site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाल छुरी बोकेकी सुन्दरी
SkywellSkywell

(साहित्यकार/नियात्राकार प्रतीक ढकाल पर्वतीय साहित्यका क्षेत्रमा चर्चित छन् । मुलुकको पूर्वदेखि पश्चिमसम्म अनेक हिमालहरूको भ्रमण गर्दै लेखिएका उनका नियात्राकृति थुप्रै छन् । ‘सगरमाथाको आधारशिविरबाट’, ‘हिमालपारि पुगेपछि’, ‘गण्डकीको मुहानतिर’, ‘परिक्रमा अन्नपूर्ण’, ‘सेती पनि काली पनि’ लगायत उनका कृतिले हाम्रो हिमाल चिन्न मद्दत गर्छ । केही समयअघि उनले ‘त्यो उज्यालो कर्णाली’ नियात्राकृति ल्याएका छन् । प्रस्तुत छ, उनै नियात्राकार ढकालसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश)

अचेल तपाईंको हिमाल नियात्रा लेखन त्यति देखिँदैन नि ! 
देखिन्छ । अब यो किताबकै रूपमा देखिन्छ । तत्काललाई फुटकर नियात्रा नदेखिएको मात्रै हो । मूल कुरो त हिमाल लेख्नलाई हिमालमै नगई हुँदैन । यहाँबाट हिमाल देखिन्छ मात्र । त्यो त टाढाबाट देखिने नक्कली स्वरूप हो भन्दा हुन्छ । हिमालको सक्कल रूप हेर्न त हिमाल नै पुग्नुपर्छ । र, हिमालको एउटा सेक्टरमा जान पनि कम्तीमा पनि १५ दिनको समय लिएर निस्किनुपर्छ । त्यसैले हिमाली नियात्रा अहिलेलाई नदेखिएको हो ।

फेरि, हिमाल टुक्राटुक्रा आउँदैन । एकचोटि हिमाल पुगेपछि हिमालको फेरो नै आउँछ । केही फुटकर लेख्ने सोच बनाएको छु । तथापि, हिमालदेखि हिमालसम्म नपुग्दा धेरै ‘ग्याप’ हुँदो रहेछ । २०७० सालमा ‘आनन्दभूमिको आँगन’को प्रकाशनपछि ‘त्यो उज्यालो कर्णाली’ प्रकाशनमा आउन २०७८ साल लाग्यो । तर, जतिखेर म फुर्सदमा थिएँ, त्यस बेला त ‘गण्डकीको मुहानतिर’, ‘परिक्रमा अन्नपूर्ण’, ‘आनन्दभूमिको आँगन’ पनि आयो । पछि फुर्सद पनि भएन । अहिले पनि फुर्सद छैन । तर, मेरो विषय नै हिमाली नियात्रा भएकोले पुस्तक त आउँछ नै ।

KFC Island Ad
NIC Asia

हिमालको विषय समातेर नियात्रा लेख्नुपर्छ भन्ने मनमा कहिले आयो ?
सन् १९८५ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय युवा वर्ष मनाएको थियो । त्यसै क्रममा जापानमा केन्द्रीय संगठन रहेको रेयुकाई इन्टरनेसनलले युवा नेतृत्व विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्यो । नेपालमा पनि रेयुकाईको शाखा रहेकोले यहाँ पनि प्रतियोगिताको आयोजना गरियो । म जागिरको सिलसिलामा पाल्पामा थिएँ । मैले त्यही क्षेत्रबाट प्रतियोगितामा भाग लिएँ र प्रथम भएँ । प्रथम भएपछि देशभरिका प्रथम विजेताहरूलाई काठमाडौं बोलाइयो । म काठमाडौं आएँ । यहाँ पनि हामी सातजनाबीचमा प्रतियोगिता भयो । ती सातजनामध्ये नै थिए मेरा मित्रहरू केदार शर्मा र रमण घिमिरे । अरू नाम सम्झनामा छैन । संयोग, काठमाडौंमा पनि म पहिलो भएँ ।

