site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणगढ–मुग्लिन सडकखण्ड : पहिरोको उच्च जोखिममा मौरीखोला
फाइल तस्बिर ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिरोको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षातको समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

डिभिजन सडक कार्यालय चितवनले वर्षातको समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ ।

कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार पौडेलका अनुसार विगत वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिरोको जोखिम उच्च छ। विश्व बैंकका पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक आएर अवस्थाको अध्ययन गरेर फर्किएको छ । 

Dabur Nepal
NIC Asia

उनका अनुसार यकिन जानकारी आइ नसके पनि टोलीले प्रारम्भिक अध्ययनका आधारमा मौरीखोलामाथिको एकापट्टि डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको छ । सो ठाउँमा २५ हजार घनमिटर हाराहारी पहिरो खस्न सक्ने विज्ञ टोलीको अनुमान रहेको छ । प्रमुख डिभिजनल इन्जिनियर पौडेलले भने, “आठ–दश हजार घनमिटरसम्म त धान्न सकिन्छ । बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ ।”

पुल भएको ठाउँमा माथि डाँडाबाट पहिरो खस्ने गर्दछ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडा रहेको देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिरोको जोखिम बढ्दै गएको छ । सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो ।

पछि पहिरोले तत्कालीन समयमा गरेको काम बगाएको थियो । सो सडकखण्डमा पहिरोको समयमा काम गर्नुभएका ई शिव खनालका अनुसार भू–गर्भविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरोमा संरचना बनेकाले चलायमान छ । 

यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आँकलन गरेको खनालले जानकारी दिए । सो सडकको चार किलो र १८ किलोमा पनि पहिरोको उच्च जोखिम देखिएको छ । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ ।

यस्तै, सेती दोभान र सिमलताल  पनि पहिरोको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ । 

उनका अनुसार ती ठाउँमा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पहिरो पन्छाउनका लागि साधन तयारी अवस्थामा राखेको छ । सो सडकका अन्य क्षेत्रमा साना–तिन पहिरो खसिरहने गर्दछन् । पौडेलले अन्यत्र भने ठूलो समस्या नहुने बताए । उनले भने, “जुनसुकै ठाउँमा पहिरो खस्नासाथ पन्छाउनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर काम गर्न तयारी अवस्थामा हामी छौँ ।”

सडकखण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चारवटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ । चौधवटा पुलमध्ये केही सञ्चालनमा आएका छन् भने अन्य निर्माणाधीन रहेका छन् । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो ।

सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । सडक विस्तारपछि विश्व बैंककै सहयोगमा पुल निर्माण थालिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्ता काटिएको थियो । यसमध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र ४० करोड खर्च भएको थियो । 

सडक विस्तारका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको छ । यसै सडक हुँदै राजधानी काठमाडौँ, पोखरालगायतका क्षेत्र आवतजावत गर्ने गरिन्छ । यो सडकमा दैनिक १० हजार हाराहारी सवारी गुड्ने गर्दछन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro