सारा जगत्लाई वशमा राख्ने
उनै प्रकृतिको प्रेमी हुँ म
सायद तिमीले थाहा नपाउने गरी
तिम्रै गोरेटोहरू पछ्याउँदै छु
सर्वत्र तिम्रो उपस्थितिले
हिमालको फेदितिर पुग्दा होस्
या तराई पहाडका खोँचहरूमा
आफ्नै घरजस्तो लाग्छ ।। १ ।।
जति तिमीमा घोत्लिन्छु म
त्यति नै बालापन पाउँछु ममा
जीवनको गहिराई सायद
तिमीले नै बुझाउँदै छौ मलाई
बिहानीको सुनौला रङहरूमा
म जीवन जिउने आशाहरू देख्छु
दिउँसोको प्रचण्ड गर्मीमा
संघर्षका आयामहरू भेट्छु म
साँझको त्यो डुब्न लागेको घामले
जीवन सुखदुःखको संगम हो जस्तो लाग्छ
।। २ ।।
रंगीन रङहरूले भरिएका
फूलहरू फुलेको देख्दा
मुस्कुराउन मन लाग्छ
जीवन स्वर्णिम देखेर
आशाहरू अंकुरित हुन्छन्
प्रकृतिसँगको सामीप्यमा
शीतल हावाको लहरले
मधुर ध्वनिसहितको शान्ति सन्देशले
मलाई ऊर्जा प्रदान गर्छ ।। ३ ।।
आजकल कृत्रिम हुँदै गएको
यो मानव समाजले
सायद सुन्दैनन् तिम्रा भाकाहरू
सायद देख्दैनन् तिम्रा सरलताहरू
फेरि पनि
प्रकृतिलाई बुझ्दा लाग्छ
परिवर्तन सृष्टिको विधान नै हो
कहिले गर्मी र कहिले शीतल
प्रकृतिको प्रवाहलाई पछ्याउँदै हिँड्दा
लाग्छ, सिक्नुपर्ने कुरा नै धैर्य हो
प्रतिवाद अथवा विद्रोह होइन ।। ४ ।।
सहनशील प्रकृतिलाई हेर्दा
लाग्छ, एक नदी हुन्
स्वच्छन्द हावाका लहरहरू हुन्
मानव सभ्यताका लागि
प्रकृतिको सुन्दरता
एक
अनुपम उपहार हो
जीवन जिउने आधार हो
जसले सधैँ जीवनमा
आभार रहेर कृतज्ञता ज्ञापन गर्न सिकाउँछ
कर्ममा तल्लीन भएर
धैर्यवान् हुन सिकाउँछ ।। ५ ।।
(नेपालगन्ज)