रेयुकाई इन्टरनेसनलले प्रतियोगिता भएका सबै देशहरूबाट १५ जनाको ‘मेरिट लिस्ट’ बनायो, जसमा म परेँ । मलाई जापान बोलाइयो । त्यहाँ त गोला थुत्ने र जे विषय हातमा पर्छ, त्यसमा बोल्नुपर्ने रहेछ । विषयहरू पनि अचम्मका थिए, ‘पिस’, ‘ड्रिम नेभर इन्ड’, ‘एन आन्ट फुट प्रिन्ट’ । अब कमिलाको पैतालाका बारेमा के बोल्नु ! तर, मलाई संयोगले ‘हेल्दी युथ आर द वेल्थ अफ नेसन’ पर्यो । त्यस विषयमा कुल पाँच मिनेट बोल्नुपर्ने थियो । पाँच मिनेटपछि माइक आफैँ अफ हुन्थ्यो ।

Royal Enfield Island Ad

मूल्यांकन प्रणाली पनि फरक हुँदो रहेछ त्यस्तोमा । त्यहाँको मासलाई —जो टेलिभिजनमा पनि हेरिरहेका थिए, प्रतियोगिताका वक्ताले कत्तिको प्रभाव पार्यो भन्ने पनि हेरिएको रहेछ । त्यहाँ मलाई ‘दी मस्ट इन्फ्लुएन्सिभ स्पीच’ भनेर स्वर्णपदक दिइयो । अरूलाई पनि स्वर्णपदक नै दिइएको थियो, तर कसैलाई आर्टफुल स्पीच, थटफुल स्पीच भनेर प्रमाणपत्र दिइयो ।

त्यो १५ दिन जापानीहरूले मलाई लुम्बिनी र सगरमाथासहित अन्य हिमालका बारेमा धेरै कुरा सोधे । सन्जोग हेर्नुस्, मैले लुम्बिनीको विषयमा पढेको थिएँ, तर त्यहाँ पुगेको थिइनँ । म झापाको मान्छे, हिमालतिर जाने कुरै भएन । आफूले देखेको डाँडामा जमेको हिउँ मात्रै हो । त्यसैले लुम्बिनीको विषयमा आफूले जानेको बताए पनि हिमाल मेरो घरभन्दा धेरै टाढा छ भन्ने कुरा नढाँटी भनेँ ।

यसरी जापानमा हिमाल र लुम्बिनीका प्रश्नहरूबाट घेरिएँ । पछि मैले जानेजति जवाफ दिएँ । तर, मलाई लाग्यो– विदेश आउने नेपालीहरूले लुम्बिनी र हिमालबारे राम्रो जानकारी राख्नुपर्छ । त्यसैले नेपाल फर्किनासाथ लुम्बिनी गएँ । र, केही वर्षपछि सगरमाथाको आधारशिविर उक्लिएँ ।

कस्तो लाग्यो हिमाललाई नजिकबाट नियाल्दा ?
‘नदेखे कोहो कोहो देखेपछि माया मोह’ भन्छन् नि, हो त्यस्तै लाग्यो हिमाल मलाई । हिमाल देखिसकेपछि, नजिक पुगिसकेपछि अचम्मको लाग्ने । हिजोको रूप आज नदेखिने । सगरमाथाको आधारशिविर नै म पाँचचोटि पुगिसकेको छु । पहिलोचोटि पुग्दा एउटा स्वरूपको हिमाली हिउँ देखिन्थ्यो भने अर्कोचोटि पुग्दा अर्कै लाग्थ्यो । उडिरहेको सेतो बादलमा अनेक आकृति देखिएजस्तो ।

पछि संयोगले म पर्यटन मन्त्रालयको पर्वतारोहण हेर्ने ठाउँमै परेँ । त्यस बेला हिमालसँग जोडिएका केही कामहरू गरेको थिएँ ।

पहिलोपटक जानुभएको हिमाल कुन हो ?
जहाँसुकै प्रश्न उठ्ने भनेको सगरमाथा अथवा हिमालको नै हो । त्यसैले म पनि सगरमाथाको आधारशिविर गएँ । हुन त मैले अपर डोल्पा जाँदा पनि त्यस भेगका हिमालहरूसँग साक्षात्कार गरे । पछि सगरमाथा क्षेत्रमा गएँ । हामीले सानोमा पढ्दा देशको उत्तरी सिमानामा हिमालहरू छन् भनेर भूगोलमा पढेका हौँ नि ! तर, डोल्पा, मनाङ, मुस्ताङ जाँदा त हिमाल हेर्नलाई दक्षिणतिर पो फर्किनुपर्ने रहेछ ! हाम्रो भूगोल नै गलत रहेछ भन्ने त मुस्ताङ, डोल्पा जाँदा नै थाहा हुन्छ । तर जे होस्, यसरी नै हिमाल हेर्दै गइयो । हिमालले पनि तान्दै लग्यो ।

