काठमाडौं । अध्ययन र रोजगारीका लागि यूके जानेहरुको स्वास्थ्य परीक्षण (मेडिकल) अब थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा पनि हुने भएको छ ।
बेलायती दूतावासले नर्भिक इन्टरनेसनल हस्पिटललाई समेत यूके जानेको मेडिकल गराउन अनुमति दिएको हो ।
योसँगै अब युके जानेहरुको मेडिकल इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन (आइओएम) र नर्भिक दुवै ठाउँमा हुनेछ ।
अष्ट्रेलिया जानेहरुको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन् ।
नर्भिकमा मेडिकल जाँच गराउनका लागि सेवाग्राहीले अनलाइनबाट आफूलाई पायक पर्ने मिति बुक गर्न सक्नेछन् ।
अनलाइनमा देखिने खाली स्लटहरुमा आफूलाई उपयुक्त डेट बुक गरेपछि सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने अस्पतालले जनाएको छ ।