site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाउँको सत्
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मेरो गाउँको पहुँच अब विश्वव्यापी बनेको छ । र, अमेरिका हुँदै अस्ट्रेलियादेखि खाडी देशहरूसम्म विस्तार भएको छ । तर, अफसोस मेरा गाउँका रैथाने मान्छेहरू अब गाउँमा रहेनन् र छैनन् ।

गाउँलेहरू त रहेनन् नै, विस्तारै थातवासको रीतिथिति पनि खल्बलिँदै गएको छ । अधिकतर परम्पराहरू नासिएका छन् भने खोरियाहरूमा बाँझो पल्टेको छ । र, वनमारा झाडी मौलाएको छ ।

वैधानिक नाउँभन्दा बढी थातथलोको भूगोल र घरबाटोको बनोटले गाउँलेहरूमा जानपहिचान हुन्थ्यो, जस्तै– सिरानघरे, ठुलाघरे, माझघरे, नयाँघरे, आधाबाटे, गैह्राघरे, खोल्साघरे आदि ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, अहिले गाउँका ती घरहरूको पहिचान गुमनाम भइसकेको छ ।

डाँडाको टुप्पासिरानदेखि पुछारसम्मका जो बचेका घरहरू झन्झन् पातलिँदै छन् । उकालीओराली गर्ने पुराना बाटोदोबाटो जंगलले झ्याप्पै छोपेको छ । बाटोभरि अग्ला रुख र झाडी मौलाएका छन् । बाजेबराजुले भारी खेपेका बिसौनीहरू मासिएका छन् ।

Royal Enfield Island Ad

उता, बेँसीफाँटमा भने ठूलो सहर पसेको छ । डाँडाको टुप्पामा रहेका गाउँहरू आफैँआफैँ अस्तित्वविहीन बन्दै गएका छन् । अर्थात्, ठूलठूला आईएनजीओ र सरकारी भाषाको तीव्र सहरीकरणले मेरो गाउँलाई पनि गाँजेको छ ।

बराबोट र काभ्राबोटको पँधेराको मूल सुकिइसकेको छ । ढुंगाका छपनीहरू यत्रतत्र छरिएका छन्, कति भेलमा पुरिएका रहेछन् । खोलाखोल्सीहरूमा पानी बग्न छोडेको छ । हिलेखोला र ऐँसेलुखोलाको डोब मात्र बाँकी छ ।

रैथाने मान्छे मात्र होइन, जीवजन्तुदेखि खाने सामल हुँदै फलफूलदेखि सागपात समेत ‘रैथाने’हरू हराएका छन् । अर्थात्, जलवायू परिवर्तनको नयाँ भाषिक कथनमा मेरो गाउँ वर्षौँदेखि साक्षी छ । र, समस्याहरू सजिलरी पचाउन थालिसकेको छ ।

चाँपेश्वरको छहारीमा भारी बिसाउने र पसिना पुछ्ने कोही भेटिँदैनन् । सुन्दरेडाँडामा सालको पात टिप्नेहरू अचेल असाध्यै कम हुन्छन् । ठूलोपाखा र जल्कोनीतिर आरो ओसार्नेहरू पनि रित्तिएका छन् ।

गाउँको झिरिप्पै बस्ती सिंगै बेँसीतिर सरिइसकेको छ । बेँसीबाट पनि कथित पढेलेखेका गाउँलेहरू ठूलठूला सहर खोज्दै काठमाडौं पुगिसकेका छन् । टाठाबाठाहरू परदेशतिरै हानिएका छन् । उल्कै पैसा हुनेहरू अमेरिका, अस्ट्रेलिया अनि युरोप र खर्च गर्न नसक्नेहरूले खाडीसम्म आउजाउ गरिरहन्छन् ।

ठूलै देश पुगेकाहरू आफ्नै बुढेसकाल र सन्तानको भविष्य भन्दै पीआरको फोटो फेसबुकमा पोस्ट गर्ने लहडमा देखिन्छन् । अर्थात्, उनीहरूको कथित तर्क छ– देशमा बस्नेहरू र तीनका सन्तानहरूको भविष्य अन्धकारमय छ ।