हिमालतिरको यात्राबारे बताउनुस् न !
जापानबाट फर्किएको केही समयपछि मैले जेटीको जागिर छोडेँ र राष्ट्रिय वाणिज्य बैंकमा जागिर खाएँ । बैंकमा चार वर्ष काम गर्दा पूरै आन्तरिक लेखापरीक्षण विभागमा रहेँ । त्यहाँ रहँदा मलाई फाइदा नै भयो । हिँडेर जानुपर्ने पहाडी शाखाहरूमा म जान्थेँ ।

तर, हिमाली क्षेत्रकोे पहिलो यात्रा म निजामती सेवामा प्रवेश गरेपछि नै हो । त्यहाँ पुगेपछि परिस्थिति मिल्दै आयो र म हिमाली क्षेत्रमा पुग्दै गएँ । मेरो पहिलो पोस्टिङ नै बझाङ भएकोले अपि, साइपाल, खप्तड क्षेत्रमा पुग्ने मौका मिल्यो ।

हुलाकको धनादेश विभागमा हुँदा पनि मैले केही पहाडी क्षेत्रहरूको भ्रमण गरेँ । यसरी २०५४ सालदेखि मेरो हिमाल यात्रा सुरु भएको हो । यस कार्यमा सरकारी सेवाले मलाई मद्दत गरेको हो । किनभने, धेरै ठाउँ हाकिमहरू नजाने, अनि त्यस्तो ठाउँमा म जान्थेँ । जस्तो, भोजपुरको दिल्पामा को जान्छ र ? कोही नजाने । त्यहाँ पनि म गएँ ।

खासमा सरकारी कामले मलाई जहाँजहाँ पुर्यायो, म त्यहीँत्यहीँ गएँ । तर, मेरो काम १० दिनमा सकिएको छ, अपितु त्यहाँ अर्को १० दिन बसेर मैले लेखनका लागि केही पाउँछु भन्ने लाग्यो भने मैले अरू १० दिन बिदा लिन्थेँ र हिमालहरूको नजिक पुग्थेँ ।

यता, केही छद्मभेषीहरू मलाई सरकारी सुविधा प्रयोग गरेर प्रतीक ढकाल हिमालमा गएको भन्थे । हिमाल चढ्ने समूहसँग नेपाल सरकारले सरकारी सम्पर्क अधिकृत पठाउन थालेको सन् १९२१ देखि नै हो । सन् १९५३ मा सगरमाथाको टाकुरोमा मानिस पुग्यो । यति लामो अवधिमा कति हजार सम्पर्क अधिकृत सगरमाथाको आधारशिविरसम्म पुगे होलान्, सरकारी पैसो खाएर ! तर, नेपाल सरकारले सन् २००७ मा पठाएको सम्पर्क अधिकृतले ‘सगरमाथाको आधारशिविरबाट’ भन्ने किताब लेख्यो । यसरी हेर्दा सम्पर्क अधिकृत पठाउन थालेको ८६ वर्षपछि मात्रै एउटा अधिकृतले आफूलाई खटाएको ठाउँका बारेमा लेख्यो । अब मैले घात गरेँ कि उनीहरूले गरे ? मैले लेखेको त्यो किताबमा करिब ५०० वटा त हिमालको नाम भेट्नुहुन्छ पाठकले ।

