site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सानेपामा देउवा खोज्दै जिल्ला सभापतिहरू 

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमा केन्द्रीय सभापति शेरबहादुर देउवाको खोजी भएको छ । 

बिहीबार र शुक्रबार दुई दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरूको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित भएनन् । तर, जिल्ला सभापतिहरूले सभापति देउवा किन उपस्थित नभएको भन्दै खोजी भएको हो । 

बैठकमा बोल्ने जिल्ला सभापतिहरूले प्रश्न गरेपछि महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सभापतिलाई जानकारी दिएरै बैठक बोलाएको जवाफ दिएका थिए । 

Dabur Nepal
NIC Asia

“यत्रो कार्यक्रममा पार्टी सभापति नआएको कि नबोलाएको ? सभापतिसँग साक्षात्कार गर्न कसले रोक्यो भनेर डोटीका सभापतिसहित पश्चिमका जिल्लाहरूको सभापतिले कुरा उठाउनुभयो,” बैठकमा सहभागी एक नेताले भने । 

सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले बाह्रखरीसँग कुराकानी गर्दै आफू भोलि सभापति भेट्न उनकै निजी निवास जाने तयारीमा रहेको बताए । 

आफू केन्द्रीय कार्यालयबाट आएको परिपत्रअनुसार बैठकमा उपस्थित भएको भन्दै उनले सभापति आएको भए कुरा राख्दा अझ प्रभावकारी हुने थियो भन्ने प्रतिकृया दिए । 

“पार्टीको परिपत्रको आधारमा म यो बैठकमा आएको हुँ । सभापति ज्यू किन आउनुभएन थाहा भएन तर, आउनुभएको भए राम्रो हुन्थ्यो । भित्र कुरा पनि उठ्यो,” उनले भने, “म भोलि सभापति भेट्न उहाँकै निवास जाने तयारीमा छु ।” 

जिल्ला सभापतिहरूलाई सदस्यता वितरण ‘डिजिटलाइज’ गर्न भन्दै बैठक बोलाइएको हो । बैठकमा उनीहरूलाई जिल्लाको अवस्थाको रिपोर्ट लिएर उपस्थित हुन पनि परिपत्रमा भनिएको थियो । 

सोही बमोजिम सम्भव भएका जिल्ला सभापतिहरू भौतिक र संम्भव नभएका जिल्ला सभापतिहरूका प्रतिनिधि र त्यो पनि नभए जुममार्फत जोडिएका थिए ।

चितवन जिल्ला सभापति राजेश्वर खनालले सभापति पाँच मिनेट उपस्थित भएर शुभकामाना दिएको भए कार्यक्रमको औचित्य थप पुष्टि हुने धारणा राखे । 

“५०, ५२ जिल्ला सभापतिहरू आउनुभएको छ । एक दर्जन प्रतिनिधिहरू उपस्थित हुनुहुन्छ । अरू अनलाइनबाट जोडिनुभएको छ भने, यस्तो खालको बैठकमा केन्द्रीय सभापति आएर शुभकामना राख्दिनुभएको भए हामी आभारी हुने थियौं भनेर मैले बोलेको हो,” खनालले बाह्रखरीसँग भने । 

बिहीबारको बैठकमा पनि सभापति देउवाको खोजी भएको थियो । रूपन्देही सभापति रामकृष्ण खाँण, स्याङ्जा सभापति राजु थापा, संखुवासभा सभापति दीपक खड्काले देउवाको खोजी गरेका थिए । 

उनीहरूले सभापतिहरूको भेला गरेर केन्द्रीय सभापति नबोलाएर एकलौटी कार्यक्रम गरेको हो भन्दै प्रश्न गरेका थिए । नेपाली कांग्रेसको विधानले महामन्त्रीलाई केन्द्रीय कार्यालय र संगठनको कामकारबाही अघि बढाउने अधिकार दिएको छ । 

विधानको धारा २७ मा महामन्त्रीको काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था छ । जहाँ महामन्त्रीहरूको दर्जन अधिकार सूची स्पष्ट लेखिएको छ । २७ को ९ मा नेपाली कांग्रेसको सदस्यताबारे धारा ४ को उपधारा ९ बमोजिमको कार्य गर्ने गराउने अधिकार महामन्त्री रहने भनि स्पष्ट विधानले लेखेको छ । 

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले भने सभापति शेरबहादुर देउवासँगको छलफल पश्चात् नै बैठक राखिएको जानकारी दिए । पार्टी सभापतिसँग केही विषयमा फरक मत रहे पनि विधान संवत् पाएको अधिकार महामन्त्रीद्वयले प्रयोग गरेको भनाइ शर्माको छ । 

“हो सभापतिसँग कतिपय विषयमा फरक मत हुँदाहुँदै पनि यस प्रकारको भेला जानकारी नदिइकन गरियो भन्ने कुरा बेकारको हो,” महामन्त्री शर्माले भने, “विगतमा होटेलमा भेला गर्ने प्रचलन थियो अहिले पार्टी कार्यालयमा भइरहेको छ । यसमा आशंका गर्नुपर्ने कारण छैन ।” 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि सुरु भएको जिल्ला सभापतिहरूको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज सम्पन्न भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro