site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा १५० शैय्याको अस्पताल बनाउन कोरियाले साढे नौ मिलियन डलर खर्च गर्ने

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा १५० शैय्याको अस्पताल स्थापना गर्न गणतन्त्र कोरियाले नौ दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ ।

भक्तपुरको विपन्न वर्गका लागि स्वास्थ्य सेवाको सहज पहुँचका लािग अस्पताल स्थापना गर्ने परियोजनासम्बन्धी समझदारीपत्रमा मंगलबार अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली दूतावासका राजदूत पार्क ते–योङले हस्ताक्षर गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सार्वजनिक स्वास्थ्य बिमा लक्ष्यका साथ कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत २०२७ सम्ममा पूरा हुने आयोजनाका लागि नौ दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च गरिने बताइएको छ ।

परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुर थिमि नगरपालिका र नेपाल कोरिया मैत्री अस्पतालले कार्यान्वयन गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

सम्झौताअनुसार कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले दुई देशबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कृतज्ञता व्यक्त गर्दै यस आयोजनालाई सफल कार्यान्वयनका लागि सहयोग गर्ने बताए ।

त्यस्तै, कोरियाली राजदूत पार्क ते–योङले यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गरे । नेपाल र कोरियाबीचको दुईपक्षीय कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाठ मनाउन इच्छुक भएको बताए ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्