हिमालको चिसो लेख्न कसरी तात्नुभयो ?
मैले हिमाल बुझेको त आम नेपालीले बुझेसरि मात्रै त थियोे । डाँडाकाँडामा जमेको हिउँ नै हाम्रा लागि हिमाल थियो । तर, हिमालमा गइसकेपछि म आश्चर्यचकित भएँ । मैले अचम्म देखेँ । त्यहाँ पुगिसकेपछि मात्रै मैले हिमाल चिनेँ । देखेँ । चट्टानमा जमेको हिउँ आफैँमा चट्टान भएर अडेको छ । घामलाग्दा हिउँ केही मिटर तल पुग्छ । हिउँ जम्दा केही मिटर माथि पनि पुग्छ । हेर्नुस्, सगरमाथाको आधारशिविर नै पाँच हजार ३६४ मिटर छ । त्यहाँ पुग्नु भनेको पनि सगरमाथाको बाटोमा हिँड्नु हो । आधारशिविरबाट त जम्मा तीन किलोमिटर मात्रै त बाँकी हो, सगरमाथाको टुप्पो ।

हिमाल त अचम्मको हुन्छ । कतैकतै पट्ट फुटेको देखिन्छ । त्यहाँबाट तल हेर्यो, नीलो हिउँ देखिन्छ, जुन कुरा सोचिएको पनि हुँदैन । हामी उभिएको मुनि पूरै हिउँ नै हिउँ हुन्छ । कतैकतै विशाल झरना नै जमेको देखिन्छ । हिमनदी, हिउँको ढिस्को, हिँड्नु त्यत्तिकै कठिन, केके हो केके !

यी यस्ता कुराहरू देखिसकेपछि यस विषयमा लेख्नुपर्छ भन्ने लागेर मैले हिमाल र त्यस क्षेत्रलाई नियात्रामा प्रस्तुत गर्न थालेँ र पुस्तकका रूपमा ल्याउने काम गरेँ । किनभने, हिमाल भनेको सहरमा हिउँमा खेलेजस्तो खेल्ने ठाउँ होइन । त्यहाँ त बर्माले प्वाल पारेर छेडेर, नटबोल्टु कसेर, डोरी झुन्ड्याएर चढ्ने हो । त्यहाँ त हिउँ नै हिउँको चट्टान हुन्छ । यस्ता अद्भूत चिज देखेपछि मलाई लाग्यो– यसलाई लेख्नुपर्छ र सबैका सामु पुर्याउनुपर्छ । त्यहाँसम्म नपुग्नेलाई साहित्यमार्फत हिमाल चिनाउनुपर्छ । जो जान चाहन्छन्, तिनलाई केही मद्दत पनि हुन्छ ।

हिमालका बारेमा धेरै ठाउँमा बोल्नुभएको छ, हाम्रो हिमाललाई विश्वले कसरी हेरिरहेको छ ?
नेपालको हिमाल र सगरमाथाबारे विदेशीहरू पनि सचेत छन् । एकपटकको प्रसंग सुनाउँछु । एउटा फ्रेन्च युरोकप्टर कम्पनीको हेलिकोप्टरलाई सगरमाथामाथि हुभरिङ गर्ने (केही समय हेलिकोप्टर टक्क अडिने) अनुमति दिइएको रहेछ । यो युरोकप्टरको हेलिकोप्टर यति बलियो छ भनेर प्रचार गर्नै त्यसो गर्न लागिएको रहेछ । त्यो थाहा पाएर एसियाली पर्वतारोहण संघले सिंगापुरमा बैठक बसेर नेपालविरुद्ध खेद प्रस्ताव नै पारित गरेको रहेछ । खेद प्रस्तावमा ‘सगरमाथा धरतीको सान हो, यो कुनै व्यावसायिक प्रयोजनका लागि प्रयोग हुनु हुँदैन, यो मानवीय साहस, सौर्य, धैर्य र कीर्तिमानका लागि कायम हुने सम्पदा व्यावसायिक प्रयोजन गर्ने नेपाल सरकारलाई धिक्कार छ’ भनेर लेखिएको थियो । यसैबाट थाहा हुन्छ, सगरमाथाको सान, मान र त्यसप्रतिको दृष्टिकोण । सगरमाथा वा हिमाल बुझिसाध्य छैन । बुझ्नै सकिँदैन ।

रहस्यले भरिएको भन्न मिल्छ हिमाललाई ?
रहस्यमयता, रौद्ररम्यता, अगम्यता, अविचलता, शीतलता, जटिलता, सुन्दता यी सबैलाई एउटै डालोमा थुपारी दिने हो भने त्यो हिमाल हो । मैले नै लेखेको छु, ‘हिमाल भनेको छुरी बोकेकी सुन्दरी हुन् ।’ हेर्दा सुन्दर छन्, तर जानेन भने ज्यानै जान सक्छ ।