जो बचेका किशोरकिशोरी पनि पासपोर्ट र भिसाको तयारी गरिरहेका छन् । कुन दिन त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टको बाहिरबाट ‘बाई बाई नेपाल...’ लेखेर सेल्फीफोटो पोस्ट आउने हो, ठेगान छैन ।

उता, मेरो गाउँबाट अब झरेली उठ्दैन । पैसाविना कुलो सोर्ने, मन्दिर स्याहार्ने र जंगल जोगाउने काम फत्ते हुँदैन । अर्मपर्म र ऐँचोपैँचोको रीति टुंगिएको छ ।

अड्कोपड्को टार्न गाउँले जुट्दैनन् । जो भएकाहरू पनि भाउ खोज्नेहरू छन्, समय मिलेमा अरूको खेदो खन्नैमा व्यस्त हुन्छन् । झरेली उर्दीमा हात बाँधेरै उभिने मात्र पाइन्छन् ।

अनि, तिनैमध्येका केही बुज्रुकहरू ‘पार्टीसिपेटरी डिभलपमेन्ट मोडल’ विषयमा एनजीओले दिएको तालिममा बेलाबखत दौडिन्छन् ।

वर्षौँअगाडिदेखि गाउँको सग्लो भूगोलभरि डोजरहरू चलिसकेको थियो । अहिले डल्लीखर्क र बुंगेचरीतिर गाईवस्तु चरिरहेको भेटिँदैनन्, पल्सर बाइकहरू हुइँकिएको देख्न पाइन्छ ।

पहिलेको सुगन्ध रातमाटेको माटोमा छैन । न त त्यो माटोको उपयोगिता कसैलाई थाहा छ । रातो माटोले दैलो पोत्ने जाँगर अहिलेका तन्नेरीमा देखिँदैन । माटोले पोतेका घरहरू नै तस्बिरमा सीमित छन् ।

गाउँलेहरू बिहान र साँझ पहिलेपहिले गाउँबेँसी गरिरहन्थे । बिहान सबेरै बेँसीमा गाईवस्तु स्याहार गर्न जाने, दिउँसोमा मेलापर्व र साँझ गाउँतिर उकालो लाग्ने नैमित्तिक कर्म थियो । सबेरै घरको अर्को जहान घाँसदाउरा गर्न पाखातिर लाग्थे । तर, अहिले घाँसदाउरा गर्ने वनपाखा धेरै फाँडिइसकेको छ ।

वनपाखा मात्र फाँडिएका छैनन्, खुला चौरहरू सबै निमिट्यान्न भइसकेका छन् । चरनहरूमा काँडेबार लगाइएको छ । ओल्लो छेउ यताको सँधियार र पल्लो कुना उताको सँधियार मिलेर पर्ती जग्गाहरू बाँडफाँट गरिसकेका छन् । सोझासाझाले कुरो उप्काउँदैनन् । टाठाबाठा तैँ चुप मै चुप रहन्छन् ।

कताकति भएका वरपिपलहरू पनि मठारिएका भेटिन्छन् । त्यहाँ चौतारीहरू चिन्ने उर्दी अब कसैले गर्दैन । ढुंगा ओसार्न कोही अगाडि सर्दैनन् । अहिलेको नयाँ पालिकाले जनसहभागिताको लागत अनुमान गर्दै वार्षिक बजेट बनाउँछ रे र सहभागिता परिपूर्ति भएको प्रतिवेदन पनि बनाउछ रे !

तर, खै मेरो गाउँबाट कसले झरेली तिर्यो, त्यो मैले देख्न पाइनँ । पालिकाले चँै देखेछ !

भञ्ज्याङको पाटी पनि भत्केको रहेछ । र, सँगैको हिटीधारा लथालिंगा छ । पाटी एवं हिटी स्याहार्ने र संरक्षण गर्ने फुर्सद बचेखुचेका गाउँलेलाई छैन ।

गाउँको पहिचान दिने रैथाने घर गाउँमै भेटिँदैन । खरले छाएको घरको धुरी त दन्त्यकथाान मात्र सीमित भइसकेको जस्तो लाग्दछ । जो भएका झिँगटी र टायलका छाना र माटोले पोतेका घरहरू सीमित मात्रामा छन् । तर, त्यो पनि प्रयोजनविना खाली रहेका र भत्कन वा भत्काउन बाँकी रहेका । पक्की ढलान घरमा बस्ने रहरले गाउँको अस्तित्वमा ‘गाउँ’ छैन ।

