site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

झापा । झापामा अलगअलग घटनामा आज बिहान तीनजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जंगली हात्तीको आक्रमणबाट एकजनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो ।

Argakhachi Cement Island Ad

भद्रपुर नगरपालिका–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई आज बिहान महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।

यसैगरी, पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–०० क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–०० च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारमा सवार मोरङको उर्लाबारी नगरपालिका–६ मा बस्दै आएका ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ ।

गुरुचनका छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएका प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । उनका अनुसार घाइतेको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्