सगरमाथा हेर्न भनेर मानिस कालापत्थर जान्छन् । कालापत्थरबाट देखिने सगरमाथा भनेको पासपोर्ट साइजको सगरमाथा हो । अलि हिम्मतिलो मानिस छ भने त्यो चोलापास जान्छ । त्यहाँबाट देखिने सगरमाथा भनेको कम्मरसम्मको सगरमाथा हो । गोक्यो हुँदै पाँचपोखरी जाँदा भेटिने गोर्जबाट देखिने सगरमाथा टप टु बटम देखिन्छ । हुन त त्यहाँबाट देखिने सगरमाथा भनेको उत्तरी मोहोडा हो । तर, सिंगो सगरमाथा हेर्ने ठाउँ त्यही नै हो । यसबारे मलाई पनि एक ब्रिटिस आरोहीले बताएपछि म पुगेको हुँ । यो प्रसंग मैले ‘सगरमाथाको आधारशिविरबाट’ मा लेखेको छु । अचेल त्यो पनि ट्रेकिङ रुट भएको छ ।

हिमालको जति प्रचार हुनुपर्ने त्यति नभएको हो ?
नेपालीलाई विदेशमा चिन्ने भनेको चार कुराले मात्रै हो । एउटा हो, हिमाल । अरू हुन्, बुद्ध, गोर्खा सैनिक र शेर्पा । म जर्मनी जाँदा मैले नेपाली भनेर चिनाउँदा तिनले तिमी शेर्पा हौ ? भनेर सोधेका थिए । मैले पनि हो भनेँ । किनभने, शेर्पा हाम्रो पहिचान हो । मैले त्यहाँ म बाहुन हुँ भनेर के नै हुन्छ र ! उसले मलाई सोध्न त फेरि हिमाल र बुद्धकै कुरा सोध्छ । हिमालबारे जानकारी छँदै छ भने शेर्पा हुँ भन्दा के नै फरक पर्छ र ?

मेरो घर गल्लीमा छ, खासै राम्रो छैन भनेर तपाईंले भन्नुभयो भने तपाईंको घरनजिकै भए पनि म तपाईंकहाँ आउँदिनँ । तर, तपाईंले घर सामान्य भए पनि आफ्नो घर नमुनाको घर भएको छ भने म घर हेर्न पुग्छु । हेर्छु । घुम्छु । तपाईंको कुराले मलाई जाऊँजाऊँ लाग्न सक्छ नि !

नेपालको सम्बन्धमा पनि त्यही हो । नेपाल सुन्दर छ, नेपाल राम्रो छ, हिमालैहिमालले भरिएको छ भनेर आज कसले भनिरहेको छ ? यस्तो भन्न पठाएका मानिस त राजदूत होइनन् र ? तर, तिनले यस्ता कुरा गरेका होलान् ? विश्वका विभिन्न मुलुकमा गएका नेपालका राजदूतहरूले पाँचवटा बुद्धको नाम भन्न सक्छन् ? ती राजदूतले २० वटा हिमालको नाम भन्न सक्छन् ? ‘म कञ्चनजंघा चढौँ कि धवलागिरि चढौँ, तिमी कुन प्रिफर गर्छौ ?’ भनेर कुनै विदेशीले सोध्दा ती राजदूतले के जवाफ दिन्छन् ? ‘म काठमाडौं पाँच दिन मात्रै बस्छु, त्यो पाँच दिनमा तिम्रो दुई/चारवटा राम्रो हिमाल हेर्न चाहन्छु, कहाँ जान सिफारिस गर्छौ ?’ भनेर सोध्दा राजदूतले के जवाफ दिन्छन होलान् ?