आज गाउँतिर ठूलो र विषम मौनता छाएको छ । तर, अब त्यो मौनतामा पनि स्वच्छ हावा छैन । त्यसको प्रतिस्थापन धुलो र धुवाँले गरिदिएको छ ।

हुन त अहिले बेँसीफाँटको दाप्चेखोला पनि टुकुचा–उन्मुख भइसकेको छ । त्यसको पनि खड्कौले–दह र घुमौनी–दहको नामोनिसान मेटिएको छ । खोलाको पानी कञ्चन छैन र घनत्व पनि छैन । किञ्चित् मलमूत्र घुलित पानी वयोवृद्धले लट्ठीको सहारामा पाइला चालेझँै सकी नसकी बग्न थालेको छ ।

उता, मैले पढेको सातदोबाटे स्कुलको पुरातन अवशेषको नामोनिसान छैन । माध्यमिक तहसम्मको उक्त स्कुल भएको ठाउँको नाम सातदोबाटो थियो । तसर्थ, औपचारिक नामभन्दा बढी ‘सातदोबाटे स्कुल’ जनजिब्रोले बोल्दथ्यो ।

त्यो स्कुलको भूगोल, अस्तित्व र संरचनामा समेत व्यापक परिवर्तन भएको छ । आधुनिक कंक्रिटका भवनहरू बनेका छन् । तर, खुला विद्यालयको ठूलो भू–खण्ड पर्खालभित्रको सानो घेरामा जक्डिन पुगेको छ ।

वैशाख वा जेठ मासमा महांकाल र कालिकाको पूजा हुन्थ्यो । र, ‘हरहर महादेउ पानी देउदेउ भन्दै’ गाउँभरि पानी खेल्दै छ्याप्दै डुल्ने चलन थियो ।

यसपालि गाउँमा त्यो पूजा चलाउने कोरम पुगेन छ । परन्तु, जसोतसो पूजा सम्पन्न भएछ । तर, अन्यत्रको जस्तो पानी पार्न भ्यागुताको बिहे गरिदिने चलनचैँ त्यहाँ चलेको मलाई थाहा भएन ।

पूजा गरेको दिन साँझसम्म एकपटक मेघगर्जन र पानी पर्ने अभेद्य विश्वास गाउँलेमा हुन्थ्यो ।

यो वर्षको ठ्याक्कै त्यै दिन साँझपख म गाउँमा पुगेको थिएँ । अमर अखण्ड संकीर्तन मन्दिरमा खोल्साघरे माधव दाइलाई भेटेँ । हतपत जिज्ञासा पनि राखेँ, ‘खै आज पानी पर्छ भनेको होइन, पर्दैन त ?’

पानी पर्ने छाँटकाँट पनि थिएन । साँझ अबेरसम्म घामको धूप नै तेज थियो । माधव दाइ गाउँमा गिन्तीले जेठाबाठामै पर्छन्, नाताले मेरा दाइ पर्ने हुन् ।

प्रतिउत्तर गहिरो र दार्शनिक खालको पाएँ, “पहिलेको जस्तो गाउँको सत् कहाँ बाँकी छ र, अब त सबै सिद्धियो बाबै ! अब सत् केहीमा छैन ।”

यो काठमाडांैबाट निकटको जिल्ला काभ्रेको काफ्लेथोक – हालको नमोबुद्ध नगरपालिका क्षेत्रको जीवन्त दृष्टान्त हो । करिब ३० वर्षअगाडिको त्यो गुलजार गाउँको रूप, राप र ताप समयले फेरिदिएको छ ।

विशेषतः गाउँमा बाहुन र क्षेत्रीहरूको समुदाय अलि ठूलो थियो । अरूहरूको पनि मात्रा उल्लेख्य थियो । त्यहाँ काफ्लेहरूका बाक्ला घरहरू थिए ।

सम्भवतः यो मेरो गाउँको मात्र होइन, आजको नेपालका अधिकतर पहाडी भूगोलको प्रतिनिधिमूलक व्यथा र कथा हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro