा बसेर डाक्टरलाई आफ्नो प्रगति सुनाउँछन् । अहिले नै रक्तचापलगायत कतिपय परीक्षण आफैँ गर्न सकिन्छ । अबका केही वर्षमा यस प्रविधिमा पनि उल्लेख्य प्रगति हुनेछ । यस प्रगतिले बिरामीको सशक्तीकरण गर्नुका साथै चिकित्सकलाई पनि धेरै सजिलो बनाउनेछ ।
त्यसो भए अहिलेजस्तो अस्पतालै हुँदैनन् त ? अर्को भन्छन् — हुन्छन् तर अति थोरै हुन्छन् र अत्यन्त गम्भीर उपचारका लागिमात्र बिरामी अस्पतालमा भर्ना हुनेछन् । सामान्यतः बिरामीले मोबाइल फोनबाटै डाक्टरको समय लिने, पैसा तिर्ने, परीक्षण गर्ने र सल्लाह लिने गर्नेछन् ।
‘यो प्रविधि अपनाउन अहिलेदेखि नै तत्पर हुने हो भने नेपालजस्ता विकासोन्मुख देशले स्वास्थ्य सेवामा विश्वस्तरको सुविधा छिटै नै उपलब्ध गराउन सक्नेछन् ।’ अर्को भन्छन् — भविष्यको स्वास्थ्य सेवामा निजी र सार्वजनिक क्षेत्र दुवैको भूमिका हुन त सक्छ तर प्रमुख भूमिका सार्वजनिक क्षेत्रकै हुनेछ ।
स्वास्थ्य बिमालाई सर्वव्यापी बनाउने सरकारी नीतिको सराहना गर्दै अर्कोले भने यसलाई सफल र लाभदायी बनाउन पनि उन्नत प्रविधि अपनाउनै पर्छ ।