खासमा के हो भने लोकसेवा आयोगबाहेक अरू जेजति आयोग, संस्थान वा कार्यालयहरू छन्, त्यसमा जोसुकै पठाइदिए हुन्छ । आफ्नै नातागोतालाई पठाए पनि हुन्छ । झोले, हुक्के, बैठके जसलाई पठाए भयो ।

तर, राजदूत भनेको जोसुकै हुनु हुँदैन । त्यो एउटा राजदूतको अनुहारमा सिंगो नेपाल देखिनुपर्छ । जुन देशमा राजदूत हुन्छ, त्यहाँ नेपाल भनेर चिनिने ऊ मात्रै हो । तर, अहिलेका राजदूतलाई न हिमालको नाम थाहा छ न बुद्धको नाम थाहा छ । न नेपालमा १२५ वटा भाषा बोलिन्छ भन्ने थाहा छ । त्यस्ता व्यक्तिहरूबाट नेपाल र नेपाली सम्पदाका बारेमा कहाँ मार्केटिङ हुनसक्छ र ! यस्तो परिस्थितिमा विदेशबाट पर्यटकहरू नेपाल आउन सक्छन् भन्ने सोच्न सकिन्न । चाहने हो भने नेपाली राजदूतले नेपालका बारेमा जानकारी गराएर २०औँ लाख पर्यटक नेपाल पठाउन सक्छन् । त्यसैले राजदूत पठाउँदा ठट्टा गरिनु हुँदैन ।

तपाईंको पनि एउटा बेग्लै अभियान छ नि !
मेरो अभियान के हो भने, अहिले ४० लाखजति नेपाली वैदेशिक रोजगारीमा विदेश गएका छन् । तिनलाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुपर्छ ।

रोजगारीका लागि विदेश जाने प्रत्येक नेपालीका साथमा 

पर्यटन प्रवर्द्धन गर्ने एउटा किताब हातमा !

यो नारा पो मैले लेखेँ । तर, कार्यान्वयन गर्ने त श्रम मन्त्रालय, पर्यटन मन्त्रालय, पर्यटन बोर्डले हो । यसरी विदेश जाने लाखौँ नेपालीको हातहातमा हिमालसम्बन्धी पुस्तक वा पर्यटन बोर्डले निकालेको पुस्तक अथवा बाहिरबाट प्रकाशित हाम्रा किताबहरू नै पनि लिएर जाऊ भनेदेखि त्यसले नेपालको प्रचारप्रसारमा राम्रो योगदान पुर्याउँछ ।

तर, हाम्रा नीति निर्माताले यसलाई बुझेकै छैनन् । रोजगारीका लागि विदेश जाने नेपालीले जसरी पनि, जुन भाषा बोलेर पनि काम गरिरहेका हुन्छन् भने तिनले नेपालको हिमाल र बुद्धका बारेमा आफ्ना सुपरभाइजर, म्यानेजर, हामिकलाई त बुझाउन सक्छन् नै । त्यस्तो अवस्थामा मलेसिया, कतार, कोरियालगायत देशहरूबाट पनि त हिमाल हेर्न मानिस आउने वातावरण बन्न सक्छ ।

मानौँ, खाडी मुलुकको एउटा शेख जसले एकझर पानी परेको देखेको छैन, उसले नेपाल आएर हिमालमा २५ मिटरको छहरो जमेको देख्छ भने उसले अर्कोपटक अझै धेरै आफन्त लिएर आउन सक्छ । त्यसैले नेपालको सौन्दर्यको मार्केटिङ धेरैले धेरै ठाउँबाट गर्न सक्छन् ।

हामीकहाँ अनगिन्ती हिमालहरू छन् । तर, हामीले आफ्नै सम्पत्ति चिनेका छैनौँ । युवाहरूमा पनि त्यो मोह देखिँदैन । युवालाई संसारका फुटबल खेलाडी, क्रिकेट खेलाडीहरूको नाम थाहा छ, तर नेपालका आठ हजार मिटर अग्ला हिमालहरूको नाम केके हो भन्ने थाहा छैन । १० वटा हिमालको नाम पनि भन्न सक्दैनन् । युवाहरू मात्रै होइनन्, सिंहदरबारभित्र बस्नेहरूलाई पनि १० वटा हिमालको नाम थाहा छैन । योभन्दा विडम्बनापूर्ण कुरा अरू के हुनसक्छ ?

त्यसैले हिमाल र बुद्धका बारेमा जानकारी राखेर देश–विदेशमा पुगेका नेपालीले नै पनि मुलुक चिनाउने हो भने देशमा १० लाख मात्रै होइन, २५औँ लाख पर्यटक भित्रिन सक्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro