काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान इल्काई गुन्डोगानलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले मिडफिल्डर गुन्डोगानलाई फ्री ट्रान्सफरमा दुई वर्षको सम्झौतासहित क्लब भित्र्याएको हो । गुन्डोगान र सिटीबीचको सम्झौता जुनका अन्त्यसँगै समाप्त हुँदै छ । सिटीले गुन्डोगानका लागि सम्झौता नवीकरणको प्रस्ताव गरे पनि उनले बार्सिलोना रोजेका हुन् ।
“म्यानचेस्टर सिटी मेरो घर हो । र, मैले सिटीको विशेष परिवारको सदस्य भएको महसुस गरेको छु,” सिटी छोडेपछि गुन्डोगानले भने ।
३२ वर्षीय गुन्डोगानले सन् २०२२–२३ को सिजन सिटीका लागि कुल ५१ खेल खेल्दा ११ गोल गरे । सिटीले ट्रेबल जित्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए ।
सन् २०१६ मा बोरुसिया डर्टमन्डबाट सिटी आएका उनले पेप ग्वार्डिओलाको टिमबाट ३०४ खेल खेल्दा ६० गोल गरेका छन् । यसक्रममा सिटीले १२ उपाधि जित्दा गुन्डोगान टिमको महत्वपूर्ण सदस्य थिए ।